भकुण्डो


“अब त तराई जान दिनभरि हिँड्नु नपर्ने भो । दुःखका दिन गए ।” –एक महिलाले भनिन् । “केही वर्षपछि त यो बाटो पनि पिच होला !” –अर्को पुरुषले भन्यो ।
“त्यसपछि त हाम्रा केटाकेटीले क्याम्पस पनि घरबाट नै धाउन सक्नेभए ।” –तेस्रो मान्छेले थप्यो । चौथो, पाँचौँलगायत गाउँका सबैले यस्तै आशा र अपेक्षाका पटुका बाँधी एकजुट भएर बाटो खन्न लागिपरे ।
“म ठूलो भएर ड्राइभर बन्छु अनि यो बाटोमा गाडी लिएर आउँछु ।” –पुन्टेले तोते बोलीमा भन्यो । पुन्टेका बुवा विदेशमा बसेर गाडी चालउने पेसा गर्ने भएकोले उसलाई बुवाजस्तै बन्ने कुरा बताउन सजिलो थियो ।
“म त बाबै, फुटबलको नामी खेलाडी भएर आफ्नै गाडी किन्छु र यै बाटो गाडी चलाएर गाउँ आउँछु । तँलाई पनि बस्न दिन्छु मेरो गाडीमा । तर म चैँ डाइभर पेसा गर्दिन ।” –मनेले पुन्टेलाई धक्कु लायो ।
सन्तपुरमा एक किसिमको उत्सव नै आएको थियो । बाटोको काम जारी रहँदा बाटोमा चढेर मोटर आउनुभन्दा पहिला सबैका मनमा आ–आफ्नै खालका सपनाहरू सयर गर्न थालेका थिए ।
बाटो खन्न गाउँकै वन उपभोक्ता समितिले नेतृत्व गरेको थियो । गाउँका सबै भद्र–भलादमी, बुढापाका, महिला, केटाकेटी सबै एकजुट भएका थिए ।
गाउँमा गाडी गुड्ने बाटो जोडिएपछि आर्थिक गतिविधि बढ्ला, आवत–जावत सजिलो होला, गाउँका उत्पादनहरू पनि सजलो गरी बजार पुग्ला, आम्दानी बढाउने खालका सामग्री ल्याउँला, त्यसपछि त एकबालीको ठाउँमा अर्को बाली पनि थपौँला । युवाहरूको विदेश जाने लर्को पनि घट्ला ।
यस्तै–यस्तै तर्कनामा बुढाबुढी, महिलाहरू सबै आशावादी देखिए ।
फागुनको महिना थियो । हिउँदको जाडो मत्थर भएर पारिलो घाम लाग्न थालेको थियो । पहिलो चरणको काम सकिएपछि दोस्रो चरणको कामका लागि गाउँका सबै घरबाट एक–एक जनाको अनिवार्य उपस्थितिको उर्दि जारी गरिएको थियो ।
अघिल्लो चरणमा खनिएको बाटो अब गाउँमै आइपुगेको थियो । पुरानो गोरेटो बाटोलाई बढाएर सबैका घरघरमा पुर्याउन सम्भव थिएन । गाउँमा कताबाट र कहाँसम्म बिस्तार गर्ने भन्ने बारेमा अर्को एउटा छलफल आयोजना गरिएको थियो ।
भेलामा पहिले गरेको सर्भेअनुसार काम गर्दा आफ्नो जग्गा धेरै जाने तर आफ्नै घरमा बाटो नुपग्ने गुनासो लालबहादुर बाले राखे । लालबहादुरको प्रस्तावलाई धेरै घरहरूले समर्थन गरे ।
दलबहादुुरले बाटोलाई अलिकति बढाएर जंगलको सीमानासम्म पुर्याएमा गाईबस्तु चराउन र घाँस–दाउरा संकलन गर्न सहज हुने प्रस्ताव थपे । दलबहादुुरको प्रस्तावलाई पनि अरूले समर्थन नगर्ने कुरै थिएन ।
दुवै प्रस्तावमा घनिभूत छलफल भयो । सबैले आआफ्ना घरमा बाटो पुर्याउन प्राविधिक दृष्टिले सम्भव भएमा सबैको घरसम्म नै पुर्याउने र त्यसकालागि बजेट के–कति थप गर्नुपर्छ गाउँपालिकाले थप गर्ने, केही रकम वन समितिबाट सामाजिक उत्तरदायित्व अन्तर्गत व्यहोर्ने र सबैले श्रमदान पनि गर्ने सहमति भयो ।
सबै जना खुशी भए । आ–आफ्ना घरसम्म बाटो जाँदा गाउँले खुशी, वडाको विकास बजेट सबै उपयोग हुने भयो वडा कार्यालय खुशी, वन समितिले पनि काम गरेको देखिने भयो, उनीहरू पनि खुशी ।
गाउँमा खुशी नै खुशीको वातावरण बन्यो ।
०००
दोस्रो चरणको पनि काम सकिएको थियो । मानिसका मनमा खुशीको पारो चढेर उपल्लो तहमा पुगेको थियो । उबेला त्यसरी दुःख गरियो । अब त सुखका दिन आए भनेर गाउँले आपसमा भेट हुँदा खुशी साटासाट गर्दथे ।
बालबच्चाहरू विद्यालय जान्थे । बुढाबुढी र महिलाहरूले पनि आ–आफनो घरायसी र सामाजिक जिम्मेवारी पूरा गरेकै थिए । जीवनका बाँकी दिन सहज हुने आशामा गाउँलेहरूको जीवन बित्दैथियो ।
बर्खाको समय आयो । अब बर्खामा पनि रामपुरबाट आउने गाडी गाउँसम्म नै आउँथ्यो । रनबहादुर थापा पनि यो सबै देखेर खुशी थियो । एकदिन बेलुका खाना खाइसकेपछि अचानक नातिले भन्यो– “थाहा छ बा, हामी त दशैंपछि रामपुर सर्ने नि । बाबाले मामुलाई भन्नुभ’को ।”
रनबहादुर झसङ्ग भयो । बाटो बनेपछि सामान आउला–जाला भनेको त मान्छे नै जाने कुरा भइसकेछ !
