June 23, 2026, Tuesday
२०८३ असार ९ मंगलवार

कस्ता छन् रूपन्देहीका प्रमुख जिल्ला अधिकारीको प्राथमिकताका विषय ?

Advertisement

भैरहवा–रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सुशासन, शान्तिसुरक्षा, मानवअधिकारको पालना, मानव बेचबिखनको रोकथाम र सेवाग्राहीप्रति जवाफदेहीता आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

Advertisement

भैरहवा लगायत् रुपन्देहीमा कार्यरत पत्रकार तथा सञ्चारकमर्मीहरुसँग छलफल तथा अन्तरक्रिया गर्दै उनले पत्रकारहरुलाईपनि जिम्मेवार र जवाफदेही भएर पत्रकारिता गर्न आग्रह गरे । सरकारी स्तरबाट प्रदान गरिने सेवाप्रवाहलाई छिटो छरितो रुपमा प्रदान गर्न सेवाग्राहीको बढी चाप हुने सरकारी कार्यालयहरुमा एकद्वार प्रणाली लागू गर्न खोजिएको उनले बताए ।

‘सेवाग्राहीको जनगुनासो र कर्मचारीको कार्यशैलीमा सुधार ल्याइ तत्काल सम्बोधन हुनसक्ने गरि दुवै पक्षबीच समन्वयात्मक भूमिकाको कामपनि प्रशासनले गर्ने छ’ अर्यालले भने, ‘कर्मचारीको सेवा प्रवाहको अवस्थालाई अध्ययन गरेर कार्य प्रणालीमा कसरी सुधार ल्याउन सकिन्छ ? भन्नेतर्फपनि लागिएको छ ।’

उनका अनुसार, जिल्ला प्रशानसन कार्यालय, मालपोत नापी लगायत्का बढी भिडभाड हुने कार्यालयहरुमा यो महिनादेखि एकद्वार प्रणाली लागू गर्ने तयारी गरिएको हो । एकद्वार प्रणाली लागू गर्न आवश्यक बजेटको व्यवस्थापन पनि गरिएको हो । तर आवश्यकता अनुरुपको जनशक्तिको भने कमी छ ।

अहिले तत्काल मनसुन सक्रिय नभएकाले सुख्खायाको कारण भूमिगत पानीको सतह घट्दै जानाले उत्पन्न खानेपानी समस्या समाधान गर्न र मनसुनका कारण बाढी, डुबान, पहरो जस्ता मौसमजन्य बिपतको सामना गर्नपनि त्यही अनुरुपको कार्ययोजना बनाइएको उनले बताए ।

‘मनसुनका कारण उत्पन्न हुने प्राकृतिक प्रकोपबाट मानविय तथा भौतिक क्षतिबाट जोगाउन त्यही अनुरुपको कार्ययोजनजा तयार पारी मनसुन पूर्व तैयारी अवस्थामा छौं’ उनले भने, ‘संभावित बाढी र डुबानका वेला उद्दार, राहत, सहजीकरण र संक्रामक रोगको नियन्त्रणका लागि मनसुनपुर्व प्रतिकार योजनालाई अद्याबधिक गरिएको छ ।’

मनसुनजन्य प्रकोपबाट प्रभावित तथा जोखिमयुक्त बस्तीहरु, जनसँख्याको आँकलन, तत्काल उद्दार गर्न सकिने रणनीतिहरु र यसका लागि आवश्यक पर्ने बजेटकोपनि व्यवस्थापन गरिएको जानकारी पनि उनले दिए । गर्मी तथा सुख्खाका कारण खानेपानीमा देखिएको समस्या समाधानका लागि तत्काल धान रोपाई कार्यलाई केही दिन सारेर खेतमा स्यालो तथा डिप बोरिङ चलाउन केही दिन सकिने अवस्थाका वारेमा छलफल गरिएको उनले जनाए ।