देवकोटाचोकका शालिक तर्सिने गाडीको गति र अटो रिक्साको ल्याङ–ल्याङ


भैरहवा– साउन अन्तिम । आकासमा बादलका थुम्का छन् । तैपनि बिहानबाट टन्टलापुर घाम लागेको छ । सडकमा ओहोरदोहोर गरिरहेका बटुवा छहारीमा थामिन्छन् । दाँया हात निधारमा पुर्याएर एक सर्को पसिना नितारेपछि अकासतर्फ फर्किएर बादल हेर्छन् । सूर्य र बादलबीच दूरी देखेपछि आज पनि गर्मीले बित्यास पार्ने भो भन्दैं बाटो लाग्छन् । हरेक दिन शीतलताको अनुभूति गर्ने अपेक्षासहित सुरु हुन्छ । शीत ताप्न नपाई बिदा हुन्छ । सहरमा घरका ओत छन् । रुखका छहारी पनि छैनन् ।
भैरहवाको देवकोटाचोक आधुनिक बनिरहेको छ । पूर्वतर्फ हुलाकी राजमार्गसित लहसिएर यति होटल छ । भैरहवाको पुरानो होटल टसमस नभई देवकोटाचोकको पर्यायवाची बनेको छ । पश्चिमतर्फ पुरानो बैंकरोड चमकधमकको पर्खाइमा छ । दक्षिण होटल, क्यासिनो र स्पाको गन्ध छ । ती ठाउँबाट खाना र अत्तरको बास्ना आउँछ । चोकको बीचमा दुई शालिक छन् । देवकोटाचोक नाम भएकाले धेरैले अग्लो शालिक लक्ष्मी प्रसाद देवकोटाकै होला भन्ठान्छन् । तर, देवकोटा गाडीमोटरको धुँवा र सडकको धुलो खाएर गौतमबुद्धको छत्रछाँयामा उत्तर मुख फर्काएर टोलाइरहेका छन् ।
बुटवल–बेलहिया मार्गमा ओहोरदोहोर गर्ने गाडीको गति र मति अवलोकन गरिरहेका छन् । देवकोटाचोकका स्थायी ट्राफिक उनी नै हुन जस्तो लाग्छ । मूर्तिले सही सडकमा सवारी साधनको ज्यादती अवलोकन गरिरहेको छ । हात हल्लिँदा हुन त देवकोटाले नियम मिच्ने गाडी रोकेर चिट पो काट्थे । अनि दक्षिणबाट ज्यानमारा गतिमा हुँइकिएर आउने भारतीय गाडीलाई तह लाउँथे कि ?
गौतम बुद्ध ज्ञानका ज्योति हुन् । संसारलाई शान्तिको मार्गमा डोर्याउने बुद्ध पनि मौैंन देखिन्छन् । शालिक हेर्दा लामो ध्यानमा बसेझैं लाग्छ । तर, गाडीका हर्न र आसपासको ध्वनी प्रदूषणले बुद्धको ध्यान भंग भइरहन्छ होला । देजकोटाको मूर्ति टोहोल्याइरहन्छ । अनि बुद्ध आफ्ना पंचशील स्मरण गर्दै भन्दाहुन्, ‘कलि लागेपछि यस्तै हो ।’ आजभोलि मानिसका अपेक्षा बुझ्दा र देख्दा पनि कलीकै आभास हुन्छ । भन्नलाई त भैरहवालाई ‘ब्युटिफूल’ सहर बनाउने भनिन्छ । लाग्छ यो नेताहरुको केटौंले रहर हो ।
सहर सुन्दर कसरी होला ? शालिक स्थापना गरेर ? बाटो चौडा पारेर ? फुटपाथमा व्यापार गरेर ? चौतारी मासेर ? फुटपाथमा पार्किङ गरेर ? या वक्तव्यबाजी गरेर ? यसो हेर्दा सुन्दर सहर भनिदिए पुग्छ जस्तो छ । सहर सुन्दर बनाउन केही पनि गर्नु पर्दैन । करिब तीन महिनासम्म फोहोर व्यवस्थापन गर्नु पर्दैन । पहिलको ठाउँमा उपाय नलागे नयाँ फोहोर फ्याँक्ने ठाउँ खोज्नु पर्दैन । भैरहवा सहरका नरनारी पनि अदभूत नै छन् । अरुले राम्रै गरे पनि आलोचना । केही नगरे पनि आलोचना । आलोचना नै आलोचना । आफूले केही गर्र्नै नपर्ने यो सहरको भविष्य के होला ?
