होटल व्यवसायलाई शंकाको घेरामा नराख्न होटल व्यवसायी महासंघको आग्रह


भैरहवा– होटल व्यवसायी महासंघ नेपालले होटल तथा आतिथ्य व्यवसायलाई आशंकाको दृष्टिले नहेरी राज्यको आर्थिक साझेदारका रूपमा व्यवहार गर्न आग्रह गरेको छ ।
नेपाल आयल निगम लिमिटेडले मिति २०८३ साउन २२ मा प्रकाशित गरेको ‘अत्यन्त जरुरी सूचना’ प्रति होटल व्यवसायी महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले उक्त सूचनाको आशयले होटल व्यवसायी तथा आतिथ्य क्षेत्रप्रति नकारात्मक धारणा सिर्जना हुनसक्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।
होटल व्यवसायी महासंघ नेपाल होटल, रेष्टुरेन्ट, रिसोर्ट, ब्याङ्क्वेट, पार्टी प्यालेस तथा फूड एण्ड आतिथ्य क्षेत्रमा आबद्ध व्यवसायीहरूको साझा संस्थागत नेतृत्व हो । नेपालको पर्यटन, रोजगारी, राजस्व तथा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको यस क्षेत्रलाई राज्यका सम्बन्धित निकायले समस्या सिर्जना गर्ने क्षेत्रका रूपमा होइन, आर्थिक तथा पर्यटन विकासको साझेदारका रूपमा व्यवहार गर्नुपर्ने महासंघको भनाइ छ ।
नेपाल आयल निगमको सूचनामा केही होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात रहेको उल्लेख गर्दै त्यसको मौज्दात नराख्न तथा मौज्दात रहेको भए वितरण गर्न आग्रह गरिएको विषयप्रति महासंघले आपत्ति जनाएको हो । महासंघका अनुसार ग्यासको प्रयोग होटल तथा आतिथ्य व्यवसायको प्रकृति, आकार र दैनिक खपतसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । व्यवसाय सञ्चालनका लागि राज्यको तर्फबाट उपलब्ध गराइने आवश्यक स्रोत तथा कच्चा पदार्थको सुरक्षित मौज्दात राख्नु व्यवसायीको व्यावसायिक आवश्यकता हो ।
महासंघ अध्यक्ष टीआर भण्डारी (शंकर)ले विज्ञप्ती जारी गर्दै ठूला होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा ब्याङ्क्वेटमा ग्यासको दैनिक खपत सामान्य घरपरिवारको तुलनामा अत्यधिक हुने भएकाले व्यवसाय सञ्चालनको निरन्तरताका लागि आवश्यक मौज्दात रहनु स्वाभाविक व्यावसायिक आवश्यकता भएको जनाएका छन् । सिलिन्डरको संख्या मात्र हेरेर व्यवसायलाई शंकाको घेरामा राख्नु वास्तविकताभन्दा सतहीकृत र अन्यायपूर्ण दृष्टिकोण भएको महासंघको भनाइ छ ।
महासंघले स्पष्ट गर्दै भनेको छ, ‘हामी कालोबजारी, कृत्रिम अभाव वा गैरकानुनी गतिविधिको पक्षमा छैनौँ । कानुनविपरीत कार्य गर्ने जो–कोहीमाथि प्रमाणका आधारमा प्रचलित कानुनबमोजिम कारबाही हुनुपर्छ ।’ तर व्यवसायीलाई आधारबिना शंका गर्ने र होटल तथा आतिथ्य क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने कार्यले व्यवसायीको आत्मविश्वास घटाउने र व्यवसायप्रति नकारात्मक धारणा सिर्जना गर्ने भएकाले यस्तो अवस्थाबाट बच्न आवश्यक रहेको महासंघले जनाएको छ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूले लामो समयदेखि ग्यास, डिजेल, पेट्रोल, विद्युत् लगायतका अत्यावश्यक ऊर्जा स्रोतको अभाव, अनियमित आपूर्ति र बढ्दो लागतको सामना गर्दै आएका छन् । यस्तो अवस्थामा व्यवसाय सञ्चालनका लागि आवश्यक ऊर्जा सहज र नियमित रूपमा उपलब्ध गराउनु राज्यको दायित्व भएको महासंघको भनाइ छ । व्यवसायीले आफ्नो व्यवसाय निरन्तर सञ्चालनका लागि राखेको मौज्दातलाई नै समस्याको रूपमा प्रस्तुत गर्नुको सट्टा समस्या समाधानतर्फ सम्बन्धित निकाय केन्द्रित हुनुपर्ने महासंघले जनाएको छ ।
यस्तै, प्रहरी प्रशासन, राजस्व तथा अन्य निकाय, उपभोक्ता हित संरक्षण, खाद्य तथा गुणस्तर नियमन लगायतका निकायबाट हुने कानुनसम्मत र निष्पक्ष अनुगमनलाई महासंघले आपत्तिको विषय नबनाएको जनाएको छ । तर नियमित अनुगमनका नाममा सिर्जना हुने अनावश्यक दबाब, सार्वजनिक रूपमा गरिने आरोप तथा समग्र व्यवसाय क्षेत्रप्रति नकारात्मक धारणा निर्माण गर्ने गतिविधि स्वीकार्य हुन नसक्ने महासंघको भनाइ छ ।
महासंघले नेपाल आयल निगमलगायत सम्बन्धित सबै निकायलाई आगामी दिनमा यस्ता विषयमा निर्णय वा सार्वजनिक सूचना जारी गर्नुअघि सम्बन्धित व्यावसायिक संघ–संस्था तथा महासंघसँग आवश्यक संवाद र समन्वय गर्न आग्रह गरेको छ । आपूर्ति व्यवस्थापनमा समस्या भए त्यसको समाधान व्यवसायीसँग सहकार्य गरेर खोजिनुपर्ने र कालोबजारी वा कृत्रिम अभाव भए प्रमाणका आधारमा दोषीमाथि कारबाही गरिनुपर्ने महासंघले जनाएको छ ।
व्यवसाय सञ्चालन गर्न अनुमति दिने तर व्यवसाय सञ्चालनका लागि आवश्यक ऊर्जा सहज रूपमा उपलब्ध नगराउने र त्यसको व्यवस्थापनका लागि राज्यको नीति तथा कानुनअनुसार काम गरिरहेका व्यवसायीलाई नै शंकाको दृष्टिले हेर्ने अवस्था कायम रहेमा देशभरिका होटल, रेष्टुरेन्ट, रिसोर्ट, ब्याङ्क्वेट तथा फुड एन्ड एकोमोडेसन व्यवसायीहरूको साझा आवाजलाई थप सशक्त र संस्थागत रूपमा अघि बढाउन महासंघ बाध्य हुने जनाएको छ ।
आवश्यक परे व्यवसायीको हक, हित, सम्मान र व्यावसायिक अस्तित्वको संरक्षणका लागि शान्तिपूर्ण तथा लोकतान्त्रिक आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै महासंघले सम्बन्धित निकायलाई सचेत गराएको छ ।
महासंघले आफ्नो धारणा स्पष्ट पार्दै भनेको छ, ‘हामी कालोबजारीको पक्षमा होइनौँ, तर व्यवसायीलाई कालोबजारीको दृष्टिले हेर्ने प्रवृत्तिको पनि विरोध गर्छौं । हामी कानुनको सम्मान गर्छौं, तर कानुनको नाममा व्यवसायीलाई आतंकित गर्ने कार्य स्वीकार गर्दैनौँ ।’ राज्यसँग टकराव होइन, सम्मानजनक संवाद, सहकार्य र समाधान चाहेको भन्दै महासंघले होटल तथा आतिथ्य व्यवसायलाई सुरक्षित, मर्यादित, पूर्वानुमानयोग्य र व्यवसायमैत्री वातावरण प्रदान गर्न आग्रह गरेको छ । यसबाट नेपालको पर्यटन, रोजगारी र अर्थतन्त्रको हितमा सहयोग पुग्ने महासंघको विश्वास छ ।








प्रतिकृया दिनुहोस्