June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

पर्यटन प्रबर्द्धन गर्न लुम्बिनी र पोखराका पर्यटन व्यवसायी एउटै थलाेमा

Advertisement

भैरहवा–भारतीय पर्यटकको आगमनलाई नकारात्मक प्रभाव पार्ने खालको नेपालमा हुने सवै खालका गतिबिधि बिरुद्ध भैरहवा र पोखरा क्षेत्रका पर्यटन व्यवसायी एउटै स्थलोमा उभिएका छन् ।

Advertisement

भारतीय पर्यटकलाई आकर्षित गर्ने खालको नीति तथा योजना सरकारी स्तरबाट लागू हुनु पर्नेमा अझैपनि भारतीय पर्यटकलाई नेपाल आउनमा सुरक्षा जाँच लगायत विभिन्न झमेला रहेको र युट्युव लगायतका सामाजिक सञ्जालबाट भारतीय पर्यटकलाई अमानित गर्ने खालको गतिबिधि हुन थालेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

होटल संघ पोखराले आइतवार भैरहवामा आयोजना गरेको पर्यटन प्रबद्र्दन सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीले नेपालको पर्यटन क्षेत्रमा भारतीय पर्यटकको योगदान उच्च रहेको जनाउँदै भारतीय पर्यटकलाई थप आकर्षित गर्ने खालका पर्यटकीय गतिबिधि सञ्चालन गर्न माग गरे ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले भारतीय पर्यटकको बढ्दो आगमनले नेपालको पर्यटनमा ठूलो उत्साह जगाइरहेको अवस्थामा केही पर्यटन व्यवसायी तथा सामाजिक सञ्जालकर्ताले व्यवहारले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको बताए । ‘भारतीय पर्यटकले पोखरा लगायतका स्थानका तारे होटेलहरु खचाखच भरिएको नदेख्ने तर सिमित भारतीय तिर्थयात्रीले बाटोमा खाना पकाएर खाएको र शौचालय गरेको दृष्य देखाइनुले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक सन्देश दिएको छ’ सुवेदीले भने, ‘यस्ता गतिबिधि हुनु हुँदैन ।’

सिद्धार्थनगरका नगरप्रमुख इश्तियाक अहमद खाँनले धेरै भ्युअर्स बढाउने उद्येश्यले युट्युव सञ्चालकले नकारात्मक सन्देश जाने गतिबिधिलाई प्राथमिकता दिने गरेको बताए । भारतीय पर्यटकलाई नेपालमा थप आकर्षित गर्ने खालका पर्यटन प्रबद्र्दनात्मक कार्यक्रम लिएर नेपाली पर्यटन व्यवसायी भारतको विभिन्न सहरमा पुग्न खाँनले आग्रह गरे ।

भारतीय पर्यटक नेपाल आउने बातावरण नबिग्रिने गरि नेपालमा सामाजिक सञ्जालको प्रयोग र उपयुक्त खालको सरकारी नीति अवलम्बन गरिनु आवश्यक रहेको उनीहरुले औंल्याएका छन् ।
भैरहवाका पवर्यटन व्यवसायी तथा सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बिष्णु शर्माले नेपाल आउने भारतीय पर्यटकले ल्याएका सवारी सधानसंग भन्सार कर लिइसकेपछि पनि बिच बाटोमा प्रदेश सरकारहरुले बाटो प्रयोग गरेको भन्दै थप कर लिनु भारतीय पर्यटकमाथि ज्यादती भएको बताए ।

‘भारतीय पर्यटकले ल्याएको पैसालाई स्रोत देखाउन भन्ने, डिजिटल कष्टमको नाममा भारतीय पर्यटकलाई अर्को नाकाबाट फर्किदा प्रत्येक दिन जरिवाना लगाउने लगायत्का धेरै सरकारी नीति अव्यवहारिक छन्’ शर्माले भने, ‘भारतीय पर्यटकलाई असर पार्ने खालको सरकारी नीति बिरुद्ध सवै व्यवसायीले संयुक्त आवाज उठाउन जरुरी छ ।’

‘जाँउ है पोखरा’ अभियान अन्तर्गत पर्यटकीय राजधानी पोखरासँग चितवन, लुम्बिनी र पाल्पालाई जोड्ने उद्येश्यले आयोजित उक्त पर्यटन प्रबद्र्दनात्मक कार्यक्रममा नेपालमा पर्यटन क्षेत्रमा बिद्यमान समस्या र चुनौतीलाई केलाउँदै थप पर्यटकीय गन्तब्यको खोजी र प्रचारप्रशारमा जोड दिइएको छ ।

होटल एशोसियसन नेपालका केन्द्रिय सदस्य चन्द्र प्रकाश श्रेष्ठले नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई भन्सार नाका र बिच बाटोमा सुरक्षाकर्मीले अपमानजनक रुपले धरपकड गरिनाले पर्यटकीय वातावरण बिग्रिने गरेको बताए । भारतीय पर्यटकले नेपाल आउँदा नगद ल्याउँदापनि विभिन्न झमेला रहेकाले यसतर्फ सरकारले सहजिकरण गर्न जरुरी रहेको बताए ।

नेपाल एशेसियशन अफ ट्राभल्स एण्ड टुर्स लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापाले स्थलमार्ग हुँदै सवै भन्दा धेरै पर्यटक भित्रिने नेपालको बेलहिया नाकामा नेपाल पर्यटन बोर्डको स्थायी संरचना नहुनु दुखद भएको बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख मणिराम लामिछानेले लुम्बिनी, पोखरा र चितवनमा पर्यटन क्षेत्र चलायमान बनाउन त्रिकोणीय पर्यटन प्रबद्र्दनको योजना अघि सारिएको बताए । दक्षिणपूर्वी एशियामा भएको युद्धका कारणलेपनि पछिल्लो समय भारतीय पर्यटकका लागि नेपाल प्रमुख गन्तब्य स्थल बन्न पुगेको भनाए उनको थियो । लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले भैरहवाको गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थललाई भारती प्रमुख सहरसँग जोड्नु पर्ने बताए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तथा होटल व्यवसायी राजेश महोत्राले नेपालका सवै पर्यटन व्यवसायी पर्यटन प्रबद्र्दनात्मक कार्यक्रममा जुट्नु पर्ने बताए । सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले नेपालको पर्यटन प्रबद्र्दन तथा सुधार गर्नका लागि नेपाल घुमेर फर्केका पर्यटकहरुसँग फिडब्याक लिनु पर्ने बताए । सोट्टो लुमिबनीका श्रीचन्द गुप्ताले लुम्बिनीमा बिहारहरुले पर्यटक राख्नाले स्थानीय होटल व्यवसायीलाई समस्या भएको बताए ।