June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

ट्रयाङक्वीलीटी स्पा भैरहवामा पनि, विमानस्थल चलाउन ‘विजनेश’ कै अभाव

Advertisement

भैरहवा–यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अनुनय–विनय गर्न थालेकै चार वर्ष पुग्न लाग्यो । आजकाल त विमानस्थल सञ्चालनको विषय उठान नहुने मञ्च नै छैन होला । सामान्य व्यापारको कुरा गर्दा समेत विमानस्थल चलाउनु पर्ने बहस भइहाल्छ । भैरहवाका उद्योगी, व्यवसायी र लगानीकर्ता विमानस्थल सञ्चालनका लागि दबाब दिँदा दिँदा थाकिसके । तैपनि आश मारेका छैनन ।

Advertisement

भैरहवामा पर्यटन सम्बन्धि कुनै कार्यक्रम आयोजना भयो कि विमानस्थलको प्रसङ्ग उठिहाल्छ । दुई दिन अघि सिद्धार्थ भिलासामा रहेको ट्रयाङक्वीलीटी स्पाले आयोजना गरेको वेलनेश जनचेतना कार्यक्रममा पनि विमानस्थल सञ्चालनको विषयमा चर्चा भयो । सरकारले आरोग्य पर्यटन वर्ष मनाउन लागेको उपलक्ष्यमा त्यसबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । काठमाडौं, पोखरा र मलेसियामा आफ्नो सेवाका कारण विश्वसनीयता आर्जन गर्न सफल ट्रयाङक्वीलीटी स्पा रुपन्देहीमा भने सिद्धार्थ भिलासामा रहेको छ । स्पाले आफ्नो उपस्थितीबारे जानकारी दिने र आरोग्य पर्यटनको मर्म बुझाउन कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खड्गराज पौडेलले मानव जीवनको प्रमुख उद्देश्य खुसी भएको बताए । खुसीको खोजीका लागि मानिसले यात्रा गर्ने बताए । आध्यात्मलाई भुलेर नेपालको पर्यटन अगाडि नबढ्ने उनको भनाई थियो ।

भैरहवा र पोखराका विमानस्थल सञ्चालन नगरी नहुने अवस्था रहेको उनले बताए । त्यसका लागि सरकारले तयारी गरिरहेको उनको भनाई थियो । अहिलेसम्म विमानस्थल नचल्नुको कुनै कारण नरहेको पनि उनले बताए । अहिलेसम्मका नितीगत त्रुटीले विमानस्थल सञ्चालनमा ढिलाई भएको उनले बताए । विमानस्थल चलाउन आवश्यक कार्यालय स्थापना नगरिएको उनले बताए । विमानस्थल सञ्चालनका लागि प्रवद्र्धन जरुरी रहेको उनले बताए ।

कार्यक्रमको सुरुवातमा ट्रयाङक्वीलीटी स्पाका अध्यक्ष भुवन फैंजुले १८ वर्षदेखि स्तरीय सेवा प्रदान गर्दै आएकाले ग्राहकको मन जित्न सफल भएको बताए । स्वागत गर्ने क्रममा उनले आफ्नो स्पा अनुभव समेत सुनाए । १८ वर्षअघि काठमाडौंको लाजिम्पाटबाट सेवा गरेको उनले बताए । त्यसपछि मुलुकका ख्याती प्राप्त होटलसित सहकार्यमा स्पा सञ्चालन गरिरहेको जनाए । ट्रयाङक्वीलीटी स्पामा अहिले ३ सयले रोजगारी पाएका छन् । भने ट्रयाङक्वीलीटी स्पा स्कुलबाट ३ हजार ५ सयले वेलनेश सीप हाँसिल गरिसकेका छन् ।

सिद्धार्थ हस्पिटालीटी समुहका अध्यक्ष लक्ष्मण न्यौपानेले अहिले रुपन्देही लगायत मुलुकका विभिन्न जिल्लामा होटल व्यवस्थापनमा अन्तर्राष्ट्रिय चेन समुह भित्रिरहेको जनाउँदैं अब हामीले पनि नेपाली परम्परा अनुसारको व्यवस्थापन सहित विदेश जान सक्नुपर्नेमा जोड दिए । यसैक्रममा पूर्वको इलामा वेलनेश होटल सञ्चालनको तयारीमा रहेको बताए । बोल्ने क्रममा उनले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा भैरहवाको पर्यटन थिलोथिलो बनिसकेको बताए । ‘विमानस्थल कसरी चलाउन सकिन्छ भनेर हेर्दिन पर्यो,’उनले भने, ‘काठमाडौं र पोखराले मात्र पर्यटन धान्दैन । अरु गन्तव्यलाई पनि प्राथमिकता दिनुपर्यो ।’

होटल एशोसियशन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनीमा पर्यटक बढ्न नसकेकोमा चिन्ता व्यक्त गरे । विमानस्थल र सडक राम्रो भएको ठाउँमा पर्यटक ओइरिएको जनाउँदैं भैरहवाको गौतमबुद्ध विमानस्थल सञ्चालन नहुँदा पर्यटक बढ्न नसकेको बताए । ‘भैरहवाबाट उठान नियमित छैन,’उनले भने, ‘लगानी कर्ताको अरबौं रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ । अहिले आइरहेका भारतीय पर्यटकले आवश्यकता अनुसार नगद बोकेर आउने वातावरण नरहेकाले समस्या छ ।’ कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेललाई उनले विमास्थल चलाउन आवश्यक काम समेटिएको ज्ञापनपत्र बुझाए ।

नेपाल पर्यटन बोर्डका पूर्व सीइओ दीपकराज जोशीले वेलनेश टुरिजम आजको आवश्यता भएको बताए । यसका माध्यामबाट पर्यटकको बसाइँ लम्ब्याउन सकिने उनको धारणा रहेको थियो । सहरी जनसंख्या अझैं बढ्ने भएकाले प्रकृति र आरोग्य केन्द्रित पर्यटक बढ्दैं जाने बताए । अहिले मुलुकभर ७–८ स्पामा १० हजार हाराहारी जनशक्तिले काम गरिहेको जानकारी दिए । ‘तर, हामी अरु भन्दा कसरी फरक छौं भनेर देखाउनु पर्छ,’उनले भने,‘त्यसका लागि अन्वेषण र लगानी चाहिएको छ । सीपयुक्त जनशक्तिको पनि खाँचो छ ।’

स्पा एशोसियशनका अध्यक्ष सुरेश पुरीले रोग लाग्नु भन्दा पहिल्यैं रोकथाम जरुरी रहेको बताए । त्यसका लागि व्याया, योग र ध्यान जरुरी रहेको उनको भनाई छ । वर्तमान समयमा तनाव मानव जीवनको प्रमुख अंग बनिसकेको जनाउँदैं तनाव व्यवस्थापनका ख्याल राख्नु पर्ने उनले बताए ।