June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

मर्चवारको हराभरा जमिनमा सिंचाईंको प्रवन्ध मुख्य एजेण्डाः कांग्रेस उम्मेदवार मिश्रा

Advertisement

भैरहवा– रुपन्देहीको सबैभन्दा धेरै उर्वर जमिन रहेको मर्चवार क्षेत्रका किसान बाह्रैमास सिंचाईंका लागि हार गुहार गर्छन् । तर, अहिलेसम्म निर्वाचित जनप्रतिनिधिले सिंचाईं सुविधा उपलब्ध गराउन सकेका छैनन् । चुनावका बेला सिंचाईं र मलखादको व्यवस्थापन मुख्य प्राथमिकता रहेको बताउने उम्मेदवार निर्वाचन जितेर गएपछि मर्चवार भुल्छन् ।

Advertisement

मर्चवारमा उम्मेदवार बनेका अधिकांश व्यक्तिका भैरहवा र काठमाडौंमा घर छन् । त्यसैले अत्यावश्यक काम बाहेक चुनाव जितेका उम्मेदवार मर्चवार फर्किंदैनन् । त्यसैले स्थानीय बासिन्दा जहिल्यैं अभिभावकबिहीन भएको दुखेसो गर्दै आएका छन् । यसपटक रुपन्देही–४ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका आशुतोष मिश्राले मर्चवारमा सिंचाईंको प्रवन्ध मिलाएर हराभरा तुल्याउने एजेण्डा अगाडि सारेका छन् ।

मिश्राले खेत–खेतमा सिंचाईं नारा नै बनाएका छन् । साथै किसान मैत्री र आधुनिक कृषिमा जोड दिएका छन् । मर्चवारका लागि सबैभन्दा खाँचो भनेकै सिंचाईं, मलखाद र बीउ बीजनको हो । यसैलाई आधार मानेर मिश्राले सिंचाईं सुविधा पुर्याउने एजेण्डा एक नम्बरमा राखेका छन् । ‘मर्चवारमा जति खेतियोग्य जमिन अन्त छैन,’ उनले भने, ‘त्यसैले सिंचाईं व्यवस्था गर्ने कुरालाई एक नम्बर प्राथमिकता बनाएको हुँ ।’

उनले दोस्रो प्राथमिकतामा स्वास्थ्यलाई राखेका छन् । भौतिक पूर्वाधारमा पछाडि परेको मर्चवार लगायत ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन् । त्यहाँका बासिन्दा उपचारका लागि भैरहवा, बुटवल र छिमेकी मुलुक भारतमा निर्भर छन् । त्यसैले मिश्राले आफ्नो क्षेत्रका अस्पताल स्तरोन्नतीलाई मुख्य एजेण्डा बनाएका छन् । ‘मातृ–शिशु तथा आपतकालीन सेवालाई बिशेष जोड दिइनेछ,’ उनले भने, ‘त्यही अनुसार प्रचार गरिरहेको छु ।’

यसका साथैं सडक र पूर्वाधारलाई विशेष जोड दिएका छन् । मर्चवारको मेरुदण्डका रुपमा रहेको एउटै सडक पनि जीर्ण छ । साथै मानवीय बिकासका लागि आवश्यक भौतिक पूर्वाधारको अभाव छ । त्यसैले आफ्नो क्षेत्रमा कालोपत्रे सडक र गाउँ–बस्ती जोडने पहुँच मार्ग निर्माणमा बिशेष जोड दिने उनले प्रतिवद्धता जनाएका छन् ।

आफ्नो क्षेत्रमा शिक्षा र रोजगारी प्रमुख समस्याका रुपमा रहेको उनले बताए । अहिले रहेका विद्यालय र क्याम्पसको स्तरोन्नती जरुरी रहेको मिश्राले जनाए । साथै विद्यालय र बस्तीमा खानेपानी र सरसफाईलाई पनि व्यवस्थित गरेर अगाडि बढ्ने उनको प्रतिबद्धता छ ।