August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

बेलहिया नाका हुँदै स्वदेशी उत्पादन निर्यात ह्वात्तै बढ्यो

Advertisement

भैरहवा– रुपन्देहीको बेलहिया नाका हुँदै भारत तथा तेस्रो मुलुक निकासी बढेको छ । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२–२०८३ मा अघिल्लो वर्षको तुलनामा ६६.९६ प्रतिशतले निर्यात बृद्धि भएको हो ।

Advertisement

गत वर्ष ३४ अर्ब ९८ करोड ३५ लाख मूल्यको स्वदेशी वस्तु निर्यात भएको हो । अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा २० अर्ब ९५ करोड २६ लाख मूल्यको स्वदेशी उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको थियो । भन्सारका सूचना अधिकृत उद्धव ढुंगानाले पछिल्लो वर्ष अघिल्लो वर्ष भन्दा करिब १४ अर्ब रुपैयाँ मूल्य बढीको स्वदेशी वस्तु निर्यात भएको जनाए ।

‘विगतका वर्षहरुमा भन्दा गत वर्ष बैदेशिक व्यापारमा उल्लेख बृद्धि भएको छ । यसले स्वदेशी उत्दानले बाह्य मुलुकमा राम्रो स्थान पाइरहेको सहजै अनुमान गर्न सकिन्छ’, उनले भने । भन्सारको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल ६ करोड ५२ लाख ७८ हजार ६८८ किलो १३ अर्ब ७३ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस्तै, सेन्थेटिक यार्न १ करोड ५८ लाख ८० हजार किलो ३ अर्ब ५९ करोड १ लाख ५ हजार, आल्मोनियमका तार ६८ लाख ७३ हजार ४८५ किलो ३ अर्ब ५७ करोड ३४ लाख ७८ हजार, सिमेन्ट ४ लाख ५८ हजार ३८८ मेट्रिक टन १ अर्ब ५१ करोड ५१ लाख २८ हजार रुपैयाँ बराबरको निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

यस्तै, चाउचाउ, नुडल्स र पास्ता ५८ लाख ७ हजार ३६२ किलो १ अर्ब ३० करोड १८ लाख १५ हजार, खयर कत्था १० लाख ९२ हजार ६४३ किलो १ अर्ब ५ करोड ९० लाख ९८ हजार, फलाम र स्टीलको भाँडाकुँडा ४७ लाख २ हजार २९३ किलो १ अर्ब १ करोड ५५ लाख ९४ हजार, सूर्यमुखीको प्रशोधित तेल ३९ लाख ५२ हजार ७५४ लिटर ८१ करोड ३९ लाख ५६ हजार रुपैयाँको निर्यात भएको छ । यसैगरी प्लाइउड ८३ हजार ४६२ घनमिटर ८० करोड १२ लाख ४६ हजार र चोकर, भुस १ करोड २८ लाख १८ हजार ८ सय किलो ७९ करोड ७७ लाख ९२ हजार रुपैयाँको निर्यात भएको भन्सार तथ्यांक छ ।

बेलहिया नाका हुँदै निकासी हुने अन्य सामानहरुमा क्लिन्कर, विभिन्न वनस्पति उत्पादन, अदुवा, सुठोलगायत जडिबुटी पनि छन् । त्यसैगरी पिभिसी फिटिङ पाइप, अल्कीड रेजीन र अन्य पिभिसी रेजीन पनि निर्यात हुने गरेको छ ।

व्यवसायीहरले निर्यात बढ्नु सकारात्मक भए पनि सरकारले सहुलियत लगायत केही नीतिगत कुराहरुमा सुधार गर्न जरुरी रहेको बताउँछन् । भारतमा तेल निर्यात गर्दै आएको शनसाइन फूड्स प्रालिका प्रबन्ध निर्देशक मोहन बनियाले बेलाबेला भारतीय पक्षबाट सहजीकरण समस्या हुने गरेको जनाउँदै सरकारले पहल गरे सहजता आउने बताए । ‘कतिपटक तेल बोकेर भारत गएका हाम्रा गाडी लामो समय रोकिएका छन्, यसले थप चार्ज तिर्नुपरेको छ’, उनले भने, ‘गुणस्तर कायम भइसकेको सामान नरोकिए हुन्थ्यो भन्ने हो । यसमा सरकारले पहल गर्नुपर्छ ।’ निर्यात प्रबद्र्धनका लागि सरकारले निजी क्षेत्रको मनोबल थप उकासी निर्यातजन्य उत्पादनमा जोड दिनुपर्ने बनियाले बताए ।

भन्सारको तथ्यांक अनुसार पछिल्ला वर्षहरुमा निरन्तर निर्यातमा सुधार हुँदै गएको छ । वर्सेनि बढीरहेको ब्यापार घाटालाई कम गर्न निर्यातमा भइरहेको सुधारलाई निकै साकारात्मक मान्नु पर्ने चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्का बताउँछन् । ‘यद्यपि यसलाई अझ बढाउन निजी र सरकारी निकायको साझेदारी र नीतिगत सुधार जरुरी छ’, उनले भने । रोक्काले कच्चा पदार्थ आयात गरेर भारतमै निर्यात गर्दा मुनाफा नहुने जनाउँदै स्वदेशकै कच्चा पदार्थ र तयारी बस्तु निर्यातमा सरकारले जोड दिनुपर्ने बताउँछन् ।