August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

लुम्बिनी क्षेत्रमा वेलनेस पर्यटनको सम्भावना खोज्दै ट्रानक्युलिटी स्पा

Advertisement

भैरहवा–सरकारले आउँदो दशकलाई राष्ट्रिय स्तरमा वेलनेस (आरोग्य) पर्यटन बर्ष मनाउने तयारी गरिरहेका बेला अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त नेपालको ट्रानक्युलिटी स्पा प्रालिले लुम्बिनी क्षेत्रमा वेलनेस पर्यटनसम्बन्धी सचेतना तथा प्रवद्र्धनात्मक अभियान सुरु गरेको छ ।

Advertisement

वेलनेस पर्यटनको अवधारणा, यसको महत्व, लुम्बिनी क्षेत्रसहित नेपालमा यसको सम्भावना तथा पर्यटकलाई उपलब्ध गराउन सकिने आरोग्यसम्बन्धी सेवाबारे जानकारी गराउने उद्देश्यले ट्रानक्युलिटी स्पाले आफ्नो अभियान अघि बढाएको हो ।

अभियानअन्तर्गत ट्रानक्युलिटीले भैरहवामा ट्राभल्स तथा टुर एजेन्सीलाई लक्षित गरी एकदिने प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा भैरहवा, बुटवल तथा लुम्बिनी क्षेत्रका ट्राभल्स एजेन्सीलाई सहभागी गराई वेलनेस पर्यटनका सम्भावना र ट्रानक्युलिटी स्पाका वेलनेस प्याकेजबारे जानकारी गराइएको हो ।

ट्रानक्युलिटी स्पा अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो तथा हालसम्म एकमात्र स्पा भएको कम्पनीको दाबी छ । काठमाडौंमा २०६४ सालमा स्थापना भएको ट्रानक्युलिटी स्पाले गत माघदेखि भैरहवास्थित पाँचतारे सिद्धार्थ भिलासा होटलमा आफ्ना वेलनेस तथा आरोग्यसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ ।

ट्रानक्युलिटी स्पा प्रालिका लुम्बिनी प्रदेश क्षेत्रीय निर्देशक नवीन थापाले लुम्बिनी, भैरहवा, बुटवललगायत क्षेत्रमा वेलनेस पर्यटनको सम्भावना उच्च रहेको बताए । उनका अनुसार, पर्यटन प्याकेजमा गुणस्तरीय मसाज, हाइड्रोथेरापी, स्टिम बाथ, बडी स्क्रब, योग तथा फिटनेसजस्ता सेवाहरू समावेश गरी पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

‘लुम्बिनी, भैरहवा, बुटवल लगायत आसपासका क्षेत्रमा आतिथ्य तथा सत्कारसम्बन्धी ठूला र स्तरीय उद्योग खुल्ने क्रम बढ्दो छ,’ थापाले भने, ‘यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई पूर्ण रूपमा आरोग्यसम्बन्धी सेवासहितको अनुभव प्रदान गर्न सके वेलनेस पर्यटन प्रवद्र्धनको बलियो सम्भावना छ ।’

उनका अनुसार विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको भ्रमणका क्रममा थकित हुने पर्यटकलाई आराम र आरोग्यसँग जोडिएका सेवा उपलब्ध गराउन सके पर्यटकको बसाइ लम्ब्याउन तथा पर्यटन व्यवसायमा थप विविधता ल्याउन सकिन्छ ।

ट्रानक्युलिटी स्पाले वेलनेस पर्यटनसम्बन्धी सचेतना तथा प्रवद्र्धनात्मक अभियानलाई पर्यटन व्यवसायमा संलग्न विभिन्न क्षेत्रका व्यवसायी, सरोकारवाला निकाय तथा समुदायसम्म विस्तार गर्ने योजना बनाएको छ ।

मापदण्डविपरीतका स्पाप्रति चिन्ता व्यक्त गरिदै कार्यक्रममा स्पा तथा मसाज व्यवसायमा देखिएका विकृति र मापदण्डविपरीत सञ्चालित मसाज केन्द्रका कारण समग्र पर्यटन व्यवसाय तथा स्पा क्षेत्रको छविमा परेको नकारात्मक प्रभावप्रति समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो ।

