June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

Advertisement

भैरहवा– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार फैज अहम्मद खाँनले युवाका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफूले निर्वाचन जितेमा सीपमूलक कार्यक्रम लागू गरेर युवालाई स्वरोजगार बनाउने उनको भनाई छ ।

Advertisement

आफ्नो निर्वाचन क्षेत्रमा चुनावी भेटघाट तथा जनसंवाद कार्यक्रमलाई तिब्रता दिने क्रममा उनले रुपन्देही–३ लाई कृषि, घरेलु उद्योग र सीपमूलक तालिमको केन्द्रका रूपमा विकास गर्ने जनाएका हुन् । त्यसका लागि आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । उनका अनुसार यहाँ प्रशस्त उर्वर भूमि, श्रमशक्ति र बजार भएकाले सही नीति र लगानी भए स्वदेशमै रोजगारी दिन सकिने छ ।

कृषि क्षेत्रमा आधुनिक सिंचाई, उन्नत बीउबिजन र सहुलियत ऋणको व्यवस्था गरेर व्यावसायिक खेती बिस्तार गर्ने खाँनको योजना छ । यसले किसानको आम्दानी बढ्नुका साथै कृषि प्रशोधन उद्योग स्थापना भई थप रोजगारी सिर्जना हुने उनले बताए । धान, तरकारी, दुग्ध जन्य पदार्थ र तेलहन बालीमा आधारित उद्योग खोल्न निजी क्षेत्रलाई आकर्षित गरिने उनको भनाई छ ।

‘युवा लक्षित गरी सीप विकास तालिम केन्द्र स्थापना गरिने छ,’ उनले भने, ‘उक्त केन्द्रमा इलेक्ट्रिसियन, प्लम्बिङ, मोबाइल मर्मत, कम्प्युटर तालिम, सिलाइ–कटाइ जस्ता व्यवहारिक सीप सिकाइनेछ ।’ तालिमपछि साना उद्यम सुरुवात गर्नलाई सहुलियत ऋण र बजारसँग जोड्न भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।

उनले सार्वजनिक गरेको कार्ययोजनामा औद्योगिक क्षेत्र बिस्तार गर्दै साना तथा मझौला उद्योगका लागि जग्गा, बिजुली र कर छुट जस्ता सुविधा उपलब्ध गराउने योजना पनि अघि सारिएको छ । यसले स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादन बढ्ने र आयातमा निर्भरता घट्ने विश्वास खाँनले व्यक्त गरे ।

स्थानीय युवालाई वैदेशिक रोजगारीमा जान बाध्य नबनाई आफ्नै गाउँठाउँमा सम्मानजनक रोजगारी दिनु आफ्नो मुख्य लक्ष्य भएको उनले बताए । ‘रुपन्देही ३ लाई उत्पादन र रोजगारीको केन्द्र बनाउँछु,’ उनले भने, ‘जनतासँग परिवर्तनका लागि साथ र समर्थनको अपिल गर्दछु ।’

संघीयतालाई बलियो बनाउन नेकपाको जित आवश्यक : फैज

रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड

भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन

सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान

‘भैरहवालाई अन्तर्राष्ट्रिय सहर बनाउँछु’