मर्चवार विकासका लागि नयाँ जग हाल्न जरुरी छः कांग्रेस उम्मेदवार मिश्र


भैरहवा– रुपन्देहीको पिछडिएको क्षेत्रको उदाहरण दिनु पर्यो भने सबैले मर्चवार देखाउँछन् । वर्षौदेखि विकासे संघसंस्थादेखि दल र नेताले मर्चवारको गरिबी र अभाव देखाएरै राजनीति पूरा गरिरहेका छन् । मर्चवारको भूगोल र त्यहाँका जनताको अवस्था परिवर्तन भएमा आफ्नो राजनीति अन्त हुने चिन्तामा धेरै दल र उम्मेदवार देखिन्छन् । त्यसैले नेताहरु आफ्नो अवस्था परिवर्तन गर्न केन्द्रित भए पनि मर्चवार फेर्न तयार नरहेको गुनासो बढेको छ ।
नेपाली कांग्रेसबाट रुपन्देही–४ का उम्मेदवार आशुतोष मिश्रले पनि परम्परा तरिकाले गफ मात्र गरेर मर्चवारको अवस्था फेर्न सम्भव नरहेको बताएका छन् । मर्चवार बदल्न विकासको नयाँ जग हाल्नु पर्ने उनले बताए । प्रचार अभियानका क्रममा मर्चवारका ग्रामीण क्षेत्रमा पुगिरहेका उनले समाजमा व्याप्त अभाव र गरिबी प्रत्यक्ष्य देखिरहेको बताए । विकास पूर्वाधार शुन्य रहेको साक्षात देख्न पाएको र त्यस्ता ठाउँको अवस्था देखेर आफू विचलित भएको उनले बताए ।
उनका अनुसार मर्चवारका गाउँ नेपालका दुर्गम भनिएका जिल्ला भन्दा पनि पछाडि रहेका छन् । पछिल्लो समय बरु विकट जिल्लामा विकास पुगिसकेको छ । ‘तर, अन्तराष्ट्रिय विमानस्थलबाट २२–२५ किलोमिटर दूरीमा रहेको मर्चवार यातायात असुविधा झेलिरहेको छ,’ उनले भने, ‘यहाँको मुख्य नहरको सडक जम्मा पाँच किलोमिटर पक्कि छ । त्यो पनि बजेट अभाव देखाएर अधुरै छाडिएको छ ।’
बहुवर्षीय योजनामा अन्तर्गत राखिएको सडक बजेट अभाव भन्दा विकास नगर्ने सोचका कारण अलपत्र परेको उनले बताए । मुलुकको विकास बजेट जम्मा २२ प्रतिशत खर्च भइरहेका बेला बजेट अभाव देखाएर सडक अपुरो छाड्नु यहाँका जनप्रतिनिधिको अक्षमता भएकोे उनले बताए । ‘बजेट अभाव देखाएर काम नगर्ने कर्मचारीको प्रवृत्ति हो,’ उनले भने, ‘दबाब दिन नसक्नु जनप्रतिनिधिको कमजोरी हो ।’ मर्चवारको अभाव हेर्दा विकास गर्नु पर्ने धेरै ठाउँ रहेको उनले बताए ।
त्यसैले मर्चवारको विकासका लागि नयाँ जग हाल्नु पर्ने उनले बताए । ‘अत्यन्तै गरिबी छ,’ उनले भने, ‘विपन्नहरु गाउँमा दुःख सहेर बसेका छन् ।’ उनका अनुसार मर्चवारका पढेलेखेका व्यक्ति दुई–तीन पुस्तादेखि नै बसाइँ सरेर सहरोन्मुख भइसकेका छन् । आर्थिक अवस्था न्यून भएका परिवार मात्र गाउँमा सिमित रहेकाले उनीहरुका लागि विकास र पूर्वाधार आवश्यक छन् । ‘सडक राम्रो, सिंचाई सुविधा, शिक्षा, स्वास्थ्य राम्रो भइदियो भने जनता सुखी हुने थिए,’ उनले भने, ‘आधारभूत आवश्यकताका सुविधा नभएर यहाँका मानिस गरिब हुन बाध्य छन् ।’
विशेषज्ञ सेवासहितको अस्पाल निर्माण मेरो प्राथमिकताः कांग्रेस उम्मेदवार मिश्र
रूपन्देही–४ का कांग्रेस उम्मेदवार मिश्र विकासका एजेण्डासहित घरदैलोमा
व्यवस्थित बसोबास र पूर्वाधार विकासमा काँग्रेस उम्मेदवार मिश्राको जोड
मर्चवारको हराभरा जमिनमा सिंचाईंको प्रवन्ध मुख्य एजेण्डाः कांग्रेस उम्मेदवार मिश्रा
रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै








प्रतिकृया दिनुहोस्