August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

लुम्बिनी प्रदेशमा ‘वेलनेस पर्यटन’को प्रचुर सम्भावना

Advertisement

भैरहवा– प्राकृतिक सुन्दरता, आध्यात्मिक विरासत र परम्परागत उपचार पद्धतिले भरिपूर्ण नेपालमा ‘वेलनेस पर्यटन’को सम्भावना बलियो बन्दै गएको छ । विशेषगरी भैरहवा र बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आध्यात्मिक र आधुनिक वेलनेस सेवालाई जोड्न सके नेपाल विश्वकै प्रमुख स्वास्थ्य पर्यटन गन्तव्य बन्न सक्ने सरोकारवालाहरु बताउँछन् ।

Advertisement

बुद्ध जन्मस्थल लुम्बिनी आफैंमा ध्यान र मानसिक शान्तिको विश्वव्यापी केन्द्र हो । नजिकै रहेको नेपाल–भारत सीमा नाका र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले गर्दा यहाँ विदेशी पर्यटकको सीधा पहुँच सहज छ । लुम्बिनीको आध्यात्मिक वातावरणमा योग, विपश्यना ध्यान, आयुर्वेद, ध्वनि उपचार र स्पा थेरापीजस्ता सेवाहरु एकीकृत गर्न सके पर्यटकको बसाइँ अवधि र खर्च दुवै बढाउन सकिन्छ ।

‘रुपन्देहीको बेलहिया नाकाबाट स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिन्छन् । हवाई पर्यटकका लागि गौतमबुद्ध विमानस्थलले अन्तर्राष्ट्रिय ढोका खोलेको छ’, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लीलामणि शर्मा भन्छन्, ‘पहिला हामीले वेलनेस वातावरण बनाउनुपर्छ । विमानस्थलबाट नियमित उडान भर्न जरुरी छ ।’ हरेक हृष्टिकोषबाट बुद्ध जन्मभूमिसँगै प्रदेश नै आरोग्य पर्यटनका लागि महत्वपूर्ण हुनसक्ने सरोकारवाला बताउँछन् ।

शर्माले अहिले अफ सिजनमा पनि भारतीय लक्जरी पर्यटक लुम्बिनी क्षेत्रमा आइरहेको जनाउँदै उनीहरुलाई भुलाउन र बसाईं अवधि बढाउन वेलनेस प्रभावकराी हुनसक्ने जनाए । नेपाल सरकारले पनि आरोग्य पर्यटनका लागि तयारी थालिसकेको छ । गत हप्ता मात्रै लुम्बिनीमा पहिलोपटक आरोग्य रणनीतिबारे सरोकारवालाको सुझाव संकलन गरिएको थियो । व्यवसायीले लामो समयदेखि लुम्बिनीमा आरोग्य पर्यटन विकासका लागि पहल गरिरहेका छन् ।

‘वेलनेसले व्यक्तिको शारीरिक, मानसिक र भावनात्मक विकास मात्रै होइन् रोजगारी सिर्जना र आर्थिक चलायमान बनाउन समेत टेवा पुर्याउँछ’, लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतम भन्छन्, ‘लुम्बिनी वेलनेसका लागि अथाहा सम्भावना बोकेको ठाउँ हो । यहाँ हिमाल छ, पहाड छ र तराईको मनोरम दृश्य पनि छ ।’ उनले लुम्बिनी रेसुंगा, पाणिनी तपोभूमि, जलजला, स्वर्गद्वारी जस्ता महत्वपूर्ण स्थललाई समेटेर वेलनेस टुरिजम विकासमा लाग्नु पर्ने जनाए ।

‘सबै हिसाबले उत्कृष्ट भएकै कारण लुम्बिनी प्रदेश अन्य पर्यटकीय गतिविधिसँगै आरोग्यलाई पनि महत्वपूर्ण छ’, उनले भने । आरोग्य पर्यटनका लागि सरकारले पनि उच्च प्राथमिकता राखेको संस्कृति, पर्यटन तथा नागरि उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरे बताउँछिन् ।

सरकारले आरोग्य पर्यटन हबका रुपमा काठमाडौं, लुम्बिनी, पोखरा, अन्नपूर्ण, विभिन्न हिल स्टेशन र हिमालय क्षेत्रलाई छनोट गरेको छ । सरकारले राष्ट्रिय आरोग्य पर्यटन रणनीति समेत लागू गरेको छ । यो सम्भावनालाई साकार पार्न सरकार र निजी क्षेत्रको सहकार्य जरुरी देखिन्छ । यद्यपी सरकार आरोग्य पर्यटनको विकासमा लागिरहँदा योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका जनशक्तिलाई तालिम र लाइसेन्सको व्यवस्था गरी सेवाको गुणस्तर बढाउन भने खासै ध्यान दिइएको छैन ।

हिमाल, पहाड र तराईको अनुपम मानिने नेपालमा आरोग्य पर्यटनको विकास मात्रै गर्न सके पर्यटक दोब्बर आउन सक्छन् । यसका लागि लुम्बिनीलाई केन्द्रमा राख्नुपर्ने होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् । ‘हामी भारतको नजिक छौं । भारतीयहरु स्पाका लागि नेपाल मात्रै होइन, थाइल्याण्ड पनि पुग्छन्’, उनले भने, ‘व्यवस्थित गर्न सके वेलनेसका लागि धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’

सरकारले आरोग्य रणनीति बनाएर काम गरिरहँदा निजी क्षेत्रले परम्परागत होटल व्यवसायबाट माथि उठेर लक्जरी रिसोर्टहरुमा आयुर्वेदिक पञ्चकर्म, प्राकृतिक चिकित्सा र ध्यान कक्षहरु निर्माणमा लगानी बढाउनुपर्ने देखिन्छ । धार्मिक र साहसिक पर्यटनमा आउने पर्यटकलाई ‘वेलनेस प्याकेज’ अन्तर्गत समेटेर ट्रेकिङ वा लुम्बिनी भ्रमणपछि शरीर र मनको पुनर्ताजगीका लागि स्पा तथा योग सत्रहरुमा जोड्ने योजना बनाउनुपर्छ ।

‘हामीले धेरै क्षेत्रलाई एकैपटक समेटेर हुँदैन । वेलनेस समेट्ने हो भने यसका लागि के–के चाहिन्छ । त्यसमा फोकस गरेर काम गर्नुपर्छ’, मन्त्रालयकी सहसचिव घिमिरेले भनिन्, ‘सरकारले पर्यटन व्यवसायीहरुसँग साझेदारी गरेर काम गर्छ ।’

पर्यटकलाई स्वास्थ्य र कल्याणसँग जोड्न सके नेपालको आर्थिक समृद्धिमा नयाँ आयाम थपिने निश्चित छ नै सरकारी आरोग्य पर्यटन रणनीति पनि सफल हुनेछ । यति मात्रै होइन् यसबाट पर्यटकको बसाईं बढ्दा र थप पर्यटक आउँदा निजी क्षेत्र झन लाभान्वित हुने देखिन्छ । यसका लागि योजनाबद्ध काम गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

लुम्बिनी प्रदेश हिलस्टेसनदेखि पुरातात्विक र ऐतिहासिक सम्पदाले भरिपूर्ण छ । बाँके–बर्दिया राष्ट्रिय निकुञ्जदेखि रानीमहल यही छन् । सिस्ने हिमाल र ढोरपाटन क्षेत्र यही प्रदेशमा पर्छ । लुम्बिनीसँगै जोडेर नेपालका अन्य गन्तव्यहरु पनि विकास गरेर वेलनेस पर्यटक विकासले धेरै लाभ उठाउन सकिन्छ ।