August 3, 2026, Monday
२०८३ श्रावण १९ मंगलवार

सुस्तामा भारतीय सुरक्षाकर्मीले भत्काइदिए नेपालतर्फको अस्थायी बाँध

Advertisement

परासी– भारतीय सशस्त्र सीमा बल (एसएसबी) पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको छ । स्थानीयले बासिन्दाले बाँध भत्काएको आरोप लागाउँदै एसएसवीको मनपरीप्रति चिन्ता व्यक्त गरेका छन् ।

Advertisement

स्थानीयवासीले वर्षायाममा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण सुरु गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएका हुन् ।

सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रवीन्द्र जैसवालले भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिएका हुन् ।

उनका अनुसार भारतीय पक्षले सुरुदेखि नै बाँध निर्माणको काम गर्न नदिएको १३२ मिटर क्षेत्रमा नेपाली पक्षले सहमतिअनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो । तर, आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोसाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उनको भनाइ छ ।

भारतीय सुरक्षाकर्मीले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा निर्माण भइरहेको १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएको स्थानीयवासीले बताएका छन्। नेपालतर्फ निर्माण भइरहेको बाँध भत्काइएपछि स्थानीयवासी प्रतिवादमा उत्रिएको जैसवालले बताए ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले वर्षाको भेल रोक्न राखिएको माटोको अस्थायी बाँधका विषयमा विवाद भएको पुष्टि गरे। उनले विवाद साम्य पार्न सशस्त्र प्रहरी बल परिचालन गरिएको र अहिले अवस्था सामान्य रहेको जनाए ।

‘सुस्ता बचाउ युवा अभियान’ का संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी दुई देशबिचको सीमा मानिएको सिमलको रूखभन्दा करिब ३ सय मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको दाबी गरे। एसएसवी बाँध भत्काउन आएपछि स्थानीयले प्रतिकार गरेका थिए । सो क्रममा तीन नेपाली स्थानीय घाइते पनि भएका छन् ।

यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माणको काम रोक्न दबाब दिएपछि काम रोकिएको थियो । सुस्ता नेपाल–भारतबिच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ।