August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

बर्दियाका नाकामा कडा सुरक्षा जाँच

Advertisement

बर्दिया– लुम्बिनी प्रदेशको बर्दियामा सीमा नाकामा सुरक्षा जाँच कडा तुल्याइएको छ । प्रशासनले नेपाल–भारत आउजाउ गर्दा आधार कार्डलाई मात्र परिचयपत्रका रूपमा मान्यता नदिने भएको छ । नक्कली आधार कार्ड बनाएर बंगलादेशी, रोहिंगिया लगायत तेस्रो मुलुकका नागरिकलाई अवैध रूपमा नेपाल प्रवेश गराउने प्रयास बढेको भन्दै नेपाल र भारत सुरक्षा बैठकमा रासन कार्ड वा बैंकिङ कागजात अनिवार्य गर्ने सहमती भएको हो ।

Advertisement

गुलरियास्थित सशस्त्र प्रहरी बल नम्बर ३१ गणमा भारतको बहराइचस्थित एसएसबीका सुरक्षा अधिकारीसँग भएको काउन्टर पार्ट बैठकमा यस्तो निष्कर्ष निकालिएको हो । बैठकमा भारतमा नक्कली आधार कार्ड बनाई तेस्रो मुलुकका नागरिकलाई सीमाबाट घुसपैठ गराउने गिरोह सक्रिय रहेकाले सीमा निगरानी कडा बनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीबीच सहमति भएको छ । सीमा नाकामा प्रवेश गर्ने क्रममा आधार कार्ड नक्कली हुन सक्ने आशंका लागे रासन कार्ड, बैंकिङसम्बन्धी कागजातलगायत अन्य परिचयपत्रसमेत जाँच गरिने सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार महतले बताए ।

बर्दियाको भारतसँग ८३ किलोमिटर खुला सीमा जोडिएको छ । त्यसमध्ये करिब ८० प्रतिशत क्षेत्र भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष र घना जंगलले ढाकिएको छ । ‘सीमा नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ,’ महतले भने, ‘चेकजाँच कडा बनाएर अवैध घुसपैठ रोक्ने प्रयास भइरहेको छ ।’ सुरक्षाका दृष्टिले सबैभन्दा जोखिमपूर्ण मानिएको बर्दियाको गणेशपुर र भारतको लौकाही नाकामा विशेष निगरानी राखिएको उनले बताए । दशगजामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भारतीय एसएसबीले नियमित संयुक्त गस्ती गर्दै आएका छन् । साथै, सीमा नाकाबाट आउजाउ गर्ने व्यक्तिको अभिलेख पनि राख्ने गरिएको छ ।