June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

नेपाली सेनालाई भारतले उपलब्ध गराएको गाडी भैरहवाबाट नेपाल भित्रिए

Advertisement

भैरहवा–निर्बाचनको प्रयोजनार्थ भारत सरकारले नेपाली सेनाका लागि उपलब्ध गराएको ५० वटा गाडी आइतवार भैरहवा नाकाबाट नेपाल भित्रिएका छन् ।

Advertisement

झण्डै ३० करोड रूपैया मुल्यका ती गाडी नेपाल सरकारको निर्णय अनुरूप भन्सार सहुलियतमा नेपाल आएका हुन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरि भारतीय सेनामार्फत् नेपाली सेनालाई सहयोगार्थ उपलब्ध गराइएको हो ।

भैरहवा भन्सार कार्यालयका अनुसार, भारतको जब्बलपुरबाट ल्याइएका ती गाडी टाटा कम्पनीको २०२५ मोडेलका छन् । भन्सारमा ती गाडीको मुल्य १८ करोड ४२ लाख ८८ हजार ४ सय ७० भारतीय रूपैया उल्लेख छ । ती गाडी भन्सार राजश्व छुटमा नेपाल भित्रिएका हुन् ।

भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलले अर्थ मन्त्रालयको राजश्व छुट गर्ने निर्णय सहितको पत्र अनुरूप ती गाडी भन्सार छुटमा नेपाल भित्रिएको बताए । उनका अनुसार, ७ दशमलव ५ टन र २ दशमलव ५ टन गरी २ प्रकारका मिनीट्रक गाडी आएका हुन् । ७ दशमलव ५ टनका २० वटा र २ दशमलव ५ टनका ३० वटा गाडी छन ।

ती सवै गाडी भैरहवा भन्सार कार्यालयमा आइतवार नै भारतबाट आएका थिए । भन्सार जाचपास प्रकृयाका लागि नेपाली सेनाका उच्च अधिकारी सहितको टोली भैरहवा भन्सार कार्यालयमा पुगेका थिए । नेपाली सेनाले स्कर्टिग गरी ती गाडी भैरहवाबाट काठमाडौं लगिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नेपाल सरकार र भारत सरकार बीचको आपसी समझदारी अनुरूप निर्वाचनको प्रयोजनार्थ ती गाडी नेपाल आएको बताए ।