उसले अरबमा भएको छोरालाई म्यासेन्जरमा हप्कायो । घरमा सँगै भएकी बुहारीसँग गुनासो गर्यो । श्रीमतीसँग सल्लाह गर्यो । अनि नातिनातिनीलाई फकायो । परिवारलार्ई गाउँमा नै बस्न राजी बनायो ।
फेरि हिउँद आयो । फेरि मानिसहरू भेला भए । यसपटक बाटो बनाउने कुरा छलफलको विषय थिएन । गाँउमा खानेपानीको समस्या भएको थियो ।
कुरा के भएछ भने अघिल्लो वर्ष बाटो खन्दा निस्केको माटो त्यतिकै अव्यवस्थित छोडिएको रहेछ । गएको बर्खामा माटो बगाउँदै गएर बाटो मुनिको मूल —जहाँबाट गाउँभरिलाई खानेपानीको आपूर्ति हुन्थ्यो— त्यो मुहान नै पुरिएछ ।
सुरुमा पानी धमिलो आयो । बर्खामा धमिलो पानी सामान्य हो । उमालेर खानुपर्छ भनेर कतिले उमाले, कतिले चक्की हालेर खाए । तर वर्षा थामिएर बाटाघाटा ओभानो हुँदासम्म पानी सङ्लिएन ! मुहानबाट आउने पानीको मात्रा पनि घट्यो, गाउँलाई पुग्न छोड्यो ।
भेलामा सबैले आ–आफ्नो दुखेसो पोखे । कसैले गाईभैसीलाई, कसैले आलुलाई, कसैले सागबारीलाई र पुछारको बस्तीमा त मानिसलाई पिउन पनि पानी नपुगेको समस्या सुनाए ।
सबै मिलेर मुहानसम्म अवलोकन गर्दै जाने निधो भयो । अवलोकन टोली बन्यो । टोली नयाँ बाटो हुँदै अवलोकनमा गयो ।
गाउँमाथिको जंगलमा उनीहरू प्रवेश गर्ने बित्तिकै उनीहरूले केही नयाँ महसुस गरे । त्यसो त यो बाटो कसैलाई नौलो थिएन । टोलीका सबै सदस्यहरू यो बाटो हिँडेकै थिए । तर यसपटक उनीहरूले नयाँ कुरा देखे ।
बलबहादुरले चोर औँलाले देखायो– “ऊ त्याँ हेर त । त्यतै तिरबाट बगेर गएको रहेछ ।”
बाटो तल थुपारेको माटोमा ठाउँठाउँमा पानी बग्दा माटोसमेत बगेको गहिरो घेरा प्रष्ट देखियो । बाटो धसिएजस्तो पनि लाग्यो ।
टोली जतिजति अगाडि बढ्दै जान्थ्यो त्यति नयाँ–नयाँ कुरा देखिँदै जान्थे । जंगल अलि बाक्लो भएको ठाउँमा पुगेपछि भने उनीहरू ट्वाल्ल परे ।
रनबहादुरले बलबहादुरलाई, बलबहादुरले दिलबहादुरलाई, दिलबहादुरले कुलबहादुरलाई, कुलबहादुरले गमबहादुरलाई हेर्यो । अनि सबैले एकअर्कालाई हेराहेर गरे ।
“लौ बिताएछ ।” –रनबहादुरले खुइय गर्दै भन्यो ।
“जंगलभित्र किन बाटो लगेको रहेछ भनेको त यस्तो कामको लागि पो रहेछ ।” –बलबहादुरले पछ्ुतोको भावमा भन्यो ।
“यी यहाँनेर ठूलो सालको रुख थियो । जहाँ ठूला रुख त्यहीँबाट बाटो गएछ ।” –दिलबहादुरले व्यङ्ग्य मिश्रित स्वर निकाल्यो ।
आफ्नै आँखाले देखेपछि रनबहादुरले भविष्यमा यो गाउँमा बस्न झन्झन् गाह्रो हुँदै जाने निष्कर्ष निकाल्यो । त्यसै पनि छोरा–बुहारी गाउँ छोड्ने सोचमा छन् ।
उसले अब तराईमा जग्गा किनेर बिस्तारै त्यतै सर्नुपर्ला भन्ने सोच बनायो ।
दशैंअघि नै रनबहादुर जग्गा हेर्न भनेर तराई झर्यो । तराईका आफन्त, नातागोताको पछि लागेर धेरै ठाउँमा घडेरी हेर्योे । धान धरै फल्ने र घाँस दाउराका लागि पनि सहज हुन्छ भनेर जंगल नजिकैको जग्गामा ध्यान दियो ।
फराकिलो र चल्तीको सडक छेउको जग्गा छोइसक्नु छैनन् त्यस्ता जग्गा किन्न त के, चिताउन पनि नसकिने !
“कि सुकुम्बासी बनेर जंगलको किनारमा बस्ने त ?” –जग्गा हेर्ने क्रमममा नै उनलाई एकजना आफन्तबाट प्रस्ताव आयो ।
जंगल नजिकको जग्गा खोजेको बेलामा जंगलकै किनार त्यति नराम्रो प्रस्ताव थिएन । तर पनि के कसो कुरो हो, बुझ्ने विचार गर्यो ।
“त्यसरी पनि बस्न पाइन्छ ? पैसा कति लाग्छ नि ?”
