दुई महिनामा साढे तीन सय दुर्घटना


भैरहवा – निगरानी, कारवाही र जनचेतनामूलक अभियान सञ्चालन गरिए पनि लुम्बिनी प्रदेशमा दुर्घटनामा कमी आएको छैन । राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार वैशाख र जेठमा मात्रै लुम्बिनीमा ३ सय ३९ गाडी दुर्घटना भएका छन् । तीनमा १ सय १३ जनाले ज्यान गुमाएका छन् भने ६ सय ४१ जना घाइते भएका छन् ।
ट्राफिक प्रहरीका अनुसासर वैशाखमा भएका १ सय ८९ गाडी दुर्घटनामा ७३ जनाको मृत्यु भएको थियो । ३ सय ८६ जना घाइते भएका थिए । जेठमा १ सय ५० गाडी दुर्घटनामा ४० जनाले ज्यान गुमाए भने २ सय ५५ जना घाइते भए । कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अधिकांश दुर्घटना मानवीय त्रुटीले भएका छन् ।
तीव्र गति, मादकपदार्थ सेवन, गलत स्थानबाट ओभरटेक, लेन अनुशासन उल्लंघन, मोबाइल फोन प्रयोग तथा चालकको असावधानी दुर्घटनाका प्रमुख कारण बनेका छन् । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाका अनुसार चालकको लापरवाही नै सडक दुर्घटनाको सबैभन्दा ठूलो कारण हो । उनका अनुसार विशेष गरी तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम अत्यधिक बढाएको छ ।
ट्राफिक प्रहरीले सवारीसाधनको प्राविधिक अवस्था र सार्वजनिक यातायातको व्यवस्थापनमा पनि निगरानी बढाएको जनाएको छ । ट्राफिक प्रहरी उपरीक्षक थापाले सडक दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको प्रयासले मात्र सम्भव नहुने बताए । चालक, यात्रु, यातायात व्यवसायी, सडक निर्माण गर्ने निकाय तथा स्थानीय तह सबैले समान रूपमा जिम्मेवारी निर्वाह गरे मात्र दुर्घटनामा उल्लेखनीय कमी ल्याउन सकिने उनको भनाई छ । गति नियन्त्रण गर्ने, मापसे नगर्ने, पर्याप्त विश्रामपछि मात्रै लामो दूरीको यात्रा गर्ने, मोबाइल फोन प्रयोग नगरी सवारी चलाउने र ट्राफिक नियमको पूर्ण पालना गर्ने बानीले अधिकांश दुर्घटना रोक्न सकिने उनले बताए ।








प्रतिकृया दिनुहोस्