कम्बोडियामा स्वर्ण जितेर फर्किएकी सुष्मालाई बाजागाजासहित सम्मान


पश्चिम नवलपरासी– कम्बोडियामा सम्पन्न छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्काउन सफल खेलाडी सुष्मा चौधरीलाई उनको गृहनगर पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ५ का आमा समूहहरूले स्वागत तथा सम्मान गरेका छन् ।
कुन खमेर कम्बोडियाको परम्परागत र अत्यधिक लोकप्रिय मार्सल आट्र्स (युद्धकला–फाइटिङ खेल) हो । यो खेल थाइल्यान्डको प्रसिद्ध खेल ‘मुया थाइ’ सँग धेरै मिल्दोजुल्दो छ । यद्यपि कम्बोडियामा यसलाई आफ्नो मौलिक सांस्कृतिक पहिचानका रूपमा लिइन्छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्दै देश र आफ्नो भूगोलको पहिचान उच्च बनाएको खुसीयालीमा बर्दघाट–५ मा सक्रिय स्थानीय आमा समूहहरूले संयुक्त रूपमा एक विशेष कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेका हुन् ।
स्वर्ण पदक जितेर गृहनगर फर्किएकी सुष्मालाई गाउँ प्रवेश गर्दा आमा समूह, खेलप्रेमी, युवा क्लब तथा स्थानीय नगरबासीहरूले बाजागाजा, अबिर र फूलमाला लगाएर स्वागत गरेका थिए ।
लामो समयदेखि आईटीएफ तेक्वान्दोमा सक्रिय रहँदै ब्ल्याक बेल्ट (प्रथम डान) हासिल गरिसकेकी सुष्माले मार्सल आट्र्सको विश्वस्तरीय प्रतियोगितामा यो सफलता हासिल गरेपछि गाउँभरि खुसीयाली छाएको छ । स्वागत पश्चात् स्थानीयहरूले विजय र्यालीसमेत निकालेका थिए ।
आमा समूहका का अनुसार ‘सुष्मा हाम्री छोरी मात्र नभएर सिङ्गो देशकी गहना हुनुहुन्छ । पश्चिम नवलपरासीको माटोमा हुर्किएर अन्तर्राष्ट्रिय मञ्चमा स्वर्ण पदक जित्नु सामान्य कुरा होइन, यसले हाम्रा स्थानीय बालबालिका र युवाहरूलाई खेलकुदमा लाग्न ठूलो प्रेरणा दिएको छ ।’
कार्यक्रममा बोल्दै स्वर्ण पदक विजेता सुष्मा चौधरीले आफ्नै घर–आँगन र आमाहरूको हातबाट सम्मानित हुन पाउनु आफ्ना लागि जीवनकै अविस्मरणीय क्षण भएको बताइन् । उनले भनिन्, ‘कम्बोडियामा देशको झण्डा फहराउन पाउँदा जति खुसी लागेको थियो, आज गृहनगर फर्किएर आमाहरूको आशीर्वाद र माया पाउँदा त्यो भन्दा बढी हौसला मिलेको छ । यो सफलता मेरो मात्र नभई मलाई निरन्तर प्रोत्साहन गर्ने सम्पूर्ण पश्चिम नवलपरासी र बर्दघाटबासीको हो ।’
नगरपालिकाले समेत नगद २० हजारसहित सम्मान गरिसकेको सन्दर्भमा बर्दघाटका अन्य विभिन्न संघ–संस्थाहरूले पनि सुष्माको सम्मानमा श्रृंखलाबद्ध कार्यक्रमहरू आयोजना गरिरहेका छन् ।








प्रतिकृया दिनुहोस्