“धेर लाग्दैन । कठ्ठाको त्यस्तै एक लाख जति । बेलाबेलामा पार्टीको काममा चाहिँ हिँड्नु पर्छ ।”
“जग्गा त वनको हो । वन मासिँदै गा’को छ । दुई वर्षअघि बस्नेले स्थायी घर बनाइसके । अब उनीहरूलाई कसले हटाउने ?” ती आफन्तले थपे ।
“एक्लै घर बनाएर बस्न डर हुँदैन ?”
“कहाँ एक्लै हुुनु ? पोहोर घर बनाएकाहरूको बस्ती नजिकै छ । फेरि एक्लै बस्न जाने पनि हैन । अरू पनि हुन्छन् । अरू मान्छे खोज्ने काम जारी छ । कति घर हुन्छन्, त्यसको आधारमा कति जग्गा ओगट्ने भन्ने निधो हुन्छ । सबै जना तयार भएपछि राति नै गएर टहरा बनाउने र बस्ने हो ।” –ती आफन्तले बेलिबिस्तार लगाए ।
रनबहादुरले थप बुझ्ने विचार गर्यो– “एक लाख रुपैयाँ चाहिँ कसलाई बुझाउने ?”
“पार्टीलाई नि । उसैले सबै कुरा मिलाउँछ ।”
रनबहादुरलाई कुरा आकर्षक लाग्यो । एक कट्ठा घडेरीको कम्तिमा पनि दश लाख पर्छ । यहाँ एक लाखमा नै पाइँदैछ । तर, स्थायी हुने हो कि हैन ?
जग्गा खोज्दै जाँदा उनलाई कसैले सुनाइ दियो– पार्टीलाई ५० हजार र बीचको मानिसले ५० हजार खान्छन रे !
त्यसै पनि रनबहादुरलाई जंगलको जग्गामा मन बुझेको थिएन । यो सुनेपछि झन् शंका बढ्यो ।
घरमा श्रीमती, विदेशमा भएको छोरो र बुहारीसँग सल्लाह गरेपछि उसले जंगलको जग्गामा बस्ने विचार त्याग्यो र जंगलबाट त्यस्तै आधि किलोमिटर पर कमल खोला छेउको जग्गा किन्ने निधो गर्यो ।
“हेर् त धने जग्गा राम्रो छैन त ?” –रनबहादुरले छोरालाई म्यासेन्जरमा सोध्यो ।
“अलि परसम्म देखाउनु न, राम्ररी हेर्नुपरो ।” –धनेले भन्यो । रनेले पनि परसम्म देखिनेगरी मोबाइलको क्यामरालाई ढल्कायो, तेर्सायो र वरिपरि घुमायो ।
“ती छाप्रा चाहिँ कस्का नि ? छिमेकी कोको रहेछन् ?” –धनेले थप्यो ।
“ती छाप्राहरूमा चौधरी र पहाडतिरबाट झरेका मानिस सराबरी र’छन् । सबै मिलेर बसेका छन् ।” –रनेले बेलिबिस्तार लायो ।
“जग्गामा जाने बाटो कत्रो छ नि ?” –छोरोले उताबाट सोध्यो ।
“चार मिटरको छ । तैँले नेपाल फर्केर आएपछि गाडी नै चलाउने भइस् भने पनि घरसम्मै गाडी आउँछ, बुझिस् ।” –रनबहादुरले जोशिँदै भन्यो ।
जग्गा किन्न निधो गर्नुअघि रनेले धेरैजना आफन्तलाई भेटेर सल्लाह लियो । उसलाई फरक–फरक व्यक्तिले फरक–फरक सल्लाह दिए । कोही पहाड बेचेर काठमाडौं जान सल्लाह दिन्थे त कोही अपार्टमेण्ट किन्न ।
कोही चाहिँ नजिकै आउन, त्यो जग्गा नकिन्न बरु आफ्नो त्यही कमल खोला तलको अर्को जग्गा किन्न कर गर्थे ।
उसले किन्ने निधो गरेको जग्गा पनि एक जना नजिकका नातेदारले ढिपिगरेर हेर्न लगेका थिए ।
अन्ततः घर सल्लाह पछि ३५ दिनमा पासगर्ने भाका राखेर जग्गा बैना भयो ।
जग्गा बैना गरेको बेलुका रनबहादुरको मनमा कम्ता खुशी थिएन । आफूले नसके पनि छोराको कमाइले तराईमा जग्गा किन्ने भइयो । अब त नातिलाई सहरको स्कूलमा पढाउने रहर पूरा हुने भो । परिवार पनि विखण्डन भएन ।
यस्तै–यस्तै कुरा रनबहादुरको मनमा रातभरि खेलिरहे । ऊ सकेसम्म चाँडो परिवारसँग भेटेरै खुशी साटासाट गर्न चाहन्थ्यो । त्यसैले बिहानै पहाड जाने गाडी चढ्यो ।
केही समयपछि नै गाडी चारकोसे झाडी नजिक पुग्यो । जंगलमा रुखहरू पातला र ठूला थिए । साना रुखहरू थिएनन् । बाटामा मानिसहरू गाईको बथानलाई जंगलतिर धपाइरहेका देखिन्थे ।
