August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

पीडितले वास्तविकता नबताउँदा मानव बेचबिखनमा संलग्न दलाल उम्किने समस्या

Advertisement

भैरहवा—मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कार्यरत नोलकै अग्रणी सँस्था माइती नेपालले रुपन्देहीका विभिन्न सीमावर्ती नाकाबाट भारततर्फ लैजान लागिएका तथा बेचबिखनको जोखिममा रहेका १६९ जना महिला, वालवालिका तथा किशोरीको उद्धार गरेको छ ।

Advertisement

माइती नेपाल, आवधिक गृह भैरहवाले आर्थिक वर्ष २०८२–८३ मा गरेको सामाजिक परीक्षण तथा वार्षिक कार्यक्रम समीक्षा सार्वजनिक गर्दै यस वारेमा जानकारी गराएको हो ।

माइती नेपाल आवधिक गृह भैरहवाकी मायाँ क्षेत्रीले उद्धार गरिएका १६९ जनालाई आवश्यक परामर्श तथा सहयोगपछि परिवारको जिम्मा लगाइएको बताइन् । उनका अनुसार, उक्त आवमा रुपन्देहीको बेलहिया लगायत रुपन्देहीका सीमाबाट आवतजावत गर्ने १८ हजार ५६७ जनालाई सूचना तथा परामर्श प्रदान गरिएको छ । बेचविखनको जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै २ हजार ८६५ वटा यातायातका साधनमा चेकजाँच गरिएको छ ।

आवधिक गृहमा खोजतलाससम्बन्धी प्राप्त १९ वटा निवेदनमध्ये १२ जना फेला पारिएको उक्त आवधिक गृहले जनाएको छ । यस अवधिमा घरेलु हिंसासम्बन्धी ७ वटा निवेदन समेत प्राप्त भएका छन् । जोखिममा रहेका तथा सीमाबाट रोकिएका ३६ जनालाई सीमाबाटै घर फिर्ता पठाइएको छ ।

उद्धार गरिएका महिला तथा किशोरीको जातिगत विवरण हेर्दा जनजाति र दलित समुदायका महिलाको संख्या उल्लेख्य देखिएको छ । उपलब्ध विवरणअनुसार उद्धार गरिएकामध्ये बाम्हण–क्षेत्री २५, जनजाति ६५, दलित ४८, नेवार ५, मधेसी १५, मुस्लिम ५ र अन्य जातिका ६ जना रहेका छन् । शैक्षिक अवस्थातर्फ तथ्यांकले सामान्य लेखपढदेखि प्राथमिक तथा माध्यमिक तहसम्मको शिक्षा हासिल गरेका महिलामा मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढी देखाएको छ । निरक्षर १०, निम्नमाध्यमिक तह ७२, माध्यमिक तह ७८ र उच्चमाध्यमिक तह ९ जना रहेका छन् ।

मानव बेचबिखन तथा ओसारपसारको जोखिममा पर्नेमा १८ देखि २५ वर्ष उमेर समूहका महिला तथा किशोरी बढी रहेका छन् । आर्थिक अवस्था कमजोर तथा ऋणमा रहेका परिवारका सदस्यहरू जोखिममा बढी पर्ने गरेको पाइएको छ ।

पारिवारिक अवस्थालाई हेर्दा घरेलु हिंसाबाट प्रभावित, श्रीमान् तथा परिवारबाट पर्याप्त सहयोग नपाएका महिलाहरू पनि जोखिममा पर्ने गरेको पाइएको छ । महिला तथा किशोरी घरबाट बाहिरिनुको मुख्य कारणमा रोजगारीको खोजी प्रमुख रहेको माइती नेपालको निष्कर्ष छ । सामाजिक सञ्जालबाट प्रेम सम्बन्ध स्थापित भएपछि घरबाट भागेर जाने, घरायसी वातावरण बिग्रिएपछि उतै बस्ने उद्देश्यले घर छाड्ने तथा नेटवर्किङ व्यवसायको तालिम वा कामका लागि जानेहरू पनि भेटिएका छन् ।

होटल क्षेत्रमा काम गर्दै आएका कतिपय महिलालाई भारतका होटल तथा रेष्टुरेन्टमा बढी पारिश्रमिक पाइने भन्दै साथीमार्फत भारत लैजान खोजिएको पाइएको छ । यस्ता प्रलोभन र असुरक्षित यात्राका कारण महिला तथा किशोरीहरू मानव बेचबिखन तथा ओसारपसारको जोखिममा पर्ने गरेका छन् ।

पीडित तथा जोखिममा रहेका व्यक्तिहरू प्रायः एक्लाएक्लै सीमा पार गर्ने र दलालहरू पनि छुट्टै सीमा पार गरेर सम्पर्क गर्ने भएकाले उनीहरूको पहिचान गर्न कठिन हुने गरेको क्षेत्रीले बताइन् ।

‘पीडितले वास्तविकता नबताउने, बेच्न लैजाने व्यक्ति प्रायः आफन्त वा नजिकको व्यक्ति नै हुने भएकाले उनीहरूविरुद्ध उजुरी नपर्ने समस्या छ’ क्षेत्रीले भनिन्, ‘उजुरी प्रक्रियामा गएपछि पनि पीडित होस्टाइल हुने समस्या र चुनौती छ ।’ मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्था तथा सरकारी निकायबीच समेत अपेक्षित समन्वयको अभाव देखिएको उनले जनाइन् ।

महिला तथा किशोरीहरू मानव बेचबिखन तथा ओसारपसारको जोखिममा पर्नुको पछाडि गरिबी, ऋण, कमजोर शैक्षिक अवस्था, घरेलु हिंसा, पारिवारिक असहयोग र रोजगारीको खोजी प्रमुख कारणका रूपमा देखाएको छ । सामाजिक सञ्जालबाट हुने प्रेम सम्बन्ध, वैदेशिक रोजगारी वा भारतमा बढी पारिश्रमिक पाइने प्रलोभन तथा नेटवर्किङ व्यवसायका नाममा हुने आवतजावतले पनि जोखिम बढाएको पाइएको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकारी निकाय, स्थानीय तह, गैरसरकारी संस्था र समुदायबीच थप प्रभावकारी समन्वय आवश्यक रहेको औंल्याइएको छ ।