August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

लुुम्बिनी प्रदेशका सीमानाका क्षेत्रमा उच्च सुरक्षा सतर्कता

Advertisement

भैरहवा–पछिल्ला दिनमा लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लाका सीमानाकाहरुमा उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Advertisement

सुनसरी, सिराहा लगायतका जिल्लामा हालै भएका सामाजिक तथा साम्प्रदायिक सद्भाव बिथोलिने खालका तनावका घटना दोहोरिन नदिन र खुला सीमाको फाइदा उठाउँदै तेस्रो मुलुकका नागरिकको अवैध घुसपैठ रोक्न सुरक्षा व्यवस्था उच्च पारिएको छ ।

भारतसँग सीमा जोडिएका पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र बर्दिया जिल्लाका मुख्य तथा सहायक नाकाहरूमा दुवै देशका सुरक्षा निकायले संयुक्त सुरक्षा गस्ती र कडाइका साथ चेकजाँच सुरु गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण रुपन्देहीका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले नियमित चेकजाँचभन्दा अहिले विशेष कडाइ गरिएको जनाए । सीमाबाट आउजाउ गर्ने यात्रुको अभिलेख राख्ने काम भइरहेको उनले बताए । ‘सीमा नाकामा र खुल्ला सीमानाको कारण हुन सक्ने अवाञ्छित बतिबिधिप्रति हामी पूर्ण सजग र सचेत छौं’ पब्लिककुरासँग बोहराले भने, ‘सीमानाकाहरुमा गरिने चेकजाँचका क्रममा सर्वसाधारणलाई अनावश्यक हैरानी हुन नपाउनेप्रतिपनि सजग छौं ।’

बेलहिया, महेशपुर, लुम्बिनी, कृष्णनगर र रुपेडिहा लगायतका साना–ठूला नाकाहरूमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त रूपमा सुरक्षा सतर्कता बढाएका छन् । बाँकेको नेपाल–भारत सीमामा तालिमप्राप्त कुकुरको प्रयोग गरी जाँचबुझ तीव्र पारिएको छ ।

समाचार स्रोतका अनुसार, आउँदो आगामी अगस्ट १५ भारतको स्वतन्त्रता दिवस लाई समेत दृष्टिगत गरी सिमाक्षेत्रमा सुरक्षा थप सुदृढ बनाइएको हो ।

भारत रुपैडिहा थानाका प्रमुख प्रभारी निरीक्षक हरेन्द्र कुमार मिश्र र बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार सीमावर्ती दुवै क्षेत्रमा शान्ति–सुरक्षा र साम्प्रदायिक सद्भाव खलबल्याउने खालका गतिविधि हुन नदिन दुवै देशका अधिकारीहरूबीच निरन्तर समन्वय र सहकार्य भइरहेको छ ।

खुला सीमाबाट हुनसक्ने गैरकानुनी गतिविधि नियन्त्रण गर्न नाका प्रयोग गर्ने व्यक्तिहरूको लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ । भारततर्फ एसएसबीले पनि परिचयपत्र जाँचमा कडाइ गरेपछि अनावश्यक रूपमा आउजाउ गर्नेहरूको सँख्यामा कमी आएको नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ बताउँछन् ।

यसैबिच बर्दियामा आयोजित नेपाल–भारत काउन्टर पार्ट बैठकमा तेस्रो मुलुकका नागरिकहरूले नक्कली भारतीय आधार कार्ड बनाएर नेपाल प्रवेश गर्न सक्ने जोखिम औँल्याइएको छ । बर्दियाको गुलरियास्थित सशस्त्र प्रहरी बल नम्बर ३१ गणमा भारतको बहराइचस्थित एसएसबीका सुरक्षा अधिकारीहरूसँग भएको बैठकमा शंकास्पद व्यक्तिको हकमा आधार कार्डबाहेक रासन कार्ड वा बैंकिङसम्बन्धी कागजातसमेत जाँच गर्ने सहमति भएको छ ।

बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार महतका अनुसार ८३ किलोमिटर खुला सीमा रहेको बर्दियामा मुख्य गरी घना जंगल र वन्यजन्तु आरक्षसँग जोडिएको गणेशपुर र भारतको लौकाही नाकामा विशेष निगरानी बढाइएको छ । दशगजा क्षेत्रमा नियमित संयुक्त गस्ती गर्नुका साथै सीमा पार गर्ने प्रत्येक व्यक्तिको पूर्ण विवरण राख्न सुरु गरिएको उनले जनाए ।