सन्धिखर्क–गोरुसिंगे सडक ५३ वर्षदेखि जोखिमपूर्ण


अर्घाखाँची—साँघुरा घुम्ति फराकिलो बनाउन ५३ वर्षदेखि माग गरेपछि जिल्ला सदरमुकाम जोड्ने सन्धिखर्क–गोरुसिंगे सडक बिस्तार हुन सकेको छैन । जसले गर्दा सडक अन्तरगत बसेरी, डोहोटे, नरपानी, फुदवाङ, ठाडालगायत ५० ठाउँमा सडक फराकिलो हुन सकेको छैन । ती ठाउँमा रहेका साँघुरा घुम्तीले जोखिमयुक्त यात्रा गर्नुपरेको छ ।
जिल्लाको दक्षिण क्षेत्रको भेगलाई सडकले समेट्न कपिलवस्तुको गोरुसिंगे–पथ्थरकोट–ठाडा–नरपानी हुँदै सन्धिखर्क जोडिएको पूर्व जिल्ला विकास समिति सभापति पिताम्बर भुसालले बताए । २०३० सालबाट सडक खन्न सुरु गरिएको थियो । त्यतिबेला यो सडक गाउँलेले कोदालो, गैती, बेल्चाले वर्षौंसम्म खनेका थिए । बाल्यकाल छँदा घरबाट आटो, रोटी बोकेर महिनौंसम्म कोदालोले बाटो खनेको बताए । ‘भीरपाखो, जंगललाई खन्न वर्षौं लागेको थियो,’ उनले भने, ‘घरबाट खानेकुरा पकुटीमा लगेर जंगलमा पकाएर खाँदै खनेको बाटो हो । ०३० सालबाट खन्न सुरु गरिएको सडकमा ०४३ सालमा सदरमुकाम सन्धिखर्कमा पहिलो पटक ट्याक्टर आएको थियो ।’
महेन्द्र राजमार्ग अन्तरगत कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जोड्ने पुरानो सडक सन्धिखर्क–गोरुसिंगे सडक हो । पछिल्लो समय धार्मिक तीर्थस्थल सुपा देउराली मन्दिरमा दर्शनार्थी आउजाउको लागि गाडीको चाप हुँदा सन्धिखर्क–गोरुसिंगे सडक पर्यटकीय बाटोको रुपमा परिणत भएको छ । क्रमशः सडकलाई फराकिलो बनाउने, साँघुरा मोड काट्ने, सजिलो बनाउने काम पनि गाउँलेले नै गरको उनले बताए । विस्तारै पछि डोजरले सडकको काम गर्न थालेको हो । सो सडक गोरुसिंगेबाट फराकिलो पारिँदै कालोपत्र सुरु भएको थियो ।
०६० सालमा सन्धिखर्कसम्म एक लेनको सडक कालोपत्र सम्पन्न भएको उनले बताए । गाडीको चाप थपिँदै जाँदा सरकारले डबल लेनको बनाउन लागेको हो । ‘पहिला त बिहानै सन्धिखर्कबाट हिँडेको बस साँझमात्रै बुटवल पु¥याउँथ्यो,’ सन्धिखर्कका व्यापारी हुमप्रसाद श्रेष्ठले भने, ‘अहिले पाँच घण्टामा पुगिन्छ । पुरै सडक डबल लेनको भए समय थोरै लाग्छ ।’ जिल्लाको राजनीतिक नेतृत्वले सो सडकलाई डबल लेनको बनाउन हरेक वर्ष केन्द्रमा सर्वदलीय रुपमा डेलिगेसन जाने गर्छ । गुल्मीको पश्चिम क्षेत्र, दाङको देउखुरीमा लुम्बिनी प्रदेशको राजधानी भएपछि गुल्मीसहित पाल्पाका स्थानीय यही बाटो आउजाउ गर्ने भएकाले गाडीको चाप थपिएको छ ।