एक जनाले त बाटोको छेउमा नै गाई दुहुँदै गरेको पनि देखियो । अगाडि एउटा बुढो गोरु गजधम्म बसेर गाडीको बाटो छेकिरहेको थियो । यस्तो लाग्थ्यो मानौं ऊ बाटोमा हड्तालमा उत्रिएको छ ।
त्यही समयमा अघि दुहुँदै गरेको गाईलाई दुहुने मान्छेले बाटोतिर धपायो ।
रनबहादुरलाई अलि अचम्म लाग्यो । उसले सँगै यात्रा गर्ने अर्को मानिससँग जिज्ञासा राख्यो । उसले आंशिक उत्तर पायो । उत्तर सही थियो थिएन उत्तर दिने नै जानोस् ।
कुरो के रहेछ भने मानिसहरू आजकल घरमा गाई पाल्दा रहेनछन् । जुन गाई घरनजिक बिहान बेलुका भेटिन्छ त्यसैलाई दुहेर दुधको जोहो गर्दा रहेछन् । दुहेपछि फेरि जंगलतिर नै खेदिदिँदा रहेछन् ।
गाईहरू चाहिँ दिनभरि जंगल चर्ने र बेलुका फेरि मानिसको बस्ती नजिक बाटोमा नै बस्दा रहेछन् । अघिको बाटोमा बसेको गोरु चाहिँ बुढो भएकोले हिँड्न नसकेर बाटोमा बसेको रहेछ ।
“अब यो पड्के यहीँ मर्ने भो । फेरि अर्को दुःख आइलाग्यो ।” अघि गाई दहुने मान्छेले चिन्ता गरेको सुनियो ।
तर रनबहादुरलाई भने अचम्म लाग्यो । यस्तो पनि हुँदोेरहेछ । दुधखाने तर गाइ पाल्नै नपर्ने ! बजारमा दुध किन्न पाए गाई किन पाल्नु भन्ने किस्सा त उसले सुनेकै थियो ।
यहाँ नयाँ किस्सा थपियो । ‘दुध दिन गाई नै आफैं आए गाई किन पाल्नु ?’ रनबहादुर एक किसिमले मनमनै खुशी भयो ।
तराई झरेपछि घर छेउमा गाई आएको र आफूले दुध दुहेको, नातिले खाएको, मोही पारेको, घिउ खाएको, उमेरसँगै फुस्रोपन बढ्दै गएको खुट्टामा घिउ दलेको दृश्यहरू एकपछि अर्को तँछाडमछाड गर्दै मनमा आए ।
र, जसरी आए त्यसरी नै बिलाए पनि ।
०००
गाडीले घ्याच्च ब्रेक लगाएपछि रनबहादुर झल्याँस्स भयो– “लहै, पाँच मिनेट जाने भए जंगलतिर जानुस् । महिलाहरू दाहिनेतिर र पुरुषहरू देबे्रतिर ।” गाडीको सहचालक करायो ।
सबैजसो यात्रुले उसको भनाइको पालना गरे । रनबहादुर पनि देब्रे जंगलतिर सोझियो ।
जंगलमा रुखका पात झरेर बाक्लो तह बनेको थियो । पातहरू सुकिसकेका थिए । हिँड्दा सर्याङ् सर्याङ् आवाज आउँथ्यो । त्यसमाथि रनबहादुरको ठाँटिलो हिँडाइले आवाजको सघनता झनै बढाएको थियो ।
अलिपर मानिसहरू लडेको रुखलाई गिंडा पार्दैथिए । तिनीहरूलाई के लाग्यो खै उनीहरू आफ्ना सबै सामानहरू बोकेर भागे । रनबहादुरले अलि पर एउटा ट्«याक्टर रोकिएको देख्यो । भाग्ने मध्ये एकजनाले आत्तिँदै कसैलाई फोन गरको सुनियो । रनबहादुरलाई डर लाग्यो । पिसाब नगरी फर्कियो ।
०००
रनबहादुरको परिवारको बसाइँको तयारी तीव्र रूपमा हुन थाल्यो । एक दिन नातिले बालाई सोध्यो– “बा, तराईमा पनि भकुण्डो खेल्न पाइन्छ ।”
“पाइन्छ नि । त्याँ त झन् फराकिला चौरहरू हुन्छन् । खेल्ने साथीहरू पनि धेरै हुन्छन् । म तेरो बाउलाई भनेर अर्को बलियो र राम्रो भकुण्डो किनिदिन्छु ।”
बुहारीले सोध्छे – “पानी बोक्न मूलमा जानु पर्दैन नि बुवा ?”
“घरमा नै चापाकलको पानी आउँछ । केही हजार खर्च गर्नुपर्छ । बरु जाडोमा पनि जमिन मुनिबाट आएको पानी तातो हुन्छ । बिहानै नुहाउन पनि सजिलो ।”
“यहाँकाजस्ता हितैसी र दौंतरी नहोलान् कि ?” –आमैले चासो राखिन् ।
रनबहादुरलाई पनि यो सुर्ता नभएको होइन । तर उसले उत्तर बनाएरै दियो – “किन नहुनु नि ! इस्टमित्र भन्ने ता बनाउने पो हो । यो ठाउँका पनि जन्मिँदै बनेका कहाँ हुन र ?”
