August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अदालत र प्रहरीमा पहुँच देखाएर लाखौं ठगी गर्ने पक्राउ

Advertisement

कपिलवस्तु–अदालत र प्रहरीसम्म आफ्नो पहुँच रहेको दाबी गर्दै मुद्दा मिलाइदिने बहानामा ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ बालानगर निवासी ३६ वर्षीय जग्गु तेली रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय बहादुरगञ्जको संयुक्त टोलीले शिवराज नगरपालिका–७ रुपपुर क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टले तेलीले बाणगंगा नगरपालिका–४ गजेहडा निवासी ६५ वर्षीय अब्दुल मोविन मुसलमानलाई उनका छोरा अकबर अलीको मुद्दा मिलाएर कारागारबाट छुटाइदिने प्रलोभन देखाइ विभिन्न मितिमा पटक–पटक गरी उक्त रकम ठगी गरेको बताए ।

सवारी ज्यानसम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका अकबरलाई सोही मुद्धामा सँगै कारागारमा रहेका तेलीले प्रभावमा परेका हुन् । तेली २०८२ जेठ १ गते जेलबाट छुटेका थिए । जवकी, अकबर डेढ महिना अघि छुटेका थिए ।

उनी जेलभित्रै छँदा विभिन्न सरकारी निकायमा आफ्नो ठूलो चिनजान र प्रभाव रहेको दाबी गर्दै तेलीले पीडितलाई विश्वासमा पारेका थिए । जेलबाट छुटेपछि उनले अकबरका बुवालाई भेटेर छोरालाई छुटाइदिने भन्दै रकम असुल गरेका थिए । यद्यपि, अकबर अली डेढ महिनाअघि नै जेलबाट छुटेका थिए ।

आफू ठगिएको थाहा पाएपछि पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले तेलीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले पक्राउ परेका तेलीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जनाए ।