June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

वाचा पूरा गर्न प्रदेश छाडेर प्रतिनिभि सभा उम्मेदवार

Advertisement

भैरहवा– निश्चित कार्यकालका लागि प्रदेशसभा सदस्यमा निर्वाचित लुम्बिनी प्रदेशका केही सांसद यसपटक प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् । करिब दुई वर्ष कार्यकाल बाँकी छँदै प्रतिनिधि सभा ताकेका पूर्व प्रदेशसभा सदस्यले संघको हस्तक्षेपका कारण जनतासित गरिएका वाचा पूरा गर्न नसकेकाले पदबाट राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । संघमा बसेर प्रदेश बलियो बनाउन भूमिका खेल्ने उनीहरुको भनाई छ ।

Advertisement

२०७९ सालको प्रदेशसभा निर्वाचनमा रुपन्देही–४(१) बाट निर्वाचित कन्हैया बनिया एक साताअघि राजीनामा दिएर रास्वपा प्रवेश गरे । लोकतान्त्रिक समाजबादी पार्टीबाट उनी प्रदेशसभा सदस्य निर्वाचित थिए । अहिले रास्वपा प्रवेश गरेर रुपन्देही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् । अहिलेको भूमिका फेर्नु पर्ने बेला भएकाले प्रदेशको जिम्मेवारी छाडेर संघतर्फ अग्रसर भएको उनले बताए । ‘पद त्याग गर्दा दुःख लागेको छ,’ बनियाले भने, ‘देश बन्छ भने मेरो त्याग सानो हो । जेनजीको भावना र बालेनलाई प्रधानमन्त्री बनाउन रुपन्देहीको मर्चवारको पनि योगदान देखियोस् भनेर पद छाडेको हुँ ।’

तत्कालीन माओवादीबाट बाँके १ (१) बाट प्रदेश सांसद बनेकी बाँकेकी कृष्णा केसी (नमुना) पनि राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी छन् । उनी अहिले क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी छन् । प्रदेश सरकारमा रहेर मन्त्री समेत बनेकी उनले भूमिका संकुचित बनेकाले प्रतिनिधि सभामा उम्मेदवार बनेको बताइन् । संघीय संसद प्रवेश गरेर प्रदेश बलियो बनाउन आफूले पदबाट राजीनामा गरेको उनले बनाइन् । माओवादीबाट दाङ–२ (२) बाट निर्वाचित धनबहादुर मास्की अहिले नेकपाबाट संघीय उम्मेदवार बनेका छन् । उनी पनि प्रदेशमा आफ्नो भूमिकाप्रति सन्तुष्ट छैनन् । उनी दाङ–२ बाट उम्मेदवार बनेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया–२ (२) मा निर्वाचित धर्मबहादुर चौधरीले पद छाडेर उज्यालो नेपाल पार्टीबाट बर्दिया–२, मा उम्मेदवार बनेका छन् । ‘संघीयता नाम मात्रको भयो, सबै केन्द्रमै निर्भर भए,’ चौधरीले भने, ‘आफैं मन्त्री हुँदा समेत योजना र बजेट व्यवस्थापन गर्न नसक्दा वाचा पूरा गर्न अप्ठ्यारो भयो । जनताको माग सुनिश्चित गर्न प्रदेशसभाबाट राजिनामा दिएँ ।’ संघीयता लागू भए पनि प्रदेश अहिलेसम्म केन्द्रमा निर्भर रहेको बताए । अब नीति निर्माण तहमै बसेर संघीयता कार्यन्वयनमा बल पुर्याउन आफू प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेको बताए । ‘जनताको माग र अधिकार सुनिश्चित गर्न राजीनामा दिएँ,’ उनले भने ।

विश्लेषक मनिकर कार्कीले निश्चित पद र समयावधिका लागि निर्वाचित जनप्रतिनिधिले तोकिएको जिम्मेवारी र कार्य अवधि पूरा नगरि अर्को पदमा जान खोज्नु अनूचित भएको बताए । ‘यसले गत निर्वाचनमा जनतासामु पेश गरेका कार्ययोजना अलपत्र पर्छन्,’ उनले भने, ‘यसबाट जनताको मतको अवमूल्यन हुन्छ र राज्यको लगानी खेर जान्छ ।’ नेताहरुको यस्तो चरित्रले राजनीतिप्रति जनताको अविश्वास बढ्ने उनले बताए ।

रूपन्देहीमा चुनावी चहलपहल ह्वात्तै बढ्यो

फरक पेसाबाट संसदीय राजनीतिको दौडमा

रूपन्देही–३ मा युवा उम्मेदवारको बर्चस्व, कस्ता छन् बाचा ?