July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

विदेश जाने सोच त्यागेर भैरहवामा क्याफे

Advertisement

भैरहवा– रुपन्देहीको देवदहका २३ वर्षीय अनिस सुनारले भैरहवाको बसपार्कमा माछापुच्छ्रे थकाली एण्ड क्याफे सञ्चालन गरिरहेका छन् । पाँच वर्षदेखि होटल व्यवसायमा सक्रिय छन् । केही समय विभिन्न होटल र रेष्टुराँमा काम गरेका उनको सानै उमेरदेखि आफ्नै लगानीमा व्यवसाय गर्ने धोको थियो । एकातिर कामलाई अगाडि बढाइरहेका उनले पढाइलाई पनि निरन्तरता दिँदै कक्षा १२ सम्म अध्ययन पूरा गरेका छन् ।

Advertisement

परिवारमा आमा दुर्गा र दाइ छन् । उनलाई भने सानीआमा अमृता बिक बस्यालले पालनपोषण गरिन् । ‘आमाले जन्म र सानीआमाले कर्म दिनु भयो,’ उनले भने । सानी आमा अमृता पनि लामो समयदेखि होटल व्यवसायमा संलग्न छन् । दुई दशकदेखि उनले भैरहवामा ‘सुपर पोट व्यालक रिसोर्ट एण्ड लज’ सञ्चालन गर्दै आएकी छन् ।

सानी आमासँगै उनले होटल व्यवसाय बुझ्ने अवसर पाएको बताए । सुरुमा मुलुकमै केही गर्ने सोच थिएन । त्यसैले कक्षा १२ पूरा गरेपछि विदेश जाने सोच बनाएका थिए । देशको राजनीतिक अवस्था, बेरोजगारी र आर्थिक समस्याले उनलाई पनि निराश बनाएको थियो । ‘तर केही समय सानी आमाको लजमा काम गर्दै अनुभव बटुलेपछि आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरेँ,’ उनले भने ।

जेनजी आन्दोलनपछि मुलुकको राजनीतिमा ठूलो परिवर्तन आएको र अहिले स्थिर सरकार बनेको उनले बताए । ‘यो सरकारले काम गरेर देखायो भने मुलुकमै बसेर व्यवसाय गर्ने सोच छ,’ उनले भने, ‘तर आर्थिक अवस्था यस्तै कमजोर भइरह्यो र सरकारले व्यवसायमैत्री वातावरण बनाउन नसकेमा विदेश जाने विकल्प खुला रहेको छ ।’ अहिले भाडामा जग्गा लिएर होटल सञ्चालन गरिरहेका छन् । मासिक ३५ हजार रुपैयाँ घरभाडा तिर्ने गरेका छन् । कुक र वेटर गरी पाँच जनालाई रोजगारी दिएका छन् । कर्मचारीको तलब, विद्युत् र अन्य खर्च जोड्दा मासिक १ लाख २५ हजार रुपैयाँ खर्च हुने गरेको उनले बताए ।

होटलमा दैनिक एक सय भन्दा बढी ग्राहक आउने गरेका छन् । कारोबार पनि दिनअनुसार फरक हुने गरेको उनको भनाई छ । कहिले दिनमा १५ त कहिले ५० हजार रुपैयाँसम्म कारोबार हुने गरेको सुनार बताउँछन् । ‘कहिलेकाहीँ पाँच हजार रुपैयाँ पनि बिक्री हुँदैन,’ उनले भने, ‘तर नसोचेको राम्रो व्यापार हुन्छ, व्यापारमा सबैभन्दा ठूलो कुरा धैर्यता रहेछ ।’ क्याफेमा थकाली खाना विशेष परिकारको रूपमा लोकप्रिय छ ।

यहाँ सादा खाना २ सय ५० रुपैयाँ, चिकेन खाना ३५० रुपैयाँ र मटन खाना ४ सय रुपैयाँमा उपलब्ध छ । मोमो, चाउमिन, स्यान्डविच लगायत विभिन्न नास्ताका परिकार रहेको उनले बताए । होटलमा आटो, फापरको ढिँडो, माछा तथा मार्सी चामलको स्वाद लिन सकिने व्यवस्था रहेको सुनार बताउँछन् ।

भैरहवाको बसपार्क भारतसँगको सीमानाकाको नजिक भएकाले भारतीय ग्राहकको चहलपहल पनि उल्लेख्य हुने गरेको सुनार बताउँछन् । नेपाली स्वादसँगै थकाली खानाको विशेषताले विदेशी ग्राहकसमेत आकर्षित हुने गरेका छन् ।