युवा र महिला सशक्तिकरणमा काम गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता


भैरहवा– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार फैज अहम्मद खाँनले आफ्नो क्षेत्रका युवा तथा महिला सशक्तिकरणका लागि प्रतिवद्ध रहेको बताएका छन् । भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलनको मर्म पनि युवालाई धेरै भन्दा धेरै अवसर दिनुपर्ने भएकाले आफू सचेत रहेको बताए । युवाका साथैं महिला सशक्तिकरणका योजनालााई प्राथमकिता दिने बताए ।
यसपटक चुनाव प्रचारका क्रममा पनि युवा, महिला र समावेशीतालाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको उनको भनाई छ । निर्वाचन प्रचारप्रसारका क्रममा विभिन्न टोलमा आयोजित भेटघाट तथा अन्तरक्रियामा बोल्दै उनले मुलुकको निर्णय तहमा युवाको अर्थपूर्ण सहभागिता बिना रूपान्तरण सम्भव नभएकाले उनीहरुलाई अवसर दिन आफू प्रतिवद्ध रहेको बताएका हुन् ।
युवालाई केवल मतदाताको रूपमा नभई नीति निर्माण र नेतृत्व विकासमा प्रत्यक्ष संलग्न गराउने स्पष्ट प्रतिबद्धता उनले जनाए । ‘देशको जनसांख्यिक संरचना युवा केन्द्रित छ, तर नीति निर्माणमा उनीहरूको पहुँच कमजोर छ,’ उनले भने, ‘अब निर्णय गर्ने ठाउँमा युवा पुग्नैपर्छ, तब मात्र विकासले गति लिन्छ ।’
महिलाको आर्थिक सशक्तिकरणका लागि महिला उद्यमशीलता प्रवर्द्धन, सहुलियत ऋण, तालिम तथा बजार पहुँच सुनिश्चित गरिने योजना उनले जनाए । महिलाको सुरक्षा र नेतृत्व विकासमा पनि विशेष कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ । ‘महिला आत्मनिर्भर भए मात्र परिवार, समाज र राष्ट्र बलियो हुन्छ,’ उनले भने, ‘यस्ता कार्यक्रम लागू गर्ने र पारदर्शिता अपनाउनेछु ।’
पिछडिएका तथा सीमान्तकृत समुदायको प्रत्यक्ष सशक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र प्रतिनिधित्वमा विशेष अवसर सिर्जना गरिने उल्लेख गर्दै खाँनले समावेशी विकास नै दिगो विकासको आधार भएको बताए । स्थानीय बासिन्दाले युवामैत्री सोंच, महिलामुखी कार्यक्रम र समावेशी दृष्टिकोणले क्षेत्रको समग्र विकासमा नयाँ ऊर्जा ल्याउने विश्वास व्यक्त गरे ।
युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता
रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड
भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन
सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान








लेखकको सम्वन्धमा