June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड

Advertisement

भैरहवा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट रुपन्देही–३ का उम्मेदवार फैज अहम्मद खानले यस क्षेत्रलाई कृषि उत्पादनको मुख्य केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनाबी भेटघाट तथा जनसंवाद कार्यक्रमका क्रममा उनले नेपाल कृषि प्रधान क्षेत्र भए पनि सिंचाईंको अभावले किसानले समस्या भोगिरहेको उल्लेख गर्दै अव स्थायी रुपमा समाधान खोजिने बताए ।

Advertisement

खाँनका अनुसार खेतमा वर्षभरि पानी पुग्ने व्यवस्था नभएसम्म उत्पादनमा वृद्धि सम्भव छैन । त्यसैले सिंचाईंका लागि बोरिङ, ट्युबवेल, नहर मर्मत तथा वर्षा पानी संकलन प्रणाली विस्तारलाई पहिलो प्राथमिकतामा राखिने उनले बताए । ‘आकाशे पानीको भरमा मात्र कृषि गर्नु किसानका लागि जोखिमपूर्ण भयो,’ उनले भने, ‘किसानको सुझाव अनुसार क्षेत्र नम्बर ३ मा सिंचाईंको स्थायी संरचना निर्माण गरेर उत्पादन बढाइने छ ।’

किसानलाई समयमै गुणस्तरीय मल र उन्नत बीउ उपलब्ध गराउने प्रतिबद्धता समेत उनले जनाए । उन्नत प्रविधिको प्रयोगबाट कम लागतमा बढी उत्पादन सम्भव हुने भन्दै आधुनिक कृषि मेसिन र उपकरण सहज रूपमा उपलब्ध गराइने उनले बताए । ‘अहिले पनि धेरै किसान परम्परागत तरिकाले खेती गर्दै आएका छन्,’ उनले भने, ‘अब आधुनिक प्रविधिबाट सिंचाईं र खेती प्रणाली विकास गरिनेछ ।’

आफू पनि कृषि पेशाबाट जोडिएको र माटोको स्वभाव तथा किसानको पीडा बुझ्ने बताउँदै उनले व्यवहारिक योजनासहित मैदानमा उत्रिएको दाबी गरे । उत्पादन बढेसँगै बजार व्यवस्थापन चुनौती हुने भएकाले किसानले उचित मूल्य पाउने व्यवस्था गरिने उनले जनाए । सरकारी समर्थन मूल्य लागू गर्ने, स्थानीय संकलन केन्द्र स्थापना गर्ने र बिचौलियाको नियन्त्रण गरेर किसानलाई प्रत्यक्ष फाइदा पुर्याइने योजना उनले अघि सारेका छन् ।

त्यसैगरी परम्परागत अन्नबालीसँगै नगदे बालीतर्फ किसानलाई आकर्षित गर्ने, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउने र कृषि उत्पादनलाई बजारीकरणसँग जोड्ने रणनीति अपनाइने खाँनले बताए । चुनाब जितेपछि रुपन्देही–३, लाई आधुनिक कृषि प्रविधियुक्त, आत्मनिर्भर र किसानमैत्री क्षेत्र बनाउने उनको लक्ष्य छ । उनले किसानको समृद्धिबाटै समग्र क्षेत्रको विकास सम्भव हुने विश्वास व्यक्त गरे ।

भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन

सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान

‘भैरहवालाई अन्तर्राष्ट्रिय सहर बनाउँछु’