कपिलवस्तु संग्रहालयलाई भिजिटरकै अभाव


कपिलवस्तु— पुरातात्विक तथा ऐतिहासिक महत्वको भए पनि कपिलवस्तु संग्रहालयलाई जहिल्यैं अवलोकनकर्ता (भिजिटर) कै अभाव भइरहेको छ । झन प्रत्येक वर्ष संग्रहालय घुमफिर गर्ने घट्न थालेपछि चिन्ता थपिएको छ ।
संग्रहालय घुम्ने स्वदेशीको संख्या बढे पनि विदेशी पाहुनाको अभाव छ । अघिल्लो वर्षको तुलनामा झन्डै आधाले विदेशी घटेको तथ्यांक छ । प्रचारप्रसार अभावले तिलौराकोट पुग्ने धेरै पर्यटक संग्रहालयसम्म नपुग्ने संग्रहालय प्रशासनको भनाई छ ।
गत आर्थिक वर्ष २०८२–८३ मा सार्क मुलुकका ९ सय ६८ र तेस्रो मुलुकका ६ सय ६ गरी एक हजार ५ सय ७४ विदेशी पर्यटकले संग्रहालय अवलोकन गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा भने सार्क मुलुकका एक हजार ९ सय ९७ र तेस्रो मुलुकका ७ सय ६१ गरी कुल दुई हजार ७ सय ५८ विदेशीले संग्रहालय अवलोकन गरेका थिए । गत आर्थिक वर्षमा तीन हजार ४ सय ९७ नेपाली विद्यार्थी र तीन हजार एक सय ६० अन्य स्वदेशी पर्यटकले संग्रहालय अवलोकन गरेका थिए । अघिल्लो वर्ष विद्यार्थी दुई हजार ६ सय ४२ जना रहे पनि अन्य स्वदेशी पर्यटकको संख्या तीन हजार ९ सय ३४ थियो ।
संग्रहालयमा सबैभन्दा बढी थाइल्यान्ड, श्रीलंका र म्यानमारबाट आएका पर्यटक पुग्ने गरेका छन् । तर तिलौराकोट भ्रमण गर्ने करिब २० प्रतिशत पर्यटक संग्रहालयसम्म नपुग्ने गरेको संग्रहालयको तथ्यांक छ । संग्रहालय प्रमुख शान्ति शेर्माका अनुसार प्रचारप्रसारको कमीका कारण पर्यटक संग्रहालय आउनबाट वञ्चित भइरहेका छन् ।
उनका अनुसार शाक्यवंशीय राजधानी तिलौराकोट अवलोकन गर्न आउने पर्यटकले बुद्धकालीन ऐतिहासिक तथा पुरातात्विक सामग्री नहेर्दा उनीहरूको भ्रमण अधुरो हुने गर्छ । नयाँ भवनमा व्यवस्थित गरिएको संग्रहालयमा भगवान गौतम बुद्ध, उनका पिता शुद्धोदन तथा बुद्धकालीन सभ्यतासँग सम्बन्धित पुरातात्विक सामग्री राखिएका छन् ।
यहाँ उत्खननबाट प्राप्त माटाका भाँडाकुँडा, नर्दन ब्ल्याक पोलिस्ड वेयर (एनबीपी), रेड वेयर, पंचमार्क चाँदीका सिक्का, विभिन्न प्रकारका पत्थर, मुद्राशील, गहना, हातहतियार तथा विष्णु, शिव, पार्वती, सूर्य, वराहलगायतका देवदेवीका मूर्ति संग्रहित छन् । शुद्धोदनको राजप्रसाद तथा बुद्धले २९ वर्ष युवावस्था बिताएको मानिने तिलौराकोट, धमनिहवा स्तूप, निग्रोधाराम (कुदान), अरौराकोट र सिसहनियालगायतका क्षेत्रमा उत्खननबाट प्राप्त सामग्री पनि यही संग्रहालयमा राखिएका छन् ।
वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीका अनुसार बौद्ध धर्मावलम्बीहरूले तिलौराकोटको दर्शन नगरी पूर्ण पुण्य प्राप्त नहुने विश्वास गर्छन् । रोयल थाई मोनेस्ट्री लुम्बिनीका प्रमुख भिक्षु फ्रा राजबोधीविदेश वजिराशुद्धीका अनुसार तीर्थयात्रीले तिलौराकोटको मुख्य दरबार भग्नावशेष, पूर्वी र पश्चिमी प्रवेशद्वारमा बुद्धको बाल्यकालसँग सम्बन्धित सूत्रपाठ गरेपछि आत्मसन्तुष्टि प्राप्त गर्छन् । तर, छेउमै रहेको संग्रहालय नहेरी फर्किँदा उनीहरूको तीर्थयात्रा पूर्ण नहुने उनको भनाइ छ ।








प्रतिकृया दिनुहोस्