पैसा कमाउने मात्र उद्देश्यले दक्ष जनशक्ति र आवश्यक मापदण्डबिना सञ्चालन हुने मसाज तथा स्पा सेन्टरका कारण सेवाग्राहीको स्वास्थ्य जोखिममा पर्न सक्ने बताए। यस्ता गतिविधिले गुणस्तरीय सेवा प्रदान गर्ने व्यवसायसमेत प्रभावित हुने र समाजमा स्पा तथा मसाज व्यवसायप्रति नकारात्मक धारणा विकास हुने थापाको भनाइ छ ।

‘मसाज व्यवसायलाई हेर्ने समाजमा विद्यमान नकारात्मक सोच र दृष्टिकोण परिवर्तन गर्न ट्रानक्युलिटी स्पा गुणस्तरीय सेवासहित मुलुकभर विस्तार हुने योजनाका साथ अघि बढेको छ,’ थापाले भने, ‘मसाज तथा स्पा सेन्टरमा हुने विभिन्न विकृति नियन्त्रण गर्न सरकारले स्पष्ट मापदण्ड कायम गरी सम्बन्धित निकायमार्फत नियमित अनुगमन र आवश्यक कारबाही गर्न जरुरी छ ।’

उनले स्पाको नाममा पर्यटकलाई गलत गतिविधि हुने स्थानमा पुग्न नदिन पर्यटन व्यवसायी, स्थानीय प्रशासन, सम्बन्धित निकाय तथा स्वयं पर्यटक सबै सचेत हुनुपर्ने बताए ।

ट्रानक्युलिटी स्पा प्रालि भैरहवाका प्रमुख कुन्दन बज्राचार्यले पछिल्लो समय पर्यटन व्यवसायमा विविधता आउँदै गएको बताए । उनका अनुसार विगतमा पर्यटकलाई होटलको कोठा र सामान्य आतिथ्य सेवा बिक्री गर्नमा केन्द्रित पर्यटन व्यवसाय अब आराम, मनोरञ्जनसँगै आरोग्य र स्वास्थ्यसम्बन्धी अनुभव प्रदान गर्ने दिशातर्फ अघि बढेको छ । ‘पर्यटन व्यवसायमा विविधता आएको छ । पहिला पर्यटकलाई होटलको रुममात्र बिक्री गर्न सीमित रहेकोमा अब आरामसँगै आरोग्यता पनि अपरिहार्य भएको छ,’ बज्राचार्यले भने ।

ट्रानक्युलिटी स्पाले वेलनेस कार्यक्रमका प्याकेजलाई अब प्रकृतिसँग समेत जोडेर सञ्चालन गर्ने तयारी गरेको बज्राचार्यले जानकारी दिए । प्राकृतिक वातावरण, योग, ध्यान, फिटनेस तथा विभिन्न आरोग्यसम्बन्धी सेवाहरूलाई एकीकृत गरी पर्यटकलाई समग्र वेलनेस अनुभव प्रदान गर्ने उद्देश्य रहेको उनले बताए ।

काठमाडौंमा सेवा सुरु गरेको ट्रानक्युलिटी स्पा पोखरा र चितवन हुँदै भैरहवा आइपुगेको हो । कम्पनीले लुम्बिनी क्षेत्रमा आफ्नो सेवा विस्तारसँगै पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीसँग सहकार्यलाई प्राथमिकता दिएको जनाएको छ । विभिन्न स्थानको भ्रमणबाट थकित भएका पर्यटकलाई लक्षित गरी ट्राभल एजेन्सीहरूले आफ्ना नियमित टुर प्याकेजमा ट्रानक्युलिटी स्पाका वेलनेस सेवासमेत समावेश गर्न कम्पनीले आग्रह गरेको छ ।

लुम्बिनीको धार्मिक तथा आध्यात्मिक पर्यटन, बुटवलको व्यावसायिक गतिविधि, भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल तथा पछिल्लो समय विस्तार हुँदै गएको स्तरीय होटल तथा आतिथ्य पूर्वाधारलाई वेलनेस पर्यटनसँग जोड्न सके यस क्षेत्रले नयाँ पर्यटकीय उत्पादन विकास गर्न सक्ने धारणा कार्यक्रममा सहभागीले व्यक्त गरे । नेपालमा प्राकृतिक उपचार, योग, ध्यान, आयुर्वेद, स्पा, फिटनेस तथा मानसिक र शारीरिक विश्रामसँग सम्बन्धित सेवाको विस्तारसँगै वेलनेस पर्यटनलाई पर्यटन उद्योगको नयाँ सम्भावनाका रूपमा अघि बढाउन सकिने पर्यटन व्यवसायी बताउँछन् ।