नयाँ ठाउँमा सबैको चासो थियो र सबैको चासोको सकारात्मक उत्तर पनि थियो । सबैजना फुरुङ्ग थिए । केही छिमेकीलाई त भविष्यमा आफ्नै छेउमा लान सकिएला भन्ने रनबहादुरमा आशा पनि थियो ।
उसले आफ्नो नयाँ जग्गा र वरिपरिको परिवेशको बारेमा गाउँमा रामै्र धक्कु लाएको थियो । छिमकीहरू पनि उसको नयाँ ठाउँ हेर्न उत्साहित थिए । गाउँमा बिस्तारै यस्तो माहौल बन्दै थियो मानांै बसाइँ नसरे पछि परिन्छ ।
आफ्नो ठाउँको माया कसलाई हुन्न र ? तर पनि पानीको समस्या, बाँदरको दुःख र सन्तानको चाहनाले थापा परिवारलाई पहाडले जाजा र तराईले आइजआइज भन्यो ।
यसै जाने उसै जाने बरु छिटै जान पाए यहाँका समस्याबाट त छुटकारा होला ! त्यही आशा बोकेर रनबहादुरको परिवारको बसाइँ सर्ने तयारीे तीव्र गतिमा भयो ।
०००
रनबहादुरको बसाइँमा प्रकृति पनि गजधुम्म भएर बसेको जस्तो थियो । यस्तो लाग्थ्यो थापा परिवारकोे बसाइँसराईमा प्रकृतिले पनि दुखमनाउ गरिरहेछ । थापा परिवारलाई विदाई गर्न छरछिमेकीहरू धेरै जना भेलाभएका थिए ।
हिँड्ने बेलामा रनबहादुरले छरछिमेकीलाई ठूलो स्वरमा भन्यो– “अहिलेलाई बाध्यताले गए पनि मैले मेरो थातथलो बेचेको छैन । आउने मेलो छँदैछ । जाने–आउने गरिरहन्छौँ । हामीलाई माया नमार्नु ! बरु क–कस्लाई मिल्छ चाँडै तराई झर्नु ।”
“हामीलाई पनि थाहा छ । तेरा बचेराका पखेंटा पलाएर जान लागेको होस् ।” –दिलबहादुरले कुरोको चुरो खोतल्यो ।
त्यही नै बेला विदेश बस्ने छोराको म्यासेन्जर कल आयो । नातिले दोडिँंदै मोबाइल ल्याएर रनबहादुरलाई दियो । हतारमा कुरा भयो । भयो के भन्नु खल्याङ्मल्याङ्काबीच बाउ–छोराले एकअर्काको अनुहार हेराहेर गरे ।
साइत छुट्नै लागेको थियो । मूलढोकामा साँचो लगाउनु अघि “केही समान छुट्यो कि ?” भनेर बुहारीले सोधी । कसैले केही बोलेनन् । मतलब केही छुटेन भन्ने बुझियो ।
जानेले बिदा मागे । बस्नेले बिदा दिए । गाडी आफ्नो बाटो लाग्यो । आकाशको तुवाँलो पातलिने छाँटकाँट थिएन । धुलो उडाउँदै गाडी ओरालो झर्यो ।
ओरालो सकिएर तेस्र्रो बाटो आयो । फेरि घुम्ती आयो । कच्ची बाटोमा धुलो र धुवाँ उडाउँदै गाडीले रफ्तार लिँदै गयो । गाडीको चालसँगै भित्र बस्ने यात्रु पनि उफारिँदै, थेचारिँदै, ठेलिँंदै, ढल्किँंदै गाडीमा बसिरहे ।
एक घण्टा जतिपछि गाडी बतासे डाँडामा पुगेर रोकियो ।
सबै गाडीबाट ओर्लिए । एक झोँका बतासले धुलो उडाएर ल्याइपुर्यायो । यो त्यही डाँडा हो जहाँ रनबहादुर किशोरावस्थामा उसका साथीहरूसँग खेल्न र गाईबाख्रा चराउन आउँथ्यो ।
यो डाँडासँग उसको बाल्यकाल र युवा अवस्थाका अनगिन्ती सम्झनाहरू गजल्टिएका छन् ।
त्यही बरको रुखमा चडेर ऊ सोइसोइला खेल्थ्यो । सुसेली हालेर मीठो धुन निकाल्दै बाटो हिँडने मान्छेहरूलाई मन्त्रमुग्ध बनाउँथ्यो ।
कहिलेकाहीँ एक्लै भएको समयमा ठूलो ढुंगापछाडि लुकेर बाघको आवाज निकालेर मान्छे तर्साउँथ्यो र उनीहरू डराएपछि बेस्मारी भाग्थ्यो र पीपलको रुखपछाडि लुक्थ्यो ।
त्यसरी तर्साउँदा एकपटक त एउटा लाहुरेले ठूलो ढुंगामाथि चढेर उसलाई हान्न ठिक्क परेको रहेछ । त्यसपटक ऊ भाग्न पाएन । लाहुरेको गाली खाएरै बस्यो ।
अर्को एकदिन बलेले बरको हाँगामा बसेको ढुकुरलाई हातले ढुंगा हानेर झारिदिने धमास देखायो । उसले बलेसँग बाजी लगायो । नभन्दै बलेले ढुकुर झार्यो ।
उनीहरूले ढुकुर पोलेर खाए । यही बाटो घाँसका भारी र सामानका भारी बोकेर हिँड्दा यिनै वरपीपलको छहारीमा उसले सयौँपटक शीतल छहारी लिएको थियो ।