सहरका चोक चोकमा मूर्ति खडा गर्नुपर्ने । चाहे ती मूर्ति भगवानका विभिन्न रुपका हुन् या गौतमबुद्धका हुन् । सहरका गल्ली–गल्ली बुद्ध धुन बज्नुपर्ने हो । सुन्दर फुटपाठमा ध्यान बसेका प्रशस्त नरनारी देखिनुपर्ने हो । तर, भैरहवामा सबेरै सहर नियल्दा चोक र गल्लीमा फोहोरका थुप्रा देखिन्छ । ध्यान बस्न लायक बन्नुपर्ने फुटपाटमा व्यापार र गाडी पार्किङ गरिएको देखिन्छ । खुला स्थानमा ठेला व्यापार फष्टाइरहेकै छ । लुम्बिनीमा बुद्ध जन्मिएर कपिलवस्तुको तिलौंराकोट दरबारमा हुर्किंदाको माहोल पनि यस्तै कोलाहलपूर्ण पो थियो कि ? यहाँ दिक्क लागेर ज्ञानको खोजीमा सिद्धार्थ गौतम दरबारबाबाट बाहिरिएका पो थिए की ? भैरहवाको भद्रगोलले त्यही सम्झना गराउँछ ।
‘भैरहवा सिमावर्ती सहर हो,’ शनिवार विहान बजारमा भेटिएका एक स्थानीयले भने, ‘खान्छ, पिउँछ, मस्त आराम गर्छ ।’ उनले ब्युँझिने समयको कुरा गरेनन् । सहरका नरनारी आफ्नो अनुकुल समयमा ब्युँझिएर कामदाममा लाग्छन् । बन्द व्यापार गर्छन् । एक अर्कासित बेसी सरोकार छैन । त्यसैले पनि होला, जति नियम बनाए पनि सिद्धार्थनगरमा विद्युतीय रिक्साको ल्याङ–ल्याङ अन्त हुँदैन । व्यस्त चोकमा पनि एकैपटक ४०–५० अटो रिक्सा कुँदिरहेकै देखिन्छन् । विश्रामस्थल, खानपान स्थल, अस्पताल, तरकारी हाटदेखि बजारका सुपर मार्केट जताततैं यस्ता रिक्साको धर्ना देखिन्छ । व्यापारिक मार्गका छेउछाउमा रहेका शाखा सडकमा त विद्युतीय रिक्साको रजगज छ । चिल्ला गाडीलाई बेवास्ता गर्ने रिक्साले बटुवा र हुलुका सवारी चालकलाई के परेर टेरुन ।
सहरको बीचमा बिरामी परेको भीम अस्पताल छ । ऐतिहासिक अस्पताललाई सन्चो हुँदैन । सहरको बीचमा भएकाले धुँवा धुलोले कहिले भाइरल जरो त कहिले गम्भीर बिराम लागि रहन्छ । अस्पतालको मूल भवन जीर्ण छ । दाताले निर्माण गरेका भवनभित्र विजुली काटिएपछि विकल्पका रुपमा इन्भटर र जेनेरेटर छैन । अध्याँरोमा छामछुम गरेर र मोवाइल जलाएर उपचार गर्नुपर्ने दृश्य देखिन्छ । भित्र अस्पताल बिरामी छ । बाहिर गेटमै अटो रिक्साको संक्रमण व्यापाक छ । बिरामी बोकेर आउने एम्बुलेन्स समेत छेक्नेगरि रिक्सा मुख्यद्वारमा राख्ने गरिएको छ । अस्पताल परिसरमा अटो रिक्साको यस्तो ल्याङ–ल्याङ कसैले देख्दैनन कि कसो ?
सहर कसले व्यवस्थित गर्ने ? धेरैको जवाफ दिन्छन्, ‘ट्राफिक’ प्रहरीले । ट्राफिक प्रहरीले नियम पालना गराउने हो । बाँकी सहर व्यवस्थित गर्ने जिम्मेवारी जनप्रतिनिधिको हो । सरकारले नगर विकासका लागि बजेट विनियोजन गरेको छ । पालिका भनेका पनि स्थानीय सरकार नै हुन् । नगर प्रमुख प्रधानमन्त्री हुन् । बाँकी जनप्रतिनिधि पनि ओहोदा अनुसारै हुन् । नगर भन्दा मुनी वडा सरकार छन् ।
सहर व्यवस्थित गर्नका लागि वडा सरकारको जिम्मेवारी पनि उत्तिकै हुन्छ । तर, हाम्रा जनप्रतिनिधि यही सहरका कुना–कुना हिंड्छन् । सहरको बेथिति कुल्चिएर हिंड्छन् । तर, सहर कसरी व्यवस्थित बनाउने भनेर छलफल गर्दैनन् । जनप्रतिनिधिबीचको किचलोले कर्मचारीले काम गर्न सकिरहेका छैनन् । कर्मचारी र प्रहरीले काम गरेनन् भनेर जनप्रतिनिधि उम्किन मिल्छ ? पक्कै मिल्दैन । किन भने चुनाव ताका सहर बनाउँछु भनेर कसम खाएर निर्वाचित भएकाले अव्यवस्थापनको जिम्मेवारी पनि लिनुपर्छ ।








लेखकको सम्वन्धमा