दाङ-३ : युवा, पूर्वमन्त्रीदेखि पूर्वनगर प्रमुखसम्म चुनावी मैदानमा, बाचा भने अनेक


भैरहवा– दाङ क्षेत्र नम्बर ३ मा २१ फागुमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेशका पूर्वमन्त्री, नगरपालिकाका पूर्व मेयरदेखि पूर्वसांसदसम्म चुनावी मैदानमा छन् । यस्तै, यसअघि उम्मेदवार बनेर पराजय भोगेका नेताहरु पनि यहाँ उम्मेदवार बनेका छन् । सहरी र ग्रामीण मतदाता रहेको यो क्षेत्रमा काँग्रेस, एमाले, नेकपा र रास्वपाबीच स्पर्धा हुने देखिन्छ ।
यहाँ एमालेबाट उम्मेदवार बनेका घनश्याम पाण्डे तुलसीपुर उपमहानगरपालिकाको पूर्वमेयर हुन् । २०७९ मा उनी यही क्षेत्रबाट उम्मेदवार बनेर पराजित भएका थिए । काँग्रेसका दीपक गिरी पूर्वसांसद हुन् । उनी यही क्षेत्रबाट निर्वाचन जित्दै आएका छन् । नेकपाका धनबहादुर मास्कीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । उनी लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत हुन् । यस्तै रास्वपाबाट उम्मेदवार बनेका कमल सुवेदी यसअघि निर्वाचन लडेर पराजित भएका थिए ।
नेकपा(एमाले)बाट चुनावमा होमिएका घनश्याम २३ वर्षको उमेरमा नै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख भएका व्यक्ति हुन् । २०५१ सालदेखि चुनावमा होमिँदै आएका पाण्डे तत्कालीन अवस्थामा उपप्रमुख बने । २०६४ र २०७० मा उनले चुनाव नलडे पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुखमा निर्वाचित भए ।
नगर प्रमुख हुँदा आफूले गरेका काम नै चुनाव जित्ने आधार रहेको पाण्डे बताउँँछन् । ‘मेट्रो कलेज स्थापना, अस्वारामा अस्पताल, तुलसीपुरमा व्यापारिक भवन निर्माणजस्ता परियोजनामा काम गरेको थिएँ, सांसद बन्न पाए अझ धेरै काम गर्नसक्छु’, उनले भने ।
कांग्रेसका उम्मेदवार दीपक पूर्व सिँचाइमन्त्री हुन् । मन्त्री हुँदा बृहत् दाङ उपत्यका सिँचाइ आयोजना ल्याउन भूमिका खेलेको उनले बताए । ‘पश्चिम दाङका सडक सञ्जाल बनाउन भूमिका खेलेँ । टरिगाउँ एयरपोर्ट विस्तारका लािग पनि पहल गरेँ’, उनले भने, ‘दाङलाई सबल र विकसित बनाउन एकपटक क्षेत्रबासीले विश्वास गर्ने मेरो अपेक्षा छ ।’ उनले अहिलेसम्म दुईपटक चुनाव जितेका छन् । उनी २०७० सालको संविधानसभाको निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
दुई वर्ष कार्यकाल बाँकी हुँदा नै लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मास्की (राजेश) प्रतिनिधि सभा सदस्य बन्ने दौडमा छन् । ‘म प्रदेशको अर्थमन्त्री हुँदा तथा सांसद हुँदा गहतेखोला सडक स्तरवृद्धि, भमकेखोला, बहुला खोलामा पुल निर्माणजस्ता कार्य गरेको छु’, उनले भने, ‘यी एजेन्डा लिएर जनतामाझ जाँदै छु । गाउँ–गाउँमा सडक, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार निर्माण गर्ने काम पनि अघि बढाएको थिएँ ।’
रास्वपाबाट चुनावी मैदानमा होमिएका कमल यसअघिको निर्वाचनमा पनि उम्मेदवार थिए । उनले हाल सुशासन र डेलिभरीको मुद्दालाई अघि सारेका छन् । ‘अबको समृद्धि नयाँ दल नै गर्ने हो’, उनले भने, ‘ती एजेन्डा लिएर जनतामाझ गइरहेको छु । युवा पुस्तालाई स्वरोजगार सिर्जना गर्ने, सुशासन कायम गर्ने, विकास निर्माणलाई तीव्रता दिने मेरा अठोट हुन् ।
दाङ–३ मा राष्ट्रिय जनमोर्चाले कमला जिसी, मङ्गोल नेसनल अर्गनाइजेसनले घनश्याम चौधरी, मितेरी पार्टीले सन्तोष सिंह, जनता समाजवादी पार्टीले शोभा डाँगी, आम जनता पार्टी (एकल चुनाव चिह्न)ले पाण्डवी नेपाली, नेसनल रिपब्लिक नेपाल पार्टीले प्रितम चौधरीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै संयुक्त नागरिक पार्टीले दलवीर कामी, श्रम संस्कृति पार्टीले टोपबहादुर महतारा, नेकपा (माओवादी)ले बलबहादुर वली, नागरिक उन्मुक्ति पार्टीले महेश चौधरीलाई उम्मेलवार बनाएको छ ।
त्यस्तै स्वतन्त्रबाट भागिराम चौधरी, सुरेश नेपाली, प्रेमबहादुर वली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार, इन्द्रबहादुर बस्नेत र सिप्रिक कँडेलले उम्मेदवारी दिएका छन् । उनीहरूले पनि आफ्ना एजेन्डा लिएर चुनावी प्रचारमा लागेका छन् ।








प्रतिकृया दिनुहोस्