त्यही शीतल यतिखेर फेरि अनुभूत गर्ने मौका पायो । “समयले साथ दिएमा फेरिफेरि यस्तै अनुभव गर्ने मौका पाइएला नि,” रने आफूले आफैंलाई सान्त्वना दियो ।
यतिकैमा फेरि अर्को पटक हावाको झोँका आयो । यसपटक हावाको बेग तीव्र थियो, झन् धेरै धुलो उडायो । हावासँगै पातपतिङ्गर र प्लाष्टिकका टुक्राहरू पनि ओइरिए ।
रनमतिले बेस्सरी खोकिन । रनेले पनि खोक्यो । बुहारी, नाति, नातिनी सबैले खोके । एउटा प्लाष्टिकको टुक्रा नातिको छातिमा टाँसिन आइपुग्यो ।
चाउचाउको खोल रहेछ । नातिले सबैले सुन्ने गरी पढ्यो ‘वाइवाइ चाउचाउ’ ।
उसले फेरि थप्यो, “यो चाउचाउको खोल पनि मलाई बाइबाइ गर्न आएको रै’च । यति ढिलो बाइबाइ गर्ने हो त ? सबैले गाउँमै बाइबाइ गरिसके ।”
डाँडाको यो ठाउँबाट दक्षिणको जंगल देखिन्नथ्यो । दक्षिणको दृश्य हेर्नका लागि परिवार नै अलि पर गए ।
“पहाडमा खाए पनि मधेसमा खाए पनि यही ठाउँको पानी ता हो बुढी । आखिर जहाँ गए पनि उही पानीढलो हो ।” –यसपालि रने भावुक सुनियो ।
“मलाई त यतै पनि ठीकै थियो नि । तपार्इं पनि छोरा–बुहारीको लहैलहैमा लाग्नु भो । म बुढी बुढाको पछि लाग्नै परो ।” –बुढीले विवशता पोखिन् ।
“नकरा न, तैँले पनि सहमति जनाएकै होस् ।”
उता बुहारीले ठुस्स अनुहार पारी ।
“परिवर्तन संसारको रित रहेछ । समय, परिस्थति सबै परिवर्तनशील छ । उमेर परिवर्तन हुन्छ । उमेरसँगै इच्छा तथा आश्यकताहरू परिवर्तन हुन्छन् । पुस्ता परिवर्तन भएपछि पुस्ताको सोच र इच्छाअनुसार पुरानो पुस्ता परिवर्तन भएन भने एक्लो परिन्छ बुढी ।” रने पाइलाको चालसँगै भट्याउँदै गयो ।
दक्षिण पाखो देखिएपछि सबै टक्क अडिए । जंगलमा बेस्सरी डढेलो लागेको थियो । आकाशे तुवाँलो मुनि आगोको लप्का यहीँबाट देखिन्थ्यो । बतासे डाँडासम्म आइपुग्न धेरै समय नै नलाग्ने गरी आगो फैलिरहेको थियो ।
एक ठाउँ हैन, दुई ठाउँ हैन, आगोको लप्का देखिएका र धुवाँमात्र देखिएका गरी गोडा बीसेक ठाउँमा डढेलो गन्न सकिन्थ्यो । तल सालको वन र माथि गुराँसको वनमा अन्तभन्दा बाक्लो धुवाँ थियो ।
जंगलबाट उठेको धुवाँ आकाशको तुवाँलोमा मिसिइरहेको थियो । यस्तो लाग्थ्यो मानौ सम्पूर्ण संसारको वायुप्रदुषणको स्रोत यहीँको डढेलो हो ।
रनेको मस्तिष्कमा अस्ति भर्खर तराईबाट फर्किंदा जंगलभित्र जमिनमा जम्मा भएका पत्करको सम्झना आयो । भागेका मानिस, जंगलका गाइबस्तुको पनि याद आयो । तर उसले गर्नसक्ने केही थिएन ।
“लौ, यो आगो हत्तपत्त रोकिनेवाला छैन । अब ढिलो नगरी फटाफट जानुपर्छ नत्र आगोले बाटामै लपेटछ ।” –उसको मुखबाट यतिमात्र निस्कियो ।
“वर्तमान वायुप्रदुषणको अवस्था अझै केही दिन कायमै रहने अनुमान गरिएको छ ।” –पसलमा झुण्ड्याइएको रडियोले भन्दै थियो– “पश्चिम दिशाबाट हावासँगै बहेर आएको भए पनि देशभरिका कैयौँ स्थानहरूमा लागिरहेको डढेलोले पनि प्रदुषण बढाउन योगदान गरेको छ । जलवायु परिवर्तनको असरले वायुप्रदुषण, भूःस्खलन, पहिरो र बाढीजन्य घटनाहरूको जोखिम बढ्ने पनि विज्ञहरूले औंँल्याएका छन् ।” रेडियो एकनास बोलिरहेकै थियो ।
मानिसमात्र परिवर्तन नहुने रहेछ । प्रकृति पनि परिवर्तन हुनेरहेछ । जल, वायु, जंगल, माटो, पानीका मूल, सबै परिवर्तनशील रहेछन् । के प्रकृतिको परिवर्तन आफैं हुन्छ ? त्यो परिवर्तनमा मानिसको के भूमिका छ ?
यस्तैयस्तै तर्कना उसका मनमा खेलिरहेका थिए । त्यतिकैमा नाति कराउन थाल्यो– “मेरो भकुण्डो खोई ?”
