इ–ड्राइभ लुम्बिनीद्वारा ५० एमजी विन्डसर कम्युट विद्युतीय कार राइड सेयरिङमा


भैरहवा– लुम्बिनी प्रदेशमा पहिलोपटक ठूलो संख्यामा विद्युतीय कार प्रयोग गर्दै आएको इ–ड्राइभ लुम्बिनी नेपाल प्रालिले ५० वटा एमजी विन्डसर कम्युट ब्राण्डको नयाँ गाडी सञ्चालनमा ल्याएको छ ।
एमजी मोटर इन्डियाको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालि र इ–ड्राइभ लुम्बिनी नेपालबीच ५० वटा विद्युतीय कार उपलब्ध गराउने सम्झौता बिहीवार भए लगत्तै इ–ड्राइभ लुम्बिनीले ती गाडी सञ्चालनमा ल्याएको हो ।
भैरहवामा आयोजित कार्यक्रममा दुवै कम्पनीका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार पहिलो चरणमा १६ वटा एमजी विन्डसर कम्युट इ–ड्राइभ लुम्बिनीलाई हस्तान्तरण भइसकेका छन् । बाँकी ३४ वटा सवारीसाधन अबको करिब डेढ महिनाभित्र उपलब्ध गराउने जीओ अटोमोबाइल्सले जनाएको छ ।
जीओ अटोमोबाइल्सका निर्देशक आर्यमान गोल्छाका अनुसार नेपालमा एमजी विन्डसर कम्युट भित्रिएपछि एकैपटक ५० वटा सवारीसाधन उपलब्ध गराउने गरी गरिएको यो पहिलो ठूलो व्यावसायिक सम्झौता हो ।
गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ अटोमोबाइल्सले सन् २००९ देखि अटोमोबाइल क्षेत्रमा काम गर्दै आएको उनले जानकारी दिए । कम्पनीका डिलर इन्चार्ज प्रकाश शाक्यले विन्डसर कम्युटलाई व्यक्तिगत प्रयोगका साथै व्यावसायिक प्रयोजनका लागि उपयुक्त हुने गरी नेपाली बजारमा ल्याइएको बताए ।
इ–ड्राइभ लुम्बिनी नेपालका अध्यक्ष राजकुमार गुप्ताले विन्डसर कम्युटको प्रयोगसँगै लुम्बिनी प्रदेशमा विद्युतीय राइड सेयरिङ सेवाले नयाँ स्वरूप लिने बताए । उनका अनुसार कम्पनीले नेपालमै ठूलो परिमाणमा एमजी विन्डसर कम्युट खरिद गर्ने राइड सेयरिङ कम्पनीका रूपमा आफूलाई अघि सारेको छ ।
गुप्ताले गाडी यात्रुका लागि फराकिलो र आरामदायी रहेको उल्लेख गर्दै भारतीय उत्पादन भएकाले आवश्यक पार्टपुर्जा तथा प्राविधिक सेवा सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरे । आवश्यक परे भारतबाट प्राविधिक जनशक्ति समेत छिटो ल्याउन सकिने दाबी उनले गरे ।
एमजी विन्डसर कम्युटमा १०० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको र ३८ किलोवाट क्षमताको ब्याट्री रहेको उक्त कारले एकपटक पूर्ण चार्ज गरेपछि करिब ३३० किलोमिटरसम्म दूरी यात्रा गर्न सकिने जनाइएको छ ।
लुम्बिनी प्रदेशमा बढ्दो विद्युतीय सवारी प्रयोगसँगै राइड सेयरिङ सेवामा पनि विद्युतीय कारको हिस्सा बढाउने उद्देश्यले यी सवारीसाधन सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ ।








प्रतिकृया दिनुहोस्