‘भैरहवालाई अन्तर्राष्ट्रिय सहर बनाउँछु’


भैरहवा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपन्देही–३, का उम्मेदवार फैज अहम्मद खाँनले भैरहवालाई आधुनिक अन्तर्राष्ट्रिय सहर बनाउने योजना अघि सारेका छन् । सिमावर्ती सहरको सुन्दरीकरणसँगैं नयाँ पुस्ताको आकर्षणको सहर बनाउने उनको भनाई छ । अन्तर्राष्ट्रिय स्थल र हवाई नाकाका रुपमा रहेको सहरलाई मुलुकका प्रमुख पर्यटकीय स्थलको ‘गेट–वे’ बनाउने अवधारणा राखेका छन् । ‘भैरहवा लुम्बिनीको प्रवेशद्वार हो,’ उनले भने, ‘त्यसैले यसलाई विश्वकै आकर्षक स्थल बनाउन लागि पर्नेछु ।’
अहिले भैरहवामा देखिएको पार्किङ, अटोभिलेजको समस्या हल गरिने उनले बताए । यस बाहेक शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्थापनमा जोड दिने उनको योजना छ । औद्योगिक सहर भएकाले यहाँ रहेका कलकारखानालाई पनि व्यवस्थित गरेर लगानीमैत्री वातावरण तयार गरिने बताए । ५५ वर्षीय उनी २४ वर्षे राजनीतिक यात्राका क्रममा उनी यसपटक रुपन्देही–३, बाट उम्मेदवार छन् ।
२०५८ सालबाट राजनीति सुरु गरेका खाँन भैरहवामा चिरपरिचित व्यवसायी हुन् । राजनीतिका अनुभवी उनी कुशल संगठक र समाजसेवी नेताका रूपमा जिल्लामा परिचित छन् । सुरुवाती दिनमा तत्कालीन माओवादीबाट भूमिगत राजनीतिमा सक्रिय रहेका थिए । उनले माओवादी पार्टीको नगर कमिटी उपाध्यक्ष हँुदै प्रदेश कमिटी सदस्य लगायत जिम्मेवारी सम्हालेका छन् ।
समाजमा अशल कार्य गर्ने, नागरिकसँग नजिक रहने र संगठन निर्माणमा दक्ष नेताका रूपमा चिनिन्छन् । भानु माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण उनी इलेक्ट्रोनिक्स विषयमा स्नातक अध्ययन छन् । रुपन्देही ल क्याम्पसबाट कानुन पनि अध्ययन गरेका छन् । जसले उनलाई कानुनी तथा नीतिगत विषयमा थप दक्ष बनाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादीबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका थिए । उक्त निर्वाचनमा ३ हजार ४ सय ८ मत प्राप्त गरेका थिए । त्यस बेलादेखि उनले प्रत्यक्ष चुनावी प्रतिस्पर्धाको अनुभव बटुलेका जानकारी दिए ।
जिल्लाको शैक्षिक तथा सामाजिक क्षेत्रमा पनि खाँनको योगदान उल्लेखनीय छ । २०६८ सालमा भानु मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका थिए । ०७१ र २०७६ सालमा पनि पुनः त्यही जिम्मेवारीमा चयन भएका थिए । साथै, ०७१ सालमा अभिभावक संगठनको अध्यक्षको समेत भए । उनले विद्यालयमा कानुनी शिक्षा सुरु गराउने, भौतिक संरचना निर्माण गर्ने तथा प्लस टु तहको पढाइ विस्तार गरी विद्यार्थी संख्या वृद्धि गर्ने जस्ता महत्वपूर्ण काम गरेका छन् ।
स्वास्थ्य क्षेत्रतर्फ पनि उनको योगदान छ । बुटवलमा रहेको मुटु अस्पतालका संस्थापक सदस्यसमेत हुन् । लामो राजनीतिक तथा सामाजिक यात्रामा खाँनले संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र सामुदायिक सेवामा उल्लेखनीय योगदान दिएको उनी निकट बताउँछन् । अनुभव, सेवा भावना र प्रतिबद्धताका आधारमा यसपटक प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेर चुनाव जित्ने लक्ष सहित मैदानमा उत्रिएको उनले बताए ।








लेखकको सम्वन्धमा