“यसलाई अलिकति सम्म परेको ठाउँ देख्नुहुन्न त्यै लात्तेभकुण्डो चाहिन्छ ।” –उसकी आमा कराई ।
“नाईं मलाई मेरो भकुण्डो चाहियो । मेरा बाबाले दिएको भकुण्डो । मेरो नाम लेखेको छु । त्यै भकुण्डो चाहियो । मेस्सीको दश नम्बरे टीसर्ट पनि चाहियो ।”
नातिको बोली झन् ठूलो सुनियो । आँखाबाट आँशू र नाकबाट सिँगानले उसको रुवाइलाई साथ दियो । सासू–बुहारीले मुखामुख गरे । कुरो बुझियो, भकुण्डो घरमा नै छुटेछ ।
“मैले तँलाई के छुट्यो भनेर सोधेको थिइनँ ? अब तराई गएर किन्दिउँला ।” –आमा चाहिँले फकाई ।
नातिले त्यही भकुण्डो अहिले नै चाहिने जिद्धि गरिरह्यो । गाडीले आगो र भकुण्डो दुवैको वास्ता नगरी धुलो उडाउँदै जंगलकोे बाटो ओराला घुम्तीहरू पार गरिरह्यो ।
०००
रनबहादुरको परिवार तराईमा बसाइँ सरेको तीन महिना भइसेकेको थियो । वर्षायाम सुरु भयो । घर नजिकैको दुई बिघा जग्गा अधियामा कमाउनका लागि धानको बीउ राखिसकिएको थियो ।
एकदिन आपसी पर्म लगाउन छिमेकी लखीरामको खेतमा थापा र चौधरी परिवार सँगसँगैं काम गर्दै थिए । कुरै कुरामा सँगै काम गरिरहेको लखीरामले भन्यो– “खोला पहिला गहिरो थियो । बाढी पनि धेरै धमिलो हुँदैनथ्यो । तर अहिले खोला र खेती गर्ने जमिनको सतह बराबर हुन लागिसक्यो ।”
खोला कति गहिरो हुनपर्ने ? खोलामा वर्षामा आएको भेल धमिलो नभएर कस्तो होला त ? के भनेको होला लखीरामले ! रनबहादुरलाई बुझ्न सजिलो भएन ।
लखीरामले थप्दै गयो– “यो खोला त भाले खोला हो । यस्तै नाम गरेको अर्को खोला पनि छ । तर त्यो चाहिँ पोथी । यो कमल र त्यो कमला ।”
रनबहादुरलाई लखीरामको कुरा मन नपरेको मात्र हैन, उसले रेला गरेको जस्तो लाग्यो । खोला पनि कहीँ भाले र पोथी हुन्छ त ? त्यही प्रश्न रनबहादुरले लखीरामलाई सोध्यो ।
“आम्मै, हुन्छ नि ! भाले अलि चञ्चल हुन्छ । बाटो बिराइरहन्छ । ठाउँमा राख्नुपर्छ । नत्र पोथीको खोजीमा भांैतारिन्छ ।”
रनेले कुरा खोतल्ने विचार गर्यो र भन्यो– “अनि पोथी चाहिँ भाले भेट्न आउदैंन ?”
“आउँदैन । किन आउनु नि । भाले नै आउने भए पोथी किन अन्त जानु नि ।” –लखीरामको कुरा जिस्किएको जस्तो सुनियो ।
“लौ है, नयाँ कुरा सुनियो ।” –रनेले मुखले त भन्यो तर मनले पत्याएको थिएन ।
“यस्तै नयाँ कुरा थाहा पाउने भए एक दुई खेताला अझै आऊ, अरू पनि यस्ता कुरा कति छन् कति, भन्दै जाउँला ।” –अब चाहिँ लखीराम साँच्चै जिस्किन थाल्यो ।
“सित्तैमा काम गरिदिए मात्रै यस्ता कुरा हामीलाई भन्ने ?” –रनबहादुर च्याँठियो ।
“भन्ने समय पनि चाहियो नि । नयाँ कुरा भेट भएको बेला त भन्ने हो । मैले सम्झिएको कुरा कुन बेला भन्ने त ? सँगै हुुनुपरेन ?,” लखीरामले व्यवहारिक कारण देखायो ।
०००
बर्खायामको अन्तिम समय भइसकेको थियो । छिमेकीले भनेको भाले र पोथी खोला, खोलाको सतह आदि इत्यादि कुरा समय–समयमा उसको मनमा नआएको होइन । उसले रनमतिलाई यो कुरा सुनाएको पनि थियो । तर फरक ठाउँ, संस्कार र जातिमा चलेको उक्ति होला भनेर दुवैले वास्ता गरेनन् ।
बर्खा सकिएपछि लात्तेभकुण्डो खेल्न पाइने भएकोले नाति खुशी थियो । मलाई त्यही भकुण्डो ल्याइदिनु भनेर हत्तेगर्न उसले छोडेको थिएन ।
पहाड जाने बाटो सुख्खा भएपछि गएर बाँकी व्यवहार पनि मिलाउने र नातिको सामान पनि ल्याउने बुढाबुढीले सल्लाह गरे ।
समय ठीकठाक चलिरहेकै थियो । रनबहादुर बेलाबेलामा हरियो फिरेको रोपो हेर्न जान्थ्यो र मनमनै खुशी हुन्थ्यो । मल, बीउ, विषादी सबै प्रयोग गरेकै थियो । लगानी र मेहनतअनुसार बाली राम्रै हुने छाँटकाँट देख्दा ऊ मनमनै प्रफुल्ल थियो ।
भाद्र महिनाको अन्तिम साता आकाशमा कालो बादल बढ्दै गयो । “पानी रहने बेलामा पानी पर्ने भो । पहाड जाने भनेको, जान पाइन्न कि के हो ?” –मौसम परिवर्तनको संकेतमा रनमतिले असन्तोष पोखिन् ।
रनबहादुर चाहिँ मनमनै खुशी थियो । धानबालीलाई पानी चाहिने समय हो अहिले ।
“सके आफैंले पानी लगाउनु पर्ने । आकाशबाटै पानी आउने भयो भने झन् राम्रो । धान पसाउने बेला भएको छ । पानी आयो भने धान राम्रो फल्छ ।” –उसले बुढीलाई सम्झाउँदै भन्यो ।
