June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

नवलपरासी-२ मा बल्झियो थापा र कंडेल विवाद

Advertisement

परासी– नेपाली काँग्रेस केन्द्रले पश्चिम नवलपरासी–२ मा दुईजनालाई उम्मेदवारको टिकट थमाएर जिल्ला पठायो । जिल्ला आएर दुबै आकांक्षीले मनोनय दर्ता गराए । मंगलबार मनोनय दर्ता गराएका पूर्व कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल र भीमबहादुर थापा बिहीबार अपरान्हसम्म आफूलाई आधिकारिक उम्मेदवार भएको दावी गरिरहेका थिए । बिहीबार अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालयले थापाको मनोनयनलाई आधिकारिकता प्रदान गर्यो ।

Advertisement

यससँगैं सुनवल नगरपालिकाका पूर्व मेयर थापा नवलपरासी–२, मा कांग्रेसका तर्फबाट आधिकारिक उम्मेदवार बनेका छन् । थापा उम्मेदवार बनेपछि कँडेल रुष्ट छन् । उनी केन्द्रप्रति असन्तुष्ट छन् । २०७९ को संसदीय निर्वाचनमा पनि थापा र कँडेल उम्मेदवारका आकाँक्षी थिए । त्यसबेला पार्टीले कँडेललाई उम्मेदवार बनाएको थियो । तर, जिल्लामा पार्टी भित्रको किचलोका कारण चुनावमा कँडेल पराजित भएका थिए । यसपटक पनि यस क्षेत्रमा पुरानै नियति दोहोरिने चिन्ता बढेको छ ।

क्षेत्रीय समितिले बहुमतका आधारमा कँडेलको नाम एकल सिफारिस गरेको थियो । क्षेत्रीय समितिमा कंडेल पक्षधरको बहुमत छ । क्षेत्रको सिफारिसमा जिल्ला कार्यसमितिले कँडेल, विष्णुप्रसाद पौडेल, नरेन्द्र गुप्ता, यमप्रसाद भुसालको नाम सिफारिस गरेको थियो । यसपछि टिकट हात पार्न थापा र कँडेल काठमाडौं पुगेर लविङमा लागेका थिए । कांग्रेसको विशेष महाधिवेशनका क्रममा थापा सभापति गगन थापाको पक्षमा सुरुवातदेखि खुलेर सहभागी भएका थिए ।

अधिवेशनको उद्घाटनमा कँडेल सहभागी भए पनि पछि देउवा समूहमै फर्किएका थिए । यसपटक सोमबार बेलुका कँडेलले टिकट पाएका थिए भने मंगलबार बिहान थापाले टिकट ल्याएका थिए । कँडेल तामझामसहित उम्मेदवारी दर्ता गर्ने तयारीमा थिए । त्यहीँ बेला एकाएक काठमाडौंबाट जहाज मार्फत् भैरहवा उत्रिएका थापाले मंगलबार मध्यान्ह निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार मनोनयन गराए । एक दिन अगाडि नै टिकट पाएका कँडेल भने थापाले उम्मेदवारी दर्ता गराएको जानकारी पाएपछि हतार हतार निर्वाचन कार्यालय पुगेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेपाली कांगे्रसाट उम्मेदवारले मनोनयन दर्ता गरिसकेको जनाएपछि केही बेर विवाद भएको थियो । कार्यालयले दुईजनाले टिकट ल्याएकाले त्यसको आधिकारिकता निक्यौल हुने भन्दैं कँडेलको पनि मनोनयन दर्ता गरेको थियो । आफूलाई पार्टीले टिकट दिएको र नियमानुसार उम्मेदवारी दर्ता गराएको थापाले दाबी गरेका थिए । कँडेलले टिकट वितरण समितिले आफूलाई उम्मेदवार छनोट गरेकाले आफू आधिकारिक भएको दाबी गरेका थिए ।

एउटै पार्टीबाट दुईजनाको उम्मेदवारी परेपछि मुख्य निर्वाचन अधिकृत डा.राजेन्द्रप्रसाद आचार्यले निर्वाचनको विधि र कानुन अनुसार उम्मेदवारको नामावली प्रकाशन गरिएको बताए । कार्यालयले बिहीबार साँझ थापालाई आधिकारिकता प्रदान गरेको थियो । भने कँडेलको उम्मेदवारी रद्ध भएको जानकारी गराएको थियो । पूर्वगृहराज्यमन्त्री समेत रहेका कँडेल यो क्षेत्रमा राम्रो प्रभव भएका नेता हुन् । उनले सहयोग नगरे थापालाई निर्वाचन जित्दै कठिन छ ।

वाचा पूरा गर्न प्रदेश छाडेर प्रतिनिभि सभा उम्मेदवार

रूपन्देहीमा चुनावी चहलपहल ह्वात्तै बढ्यो

फरक पेसाबाट संसदीय राजनीतिको दौडमा

रूपन्देही–३ मा युवा उम्मेदवारको बर्चस्व, कस्ता छन् बाचा ?