August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

नगरपालिकाको बेवास्ताले भैरहवाको ट्राफिक व्यवस्थापन भद्रगोल

Advertisement

भैरहवा– नगरभित्रका सडक पेटी व्यवस्थापनमा नगरपालिकाले ध्यान दिनुपर्ने हो । भत्किएका पेटी निर्माणदेखि त्यसमै गरिने भद्रगोल पार्किङ व्यवस्थापनमा नगर सरकारले महत्व दिनुपर्ने हो । तर, सिमावर्ती सहरको ट्राफिक व्यवस्थापनमा नगरपालिकालाई कुनै चासो छैन । जिल्ला ट्राफिकको प्रयास पुगेको छैन ।

Advertisement

सदरमुकाम भैरहवाका सडकमा बटुवालाई हिंडडुल गर्न समस्या छ । काहाँनेर खाल्डोमा परिन्छ यकिन छैन । सर्वसाधरण सडक पेटीको सट्टा सडकबाट हिंड्न बाध्य छन् । सर्वसाधरण सडकबाट हिंड्नु पर्ने भएपछि कतिबेला दुर्घटना हुन्छ ठेगान छैन । गाडी चल्ने सडकमा पनि जताततै फलफूलका ठेला छन् । नो पार्किङ उल्लेख गरिएका ठाउँमा बस र अन्य गाडी पार्किङ गरिएका हुन्छन् ।

सहर आधुनिक बन्दैं जाँदा त्यही अनुसार सडक सुविधा थपिनु पर्ने हो । तर, भैरहवामा ठिक उल्टो भइरहेको छ । जति गाडी छन्, सबैं सडकमै पार्किङ गरिन्छ । सडकमा ट्राफिक लाइट र जेब्रा क्रसिङको पालना गरिँदैन । जहाँबाट मन लाग्यो, त्यहीबाट सर्वसाधरणले गाडी र मोटरसाइल चलाउने गरेका छन् । यसले बटुवालाई आवतजावतमा कठिनाई भएको छ । भैरहवामा इ–रिक्साले झन चुनौंती थपेका छन् । कति बेला कहाँबाट ई–रिक्सा आइपुग्छन् पत्तै हुँदैन ।

जिल्ला ट्राफिकले नियम पालनाका लागि बारम्बार अनुरोध गरिरहेको छ । ठाउँठाउँमा सूचना राखेको छ । कोन राखेर सडक व्यवस्थित गर्ने प्रयास गरिएको छ । तर, नागरिकले ट्राफिक नियम उल्लंघन गरिरहेका छन् । जेब्रा क्रस होस वा सिद्धार्थ राजमार्ग दायँबायाँ पेटीमा मोटरसाइकल, कार र ठेला पार्किङ गरिएका हुन्छन् । पेटी अतिक्रमण गरेर व्यापार भइरहेको छ । सिद्धार्थनगरले नगर प्रहरी परिचालन गरेर सडक व्यवस्थित गर्न सकेको छैन । बरु नगर प्रमुख र उपप्रमुखको सुरक्षामा नगर प्रहरी खटिरहेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले ट्राफिक व्यवस्थापनकै लागि बुद्धचोक र देवकोटा चोकमा ट्राफिक लाइट जडान गरिएको बताए । तर, यसको सञ्चालनको जिम्मा जिल्ला ट्राफिकलाई रहेको उनले बताए । यता जिल्ला ट्राफिक कार्यालयको भनाई भने फरक छ । बत्ती रेखदेख जिम्मा भए पनि बिग्रिएपछि मर्मतको जिम्मेवारी नगरपालिकालको हो । साथै ट्राफिक लाइट बाले वापत स्थानीय बैंकलाई बिजुलीको महशुल भुक्तानी गर्न बाँकीे छ । जसले गर्दा बैंक रहेका घर धनीले पनि बत्ती काटिदिने गरेका छन् । दोष मात्र दिएर समस्या हल नहुने ट्राफिक प्रहरीको भनाई छ ।

नगरपालिकाले ट्राफिक प्रहरी र सडक डिभिजनको समन्वयमा लाइट व्यवस्थापन गरिनुपर्ने बताएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीले बुटवल–बेलिहया खण्ड अन्तर्गत ६ ठाउँमा ट्राफिक लाइट जडान रहेको बताइन् । बिहान सात बजेदेखि साँझ सात बजेसम्म सवारी साधनको चाप हुने भएकाले उक्त समयसम्म लाइट बालिए पनि बाँकी समय अफ गरिने उनको भनाई छ । आर्थिक वर्ष २०८२–०८३ मा ट्राफिक नियमको पालना गराउनकै लागि सात सय सन्तानब्बे ट्राफिक जनचेताना कार्यक्रम गरेको बताइन् । उनका अनुसार यात्रु देखि बिद्यालयकालाई ट्राफिक लाइट, सडक दुर्घटना, सचेतना र यात्रुसँग तीन मिनेट कार्यक्रम सडकमै गरेको जनाइन् ।

भैरहवा मर्निङक वाक ग्रुपका अध्यक्ष विजय गोविन्द श्रेष्ठले दुई पटक ट्राफिक प्रहरीलाई लाइट व्यवस्थापनका लागि भनिसकेको बताए । साथै सिद्धार्थ नगरपालिकालाई यही कुरा सुनाएको उनको भनाई छ । ‘हुने हो भने नगरपालिका गाउँपालिकामा परिणत हुन बेर लाग्दैन,’ उनले भने, ‘मेयर र उप–मेयर बिच राम्रो तालमेल नहुँदा नगर समस्यामा छ ।’ यस्तै पाराले जनप्रतिनिधिबाट नगरको बिकास नहुने उनले बताए । ‘पेटीमा ठेला हुन्छ, सामान राखिएको हुन्छ,’ उनले भने, ‘पालिकालाई कुनै मतलब छैन । जसरी गाई र गोरु बाटोबाट हिंडेका हुन्छन् त्यहीँ भीडमा हामी हिंडेका हुन्छौं ।’