साँझपख पानी पर्न थाल्यो । खाना खाएर रनबहादुरको परिवार आनन्दले सन्तोषको निन्द्रा सुतिरह्यो ।
राति त्यस्तै दुई बजेको हुँदो हो । गाउँमा कल्याङ्मल्याङ्को आवाज आयो । के भयो भन्ने रनबहादुरको परिवारका कसैले भेउ पाएनन् ।
पानी परेकोबेला माछा मार्नुपर्छ भनेर छिमेकीले भनेको सुनेको थियो । माछा मार्न पो थाले कि भनेर ध्यान दियो । त्यही समयमा मानिसहरू ठूलो स्वरमा कराउन थाले ।
“ए, पहाडबाट आएका थापाको परिवार, तिम्रो घर बगाउन लागिसक्यो । चाँडो भाग । हामी स्कुलको ठूलो भवनमा छांैँ छतमाथि । सक्छौ भने त्यहीँ आओ ।” तन्द्रामा हो कि होसमा हो, तर शब्दहरू खुट्याउन सकिने नै थिए ।
“लौ बर्बाद भएछ ! ए बुढी, सबैजना उठेर भागौँ । बाढी आयो रे !” रनबहादुरको आत्तिएको स्वर सुनेर सबै झस्किए ।
बाढीले खाटको खुट्टाको आधिसम्म डुबाइसकेछ । हतार–हतार जे–जे भेटे त्यही लिएर पाँचै जना भागे । बुहारीले नातिनी बोकी । बुढाले नाति डोहोर्यायो । बुढीले नजिकैको झोला बोकी ।
झोलामा के थियो थाहा थिएन । के जोगाउने, के लैजाने, भोलि पर्सि के चाहिएला ती सबै गौण भए । आफ्नो र परिवारको सास जोगाउन पाए त्यही ठूलो हुनेभयो । ज्यान बचे अरू सामान देखाजाला ।
मुस्किलले बाँचेर थापा परिवार पनि विद्यालयमा शरण लिन पुगे ।
पानी लगातार परिरहेको थियो । केही घण्टामा उज्यालो भयो । गाउँमा को–को आए को–को आएनन् सोधखोज भयो । यसैपाली आएका सुनार परिवार सम्पर्कमा नआएको भनेर खैलाबैला भइरहेको थियो ।
सबैले सोधखोज गरे । महिला पुरुष, केटाकेटी, वृद्ध, अशक्त सबै एकै ठाउँमा थुप्रिए ।
केही समयमा बालबच्चा निदाउन थाले । अझ सानालाई भोक लाग्यो । खुवाउनु पर्यो ।
सानाठूला सबैलाई एकपछि अर्को गर्दै सुसु लाग्यो । दिशा लाग्यो । तिर्खा लाग्यो । भोक लाग्यो । गर्मी भयो । लामखुट्टे पनि लाग्यो ।
सबै भयो । तर, केही कुराको पनि व्यवस्थापन भएन ! त्यहाँ बस्न नसकिने हुँदैगयो । नबसेर पनि कहाँ जाने ? सबै पीडामा थिए ।
सहयोगका लागि नजिकको अर्को गाउँका मानिस पनि आउन सक्ने अवस्था थिएन । उनीहरूको अवस्था के थियो त्यो पनि थाहा भएन । जस्का मोबाइल जोगिएका थिए ती पनि काम नगर्ने भए ।
बिहान सर्वत्र उज्यालो भयो । जता हेरे पनि पानी नै पानी ! कसको घर कहाँ भनेर छुट्याउन पनि अलिकति देखिएको धुरीको आधारमा अनुमान गर्नुपर्दथ्यो ।
खोलामा ठूलो रुख छड्के परेर तेर्सिएको देखियो । रुखले छेकेर अरू धेरै सामानहरू अडकिएका देखिए । अडकिएका सामानमा रुखका गिंड धेरै थिए । सम्भवत घर भत्किएर आएका होलान् ।
पुराना काठहरू पनि देखिए । अलि माथि सेतो केही चीज देखियो । कसैले भन्यो “गाई पनि रहेछ” ।
परिस्थिति हेर्दा यस्तो लाग्थ्यो उपल्लो भेगमा पनि ठूलै क्षति भएको छ । रनेले आँखामा मधुरो हुँदै गएको दृष्टि घुमायो । बादल, हावा, धुवाँ, पानी, माटो, ढुंगा, वन, गाई, धारा, बाटो, मान्छे, गाडी, खोला, रोपो सबै सबै उसको आँखा अगाडि आए ।
सजीव निर्जीव सबै चीज बोलेझँै लाग्यो । उसलाई ती चीजहरू घरि हाँसेझैँ घरि रोएझैँ लाग्यो ।
हेर्दाहेर्दै तीमध्ये कुनैको जुल्फी पलायो, कुनैका दाह्रा पलाए । केही राक्षसी हाँसो हाँस्थे, कुनैले उसलाई गिज्याउँथे ।
रनेलाई आफैंलाई सम्हाल्न गाह्रो भयो । परिवारलाई सम्हाल्नु छ, आफूलाई नसम्हालेर के गर्नु, सम्हालियो ।
सम्हालियो के भन्नु सम्हालिएको अभिनय गर्यो ।
पानीको सतह कम भएपछि बेलुकीतिर रनबहादुर नातिको हात समाउँदै आफ्नो छाप्रोमा फर्कियो । छाप्रो भन्नु मात्र, त्यहाँ आफ्नो केही थिएन । माटो, बालुवा, पतिङ्गर, रुखका हाँगा, पुराना काठ आदिको थुप्रो मात्रै थियो ।
त्यही थुप्रोबाट नातिले भकुण्डो निकाल्यो र भन्यो मेरो भकुण्डो । भकुण्डोमा नातिको नाम लेखिएको थियो– मनबहादुर ।
रनबहादुर भावविह्वल भयो । अब भकुण्डो लिन पहाड जानुपर्ने थिएन । भकुण्डो आफैं तराई झरिसकेको रहेछ । –baahrakhari








प्रतिकृया दिनुहोस्