June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

फरक पेसाबाट संसदीय राजनीतिको दौडमा

Advertisement

भैरहवा– विभिन्न पेशामा संलग्नहरु रुपन्देहीमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन् । लामो समय अपनाएको पेशा छाडेर उनीहरु चुनावी मैदानमा उत्रिएका हुन् । यसले निर्वाचनमा नयाँ अनुहारको प्रवेश भएको छ । यसअघि उम्मेदवार हुने चर्चा नभएका व्यक्ति यसपटक उम्मेदवार बनेपछि निर्वाचन रोमाञ्चक बनेको छ । यस्ता व्यक्तिले आ–आफ्नो निर्वाचन क्षेत्रबाट मनोनय दर्ता गराइसकेका छन् । नयाँ व्यक्तिको प्रवेशले जिल्लामा दोहोरिने उम्मेदवारको संख्या कम छ । नयाँ र युवा उम्मेदवार धेरै छन् ।

Advertisement

यसरी डाक्टर देखि पाइलटसम्मले प्रतिस्पर्धा गरिरहेको निर्वाचन क्षेत्र मध्ये रुपन्देही–३, एउटा हो । उक्त क्षेत्रमा कांग्रेस, राप्रपा र रास्वपाबाट नयाँ उम्मेदवार बनेका छन् । रुपन्देही–३, बाट रास्वपाले न्युरो चिकित्सक लेखजंग थापालाई उम्मेदवार बनाएको छ । यसअघि यसै क्षेत्रमा तोकिएको उपनिर्वाचनमा थापालाई उम्मेदवार घोषणा गरिएको थियो । थापा पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा आमूल परिवर्तन जरुरी रहेकाले आफू राजनीतिमा होमिएको थापाले बताए । ‘चिकित्सक भएकाले रुपन्देहीको सिमावर्ती क्षेत्रका बासिन्दालाई कसरी भरपर्दो उपचार सेवा गर्ने भन्नेबारे चिन्तित छु,’ उनले भने, ‘चुनावमा पनि शिक्षा, स्वास्थ्य र रोजगारका एजेण्डामा जोड दिन्छु ।’

रुपन्देही–३, बाट राप्रपाले बरिष्ठ पाइलट गौरब बोहरालाई मैदानमा उतारेको छ । गौरब २०७९ मा यसै निर्वाचन क्षेत्रबाट बिजयी स्वर्गी राप्रपा नेता दीपक बोहराका जेठा छोरा हुन् । उपनिर्वाचन घोषणा भएदेखि राप्रपाबाट गौरब र उनका भाई प्रज्वलले उम्मेदवारीमा चासो देखाइरहेका थिए । इन्जिनियर प्रज्वललाई राप्रपाले रुपन्देही–१, बाट उम्मेदवार बनाएको छ । ३० वर्षदेखि हवाई उडानमा संलग्न गौरब अहिले इन्स्ट्रक्टर पाइलट हुन् । ‘उड्डयन क्षेत्रमा लामो समय बिताए,’ उनले भने, ‘अहिले बुवाकै निर्वाचन क्षेत्रमा चुनाव लड्न आएको छु, बुवाबाट सिकेको राजनीतिले मलाई पनि सहयोग गर्ने विश्वास लिएको छु ।’ बुवाको प्रचारका क्रममा मतदातासित घुलमिल हुने अवसर पाएकाले चुनाव नौलो नहुने उनले बताए ।

कांग्रेसले रुपन्देही–३, का क्षेत्रीय सभापति सुशील गुरुङलाई उम्मेदवार बनाएको छ । सिद्धार्थनगर–१, का बासिन्दा गुरुङ राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति हुन् । यसअघि तत्कालीन कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले यहाँबाट प्रतिस्पर्धा गर्दै आएका थिए । ‘सामाजिक क्षेत्रमा क्रियाशील रहेकाले यहाँका समस्याबारे जानकार छु,’ गुरुङले भने, ‘ती समस्या हल गर्नेगरि चुनावका एजेण्डा तयार गर्छु । कांग्रेसले युवालाई अवसर दिएकाले मतदातामा सकारात्मक सन्देश गएको छ ।’

रुपन्देही–२, मा कांग्रेसबाट उद्योगी चुन्नप्रसाद शर्मा उम्मेदवार बनेका छन् । औद्योगिक समूह यशोदा समूहमा संलग्न पौडेल बुटवल अस्पताल प्रालिका अध्यक्ष समेत हुन् । केही महिना अगाडि बुटवलमा सञ्चालनमा आएको पाँच तारे होटल ह्यातमा पनि उनको लगानी रहेको छ । लामो समयदेखि उद्योग व्यवसाय सञ्चालन गरिरहेका पौडेल कांग्रेसमा आवद्ध थिए ।

‘उद्योगीका रुपमा रुपन्देहीका जनताकै सेवा गरिरहेको थिए,’ उनले भने, ‘जनताले चुनाव जिताएर सेवा गर्ने मौका दिनु हुनेछ भन्ने विश्वास लिएको छु ।’ एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि रुपन्देही–२, बाटै प्रतिस्पर्धामा छन् । यहाँबाट नेपाली कम्युनिष्ट पार्टीले विश्वदीप पाण्डे र रास्वपाले शुलभ खरेललाई उम्मेदवार बनाएका छन् । रुपन्देही–४, बाट पर्यटन व्यवसायी प्रमोदकुमार यादव उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसमा आवद्ध यादव पार्टीले टिकट नदिएपछि एमालेबाट उक्त क्षेत्रमा उम्मेदवार बनेका हुन् । २०७४ सालमा कांग्रेसबाट उम्मेदवार बनेर रुपन्देही–४, बाट बिजयी भएका उनी ०७९ सालमा त्यही क्षेत्रबाट पराजित भएका थिए ।

रुपन्देही–५, मा रास्वपाबाट निर्माण व्यवसायी तौफिक अहमद खाँ उम्मेदवार छन् । रास्वपा बरिष्ठ नेता बालेन साह निटक खाँ लामो समयदेखि लुम्बिनी र आसपास क्षेत्रमा सामाजिक क्रियाकलापमा संलग्न छन् । ‘परिवर्तन शब्दमा होइन, कर्ममा चाहिन्छ,’ उनले भने, ‘नागरिकका माग पूरा गर्छौ भनेर धेरै नारा लगाइयो, तर कहिल्यैं भुइँ तहका मानिसको पक्षमा काम भएन ।’ यसपटक निर्वाचन जितेर सिमावर्ती बासिन्दाको हितमा काम गर्ने सोचले मैंदानमा उत्रिएको उनले बताए । यहीं क्षेत्रबाट कांग्रेसले भरत साहलाई उम्मेदवार दोहोर्याएको छ भने एमालेबाट खिमलाल भट्टराई पहिलोपटक प्रतिष्पर्धामा छन् ।

रूपन्देही–३ मा युवा उम्मेदवारको बर्चस्व, कस्ता छन् बाचा ?