June 23, 2026, Tuesday
२०८३ असार ९ मंगलवार

एकल महिलाप्रति सामाजिक लाञ्छना र भेदभाव कायमै

Advertisement

भैरहवा–अझैपनि समाजमा एकल महिलाप्रति विभेद, सामाजिक लाञ्छना, असमानता र घरेलु हिंसा जस्ता प्रचलन बिद्यमान रहेकाले त्यसका बिरुद्ध नेपाली समाजमा व्यापक जागरुकता र एकल महिला बिच सांगठनिक एक्यबद्धताको ठूलो आवश्यकता रहेको सरोकारवालाले औंल्याएका छन् ।

Advertisement

१६ औं अन्तर्राष्ट्रिय एकल महिला दिवशका अवसरमा मंगलवार भैरहवामा आयोजित मानव अधिकारका लागि महिला एकल महिला समूह, लुम्बिनी प्रदेश स्तरिय भेलामा सहभागी सरोकारवाला तथा एकल महिला समूहका नेतृहरुले अझैपनि समाजमा एकल महिलाले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित हुन नसकेको बताए । एकल महिलाको अधिकार स्थापित तथा कार्यान्वयनका लागि आर्थिक पक्ष सहितको सशक्तिकरणकालागि आरक्षणको व्यवस्था हुनु पर्ने माग उनीहरुको छ ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य तथा मानव अधिकारका लागि महिला एकल महिला समूहकी सँस्थापक अध्यक्ष डा.लिली थापाले केही दिन अघिमात्रै केही सभ्रान्त व्यक्तिले आँफूबिरुद्ध सामाजिक सञ्जालमा प्रयोग गरिएको अपशब्द र तल्लो निष्कृष्ट शब्दले नेपाली समाजमा एकल महिलाप्रति हेर्ने दृष्टिकोंणलाई उजागर गरेको उदाहरण दिइन् । ‘सामाजिक विभेदका बिरुद्ध र एकल महिलाले सम्मानपूर्वक जिवनयापन गर्ने बातावरण तयार हुने गरि सामाजिक रुपान्तरण गर्नका लागि अझै धेरै संघर्ष गर्न बाँकी नै छ’ थापाले भनिन्, ‘एकल महिलाप्रति हुने सम्पूर्ण खालका विभेद र सामाजिक लाञ्छना भोलीका पुस्ताले बेहोर्न नपर्ने गरि त्यसका बिरुद्ध सम्पूर्ण एकल महिला संगठित हुँदै संघर्ष गर्न आवश्यक छ ।’

एकल महिला तथा उनीहरुको संघ संस्थाको कार्यालयका लागि अझैपनि भाडामा घर वा कोठा नदिने र एकल महिला देखेमा अलच्छिन लाग्छ भन्ने सामाजिक सँस्कार बिरुद्ध एकल महिलालाई संगठन मार्फत् एकताबद्ध बनाउन मानव अधिकारका लागि महिला एकल महिला समूह गठन गरि अभियान थालिएको र सातै प्रदेश सहित २८ जिल्लामा छहारीको नामबाट संगठन बिस्तार भएको जानकारी उनले दिइन् ।

समाजमा अति न्युन जनसंख्या रहेको जातीय तथा समूहलाई राज्यले आरक्षणको व्यवस्था गरेको तर मुलकको कुल महिलाको ११ प्रतिशत जनसँख्या रहेको एकल महिलालाई आरक्षणको व्यवस्था राज्यले नगरेको गुनासो उनले गरिन् ।

लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले दुई कार्यकालसम्म मुलुकको सर्बोच्च राष्ट्रपती पद सम्हालेकी बिद्यादेवी भण्डारीबाट नै एकल महिलालाई समाजमा विभेद नहुने खालको बातावरण बनाउनमा भूमिका सन्तोषजनक हुन नसकेको आरोप लगाए । जानकी मन्दिर प्रवेश गरेपछि पुर्व राष्ट्रपती भण्डारीले क्षमापूजा गरेको र तेतीबेला एकल महिलाहरुले त्यसको बिरोध गर्न नसकेको भनाइ उनको थियो ।

आयोजक सँस्थाका अनु्सार, पछिल्लो जनगणना अनुसार नेपालमा कुल एकल महिलाको सँख्या ८ लाख २६ हजार १ सय ४७ छ । जसमध्ये लुम्बिनी प्रदेशमा यो सँख्या १ लाख ४१ हजार ५ सय ८९ छ । अझैपनि ग्रामीण क्षेत्रमा बढी विभेद कायमैं रहेको, एकल महिलाको नाममा सम्पत्तिको अधिकार कार्यान्वयन कमजोर, आर्थिक परनिर्भरता, सामाजिक कलंक, मानसिक स्वास्थ्य समस्या, लैङ्गिक हिसा, अपर्याप्त सामाजिक सुरक्षा लगायतका चुनौती एकल महिलालाई बिद्यमान छन् ।

समूहकी लुम्बिनी प्रदेश अध्यक्ष अरुणा श्रेष्ठले चाडपर्व तथा धार्मिक कार्यका वेला एकल महिलाको सार्वजनिक उपस्थितीलाई सहजरुपमा समाजले स्विकार्न नसकेको र बोक्सी र समाजिक बहिष्कारबाट एकल महिला बढी प्रताडित हुनु परेको बताइन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले एकल महिलाले भोग्नु परेको उत्पीडन तथा सामाजिक ज्यादतीका घटना ठाँउ बिशेषका आधारमा पत्ता लगाइ अध्ययन गरिएमा त्यही अनुरुप एकल महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्न राज्यलाई सहज हुने बताए ।

समूहकी केन्द्रिय सदस्य एकमाँया बिश्वकर्माले समाज र घर परिवारबाट समेत विभेदमा पर्ने गरेका एकल महिलाको उत्थानका लागि प्रदेश र संघिय सरकार समेत वेवास्ता गरेको गुनासो गरिन् । ‘एकल महिला अन्य कुनै ग्रहबाट आएका होइनन्, येही समाजजका छोरीचेली हुन्’ उनले भनिन्, ‘तर एकल महिलाको उत्थानका लागि न आरक्षणको व्यवस्था छ नत प्रदेश र संघ सरकारले बजेट सहितको सशक्तिकरणका योजना र नीति नै बनाएका छन् ।’

रुपन्देहीका जिल्ला समन्वय प्रमुख उमाकान्त चपाइ, होटल एशोसियशन नेपालका केन्द्रिय सदस्य चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझी लगायतले एकल महिलाको उत्थान तथा सशक्तिकरणका वारेमा बोलेका थिए ।