August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

मनसुनको असमानताले लुम्बिनीका २० प्रतिशत धानखेत अझै बाँझै

Advertisement

भैरहवा–मौसमको प्रतिकूलता तथा असमानताले गर्दा यस बर्ष लुम्बिनी प्रदेशमा साउनको पहिलो साता बित्न लाग्दापनि धान रोपाइँ सकिएको छैन । लुम्बिनीमा धान रोपाइको अवस्था मिश्रित छ ।

Advertisement

प्रदेशका कुल धानयोग्य जमिनमध्ये अझै २० प्रतिशत खेतमा धान रोप्न बाँकी रहेको कृषि विकास निर्देशनालयले जनाएको छ । समान्यतया पहाडी जिल्ला र सिँचाइ उपलब्ध रहेका खेतमा छिटो रोपाइँ भएको छ । भने, लामो समय र खडेरी र बर्षा लागेपनि पर्याप्त पानी नपर्दा तथा खण्डबृष्टिका कारण तराइका कतिपय फाँटहरु अझै रोपाइँ सकिएको छैन ।

लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयका अनुसार साउन १ गतेसम्म प्रदेशभर ८०.६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । समयमै र पर्याप्त वर्षा भएको भए हालसम्म ९० प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ भइसक्ने निर्देशनालयको अनुमान छ ।

समयमा आकाशे पानी नपर्नु र पर्याप्त सिँचाइ सुविधा विस्तार हुन नसक्दा रोपाइँमा केही ढिलाइ भएको निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरे बताउँछन् । उनका अनुसार सिँचाइ कुलो भएका र समयमा वर्षा भएका स्थानमा तीव्र रूपमा रोपाइँ भएको छ ।

लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा हालसम्म २ लाख ४३ हजार ४१ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । कपिलवस्तु र बाँके जिल्लाका बिशाल फाँटहरु रोपाइबाट पछाडि छन् । निर्देशनालयको तथ्याङ्क अनुसार कुलो र सिँचाइको राम्रो संरचना भएका जिल्लाहरूमा रोपाइँ उत्साहजनक छ । केही जिल्लामा अझै धेरै क्षेत्र बाँकी छ । पहाडी जिल्ला रोल्पामा शत्प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

पश्चिम नवलपरासीमा ९७.५ प्रतिशत, रुकुम पूर्व र प्युठानमा ९६ प्रतिशत, रुपन्देही र बर्दियामा प्रतिशत ९५ र पाल्पामा ८५ प्रतिशत रोपाइँ सकिएको छ । तराईका प्रमुख धान उत्पादक जिल्लाहरू कपिलवस्तु र बाँकेमा सबैभन्दा कम ६० प्रतिशतमात्र रोपाइँ भएको छ । यस्तै दाङमा ७७, गुल्मीमा ७६ र अर्घाखाँचीमा ८० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । सिँचाइ सुविधाको उपलब्धता नै रोपाइँ नसकिनुको मुख्य कारक बनेको छ । आकाशे पानीको भर पर्नुपर्ने र सिँचाइको पर्याप्त पहुँच नपुगेका क्षेत्रमा किसानहरू अझै पनि ठूलो वर्षाको पर्खाइमा छन् ।