August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

कांग्रेसमा गोप्य ‘सर्कुलर’बाट पार्टी सदस्यताको म्याद थप

Advertisement

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको समय सीमा औपचारिक निर्णय नै नगरी ‘सर्कुलर’ मार्फत १० दिन थप गरेको पाइएको छ । सदस्यता व्यवस्थापन समितिको बैठकले साउन १४ गतेसम्म म्याद थपेको थियो । त्यसपछि बैठक बसेर समय थप गरिएको छैन । तर, साउन १४ गते नै अर्को सर्कुलर जारी गर्दै साउन २४ गतेसम्म केन्द्रमा पठाउन सर्कुलर गरिएको हो ।

Advertisement

साउन ११ गते मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति जारी गरेर ‘वडा सभापतिले अनलाइन प्रणालीमा रहेका निवेदनहरू अनुमोदन गर्ने अन्तिम मिति २०८३ साउन १४ गतेसम्म तोकिएको’ उल्लेख छ । विज्ञप्तिमा साउन १५ गतेभित्र दुर्गम जिल्लाको विवरण केन्द्रमा आइपुग्नुपर्ने र त्यसपछि नयाँ सदस्यताको काम सकिने लेखिएको छ ।

त्यसपछि सदस्यता व्यवस्थापन समितिको बैठक बसेर औपचारिक रूपमा म्याद थपिएको छैन । तर, साउन १४ गते म्याद सकिने दिन नै महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको हस्ताक्षर गरेर जिल्ला र क्षेत्रीय कार्यसमितिलाई पठाइएको अर्को गोप्य सर्कुलरमा साउन २४ सम्मको म्याद दिइएको छ।

साउन १४ गतेको पत्रमा सदस्यता वितरण र अद्यावधिकमा देखिएका समस्या समाधानका लागि भन्दै साउन २४ गतेभित्र विवरण पठाउन निर्देशन दिइएको छ । पत्रमा भनिएको छ, ‘सदस्यता वितरण र अद्यावधिक सम्बन्धी कुनै समस्या भएमा समितिको संस्थागत निर्णय गरी २०८३ साउन २४ गतेभित्र सम्बन्धित केन्द्रीय प्रतिनिधिमार्फत वा सिधै केन्द्रमा पठाउनुहुन निर्देशन गरिन्छ।’

साउन ११ को विज्ञप्तिमा ५ बुँदे निर्णय सार्वजनिक गरिएको थियो, तर साउन १४ को पत्रमा कुनै नयाँ बैठक वा निर्णयको मिति उल्लेख छैन । बरु, ‘सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा पठाउनुहुन’ भन्ने निर्देशन मात्र दिइएको छ।

प्रणालीमा प्रविष्टि भइसकेका सदस्यको नाम सच्याउने, पुराना सदस्य छुटेकालाई समेट्ने र प्राविधिक कारणले नयाँ बनेकालाई व्यवस्थापन गर्ने बहानामा १० दिनको समय दिइएको हो।