भारत र देशका विभिन्न ठाउँबाट सुपा देउराली दर्शनका लागि तीर्थालु गाडी लिएर भित्रिने गर्छन् । तराई र भारतबाट गर्मी छल्ने गन्तव्य नरपानी बन्नुले पनि गाडीको चाप धेरै छ । ‘अब यो सडक जिल्ला सदरमुकामलाई जोड्ने मात्रै होइन, पर्यटक आवतजावत गर्ने रुट बनेको छ,’ प्रतिनिधि सभा सदस्य हरिप्रसाद भुसालले भने, ‘सन्धिखर्क–गोरुसिंगे सडकको नाम परिवर्तन गरी सुपा देउराली मार्ग राख्ने योजनामा छु ।’ सडकलाई प्राथमिकतामा राखेर बजेट पार्न कोशिष गरेका थिए ।
२ अर्बको लागत अनुमान भएको सो सडकलाई सरकारले ५ करोड रुपैयाँ मात्रै विनियोजन गरिदिएपछि मंगलबार संसद बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भुसालले असन्तुष्टी जनाए । ‘बर्सेनि साँघुरो सडकका कारण सन्धिखर्क–गोरुसिंगे सडकमा दुर्घटना हुने गरेका कारण दुई लेनमा स्तरोन्नति गर्न बजेट माग गरेको थिए,’ उनले संसदमा भनेका थिए, ‘२ अर्ब लागत भएको सडकका लागि यो वर्ष ५ करोड मात्र विनियोजन गरिएछ । यही गतिले जाने हो भने एउटा सडक सम्पन्न गर्न ४ दशक कुनुपर्ने देखियो । यो कसरी स्वीकार हुन सक्छ ?’
सडक डिभिजन कार्यालय शिवपुरका कार्यालय प्रमुख सविन कोइरालाले आगामी आर्थिक वर्षका लागि स्ट्रक्चर र मोड फराकिलो बनाउने, मर्मतलगायत काम गर्न २० करोड रुपैयाँ बजेट माग गरिए पनि ५ करोड मात्रै परेको बताए । उनले भने, ‘त्यति रकमले के गर्ने ? ५ करोड रुपैयाँ त यो आर्थिक वर्षको दायित्व छ । बजेट नै नभएपछि सामान्य मर्मत र खाल्डाखुल्डी पुर्नलाई पनि समस्या हुने भयो ।’
सन्धिखर्क–गोरुसिंगे सडक खण्डको बसेरी जंगल, फुदवाङ, सितापुरलगायतको ठाउँमा सडक डरलाग्दो छ । खाल्डाखुल्डी भएको ठाउँ, सडकको बीच–बीचमा स्ट्रक्चरको काम, वाल लगाउने, मोड फराकिलो पार्न २० करोड रुपैयाँ बजेटको स्टिमेट गरेर माग गरे पनि नपरेपछि आगामी आर्थिक वर्ष सो सडकमा केही पनि काम नहुने उनले बताए । यो वर्ष ९ करोड रुपैयाँ बजेट परेकोमा घटेर ५ करोडमा झरेको छ ।
सन्धिखर्क–गोरुसिंगे सडकको दूरी ६८ किलोमिटर रहेको छ । जसमध्ये ३० किलोमिटर दूरीको सडक मात्रै ७ मिटर चौडाई रहेको छ । अरु दूरी ५ मिटर चौडाई छ । ‘सडक धेरै ठाउँमा जोखिमपूर्ण नै छ,’ उनले भने, ‘जिल्ला सदरमुकाम आउजाउ र धार्मिक पर्यटकीय गन्तव्य सुपा देउराली मन्दिरमा दर्शनको लागि भारत र नेपालका विभिन्न ठाउँमा भित्रिने गरेकाले गाडीको चाप अत्यधिक छ । गाडी धेरै, चौडाई कम भएकाले यात्रा सहज छैन, डरलाग्दो नै छ ।’








प्रतिकृया दिनुहोस्