दाङका विभिन्न वनमा लुकाइएका ५५ नाल बन्दुक नियन्त्रणमा


दाङ–दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाएर राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लामा अवैध हतियार नियन्त्रण र शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सञ्चालित विशेष अभियानका क्रममा उक्त हतियारहरू बरामद भएका हुन् । यासकालागि विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले गत साउन १६ देखि १९ गतेसम्म वन क्षेत्रहरूमा खोजतलास अभियान चलाएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एक्क बहादुर नेपालीका अनुसार प्रहरीका छुट्टाछुट्टै टोलीले विभिन्न स्थानीय तहका जङ्गलबाट यी बन्दुक फेला पारेका बताए । उनका अनुसार, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बङ्गलाचुलीका वडा नं. ५, ६ र ८ का सामुदायिक वनबाट सबैभन्दा बढी ३० नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी रामपुरको टोलीले सोही गाउँपालिकाका वडा नं. ४ र ८ का वन क्षेत्रबाट थप १३ नाल बन्दुक फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले लमही–९ स्थित बिरुवा सामुदायिक वनबाट ७ नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी हाँसिपुरको टोलीले बबईका विभिन्न सामुदायिक वन क्षेत्रमा लुकाइएका ५ नाल हतियार नियन्त्रणमा लिएको छ ।
बरामद गरिएका सबै हतियारहरूलाई कानुनी प्रक्रियामा ल्याएर थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक नेपालीले बताएका छन् । जिल्लामा शान्ति सुरक्षा कायम राख्न र अवैध हतियारको प्रयोग रोक्न प्रहरीले यस्ता खोजतलास अभियानलाई अझै तीव्रताका साथ निरन्तरता दिने उनले जनाए ।








प्रतिकृया दिनुहोस्