लुम्बिनीलाई आरोग्य पर्यटनको हब बनाउने तयारी


भैरहवा–बुद्ध जन्मस्थल लुम्बिनीलाई आरोग्य पर्यटनको हबका रुपमा विकास गर्न तयारी सुरु गरिएको छ । आरोग्य पर्यटन रणनीति अनुसार मुलुकका पाँच आरोग्य गन्तव्यमध्ये एक लुम्बिनीपनि छ । लुम्बिनीमा कसरी आरोग्य पर्यटनकालागि उपयुक्त वातावरण बनाउन सकिन्छ भनेर पर्यटन तथा संस्कृति मन्त्रालयले तयारी थालेको छ ।
लुम्बिनीमा शुक्रबार पहिलोपटक आरोग्य रणनीतिबारे जानकारी र आवश्यक तयारीकालागि सरोकारवालाको सुझाव संकलन गरिएको छ । छलफलका क्रममा आरोग्य पर्यटनका लागि आवश्यक प्राथमिकता र सम्भावनाबारे बहस गरिएको थियो । मन्त्रालयले पाँच वर्षभित्र लुम्बिनीमा आरोग्य ग्राम तयार गर्नेगरि काम सुरुवात गरेको छ । सरकारले आरोग्य पर्यटन हबका रुपमा काठमाण्डौं, लुम्बिनी, पोखरा, अन्नपूर्ण, विभिन्न हिल स्टेशन र हिमालय क्षेत्रलाई छनौट गरेको छ । आरोग्य पर्यटन सम्बन्धि पहिलो छलफल लुम्बिनीमा गरिएको हो ।
छलफलमा सहभागीले लुम्बिनीलाई उत्कृष्ट आरोग्य गन्तव्य रुपमा विकास गर्न सकिने बताएका छन् । लुम्बिनीमा अध्यात्मिक वातावरण निर्माण गरेर आरोग्य पर्यटनलाई अगाडि बढाउनुपर्ने कार्यक्रममा सहभागीले जोड दिएका थिए । नेपाल पर्यटन बोर्ड अन्तर्गत एसटीपी परियोजनाको सहकार्यमा लुम्बिनी होटल संघले आयोजना गरेको कार्यक्रममा पर्यटन विज्ञ तथा सरोकारवालाहरुले अरोग्य पर्यटनको वातावरण निर्माण गर्न सरकार, निजी क्षेत्र र स्थानीयको सरोकारवालको सामुहिक पहल आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेले लुम्बिनीलाई अध्यात्मिक आरोग्य हब बनाउनेगरि मन्त्रालय अघि बढेको जानकारी दिइन् । ‘मन्त्रालयले विभिन्न आरोग्य हब बनाउने परिकल्ना गरेको छ, त्यसमध्ये लुम्बिनी पनि पर्छ,’उनले भनिन, ‘बुद्धधर्मप्रति आस्था प्रतिविम्बित हुने गरि हामीले लुम्बिनीको विकास गर्नुपर्छ, भैरहवाबाट पश्चिम लागेपछि गौतम बुद्ध जन्मेको ठाउँमा जाँदैछु भन्ने मनमा भाव पैदा हुनुपर्छ ।’ त्यसकालागि लुम्बिनी विकास कोष, प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्रले मिलेर सबैलाई मान्य हुनेगरि लुम्बिनीमा आरोग्य पर्यटनको विकास गर्नुपर्ने उनले बताइन ।
लुम्बिनी विकास कोषको नयाँ ऐन बनाउन लागिएको जनाउँदैं उनले त्यसमा पनि आरोग्य पर्यटनबारे आवश्यक रणनीति समावेश हुने उनले बताइन । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले अध्यात्मीक वातावरण बनाउन आफूहरुले प्रयास गरिरहेको बताइन् । त्यसकालागि लुम्बिनी विकास कोष र संघीय सरकारकोपनि सहयोग गर्नुपर्ने धारणा उनले व्यक्त गरिन् । लुम्बिनी पर्यटन विकास परिषदकी कार्यकारी निर्देशक सारदा बस्यालले आरोग्य पर्यटन हबकालागि सबैको सहकार्यमा ठोस कार्ययोजना बनाउनुपर्नेमा जोड दिइन ।
पर्यटन बोर्डका अनुसन्धान तथा योजना निर्देशक लक्ष्मण गौतमले अरोग्य पर्यटनका विभिन्न पक्षबारे जानकारी दिँदै लुम्बिनी उत्कृष्ट हब बनाउन सकिने बताए । बोर्ड अन्तर्गत एसटीपी परियोजना प्रमुख धर्म दवाडीले लुम्बिनीलाई वेलनेश पर्यटनसँग जोडेर कार्यक्रम ल्याइएको बताए । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयकी अधिकृत करुणा आचार्यले मन्त्रालयले आरोग्य पर्यटनको रणनीति बनाएकाले त्यसको लागि सुझाब संकलन गर्न लुम्बिनी आएको जानकारी दिइन् ।
लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भिक्षु मेत्तेयले बुद्ध जन्मस्थलमा अध्यात्मिक वातावरण निर्माण गर्न सके ठूलो संख्यामा बौद्धमार्गी पर्यटक आकर्षित गर्न सकिने उल्लेख गरे। कोषका बरिष्ठ अधिकृत डा.हरिध्वज राइले पर्यटक भएर यात्रा गर्दा शारिरीक र मानसिक रुपमा तन्दुरुस्त भयो भने आरोग्य पर्यटनको अर्थ हुने उल्लेख गरे । वरिष्ठ पुरातत्वविद बसन्त विडारीले आरोग्य पर्यटनको वातावरण प्रवेशविन्दु सिमानाका देखिनै हुनुपर्ने धारणा राखे । सञ्चारकर्मी दिपेन्द्र बडुवालले लुम्बिनी विकास कोषको व्यवस्थापन स्वस्थ भएमा मात्र आरोग्य पर्यटनको वातावरण तयार हुने बताए ।
लुम्बिनी होटल संघका अध्यक्ष लिलामणी शर्मा, सिद्धार्थ होटल एशोसिएनका अध्यक्ष सीपी श्रेष्ठ, नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापा, पर्यटन व्यवसायी पूरुषोत्तम अर्याल, किशोर जाशी लगायतले लुम्बिनीलाई आरोग्य पर्यटन हबको रुपमा विकास गर्न निजी क्षेत्रलेपनि सहयोग गर्न तयार रहेको बताएका थिए । कार्यक्रममा सहभागीले लुम्बिनी परिसरको वातावरण अध्यात्मिक हुनुपर्ने, बाहिरको बजार क्षेत्र सुन्दर हुनुपर्ने, पर्यटकलाई दुख दिने प्रवृत्ती हुन नहुने, लुम्बिनीको अध्यात्मिकसँगै प्राकृतिक रुपमा पनि मनोरम हुनुपर्ने धारणा राखेका थिए ।








प्रतिकृया दिनुहोस्