बर्दिया निकुञ्जमा ९६ घडियालका बच्चा हुर्किंदै


बर्दिया— बर्दिया निकुञ्ज अन्तर्गत मुख्यालय ठाकुरद्वारास्थित गोही प्रजनन् केन्द्रमा एक दशक यताकै धेरै ९६ वटा घडीयाल गोहीका बच्चा हुर्किरहेका छन् । निकुञ्जको कार्यालय भित्र रहेका दुइवटा पोखरीमा घडियाल गोहीका बच्चा खेलिरहेका देखिन्छन् ।
केही बच्चा माछा खान सिक्दैछन्, केही घाम ताप्न पोखरीको डिलमा सुस्ताइरहेका देखिन्छन् । यस वर्ष प्रजनन् केन्द्रमा तीनवटा पोथीले गुड लगाएकोमा ९६ वटा बच्चा कोरलिए, केही अन्डा खेर गए । अघिल्लो वर्ष ९३ वटा बच्चा कोरलेकोमा ७० वटा प्रजनन् केन्द्रभित्र हुर्किरहेका छन् । घडीयालले ०८१ सालमा ५० वटा बच्चा कोरलेकामा ३२ वटा मात्रै बाँचेका थिए ।
त्यसैगरी, ०८० सालमा ८५ वटा बच्चा कोरलेकामा ६४ वटा बााचेका थिए । यस वर्ष ठूला भएका गोहीलाई नदीमा छाडने कार्यक्रम छ । प्रजनन् केन्द्रमा हुर्किएर नदी खोलामा छाड्ने बेलासम्म करिब ६० प्रतिशत बच्चा बाँच्ने गरेका छन् । तर, प्राकृतिक बासस्थानमा जन्मेका बच्चा एक दुई प्रतिशतमात्रै वयस्क हुने गरेको संरक्षणकर्मी बताउँछन् ।
‘यसवर्ष घडियालले १ सय १६ अन्डा कोरलेको थियो । त्यसमा ९६ बच्चा छन्,’ स्थानीय संरक्षककर्मी राम शाहीले भने, ‘संसारमा बाघ जस्तै घडियाल गोही पनि दुर्लभ छ ।’ प्रजनन् केन्द्रका घडियाल गोहीले असार पहिलो साता बच्चा कोरलेको थियो । यी बच्चा ५ वर्षको भएपछि नदीमा लगेर छोड्ने गरिएको छ । घडियाल गोही सफा नदीमा बस्छ, माछा खाने गर्छ । यो मगर गोहीजस्तो जहाँ पायो त्यहीँ जाँदैन । यसले मानिसलाई आक्रमण गर्दैन ।
तर, बढ्दो नदी प्रदूषण, प्राकृतिक बासस्थान विनाश र नदीमा माछा मार्न जानेहरूले अन्डा फुटाइदिनेजस्ता कारणले यसको अस्तित्व संकटमा छ । २०७३ सालपछि सबैभन्दा धेरै बच्चा यो वर्ष जन्मिएकोमा निकुञ्जका अधिकारी खुसी छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका अजित तुम्बाहाम्फे चोरी शिकारीका कारण घडियालको संख्या घट्दै गएको बताउँछन् ।
‘नाक लामो भएकाले माछा मार्नेहरुको जालमा पर्ने, अण्डा फुटाइदिने, शिका हुने भएका कारण यसको संख्या जोगाउन एकदम चुनौती छ,’ उनले भने, ‘यसले खाने माछा हो । यसको आहारा र सुरक्षाको व्यवस्थापन राम्रो गरे संख्या बढाउन सहज हुन्छ ।’ घडियालको बचेरा स्याहार्न दुई जना प्राविधिक खटिएका छन् । ९६ वटा बच्चालाई दैनिक डेढ दुई किलो ससाना माछा आहारा दिनुपर्छ । आहारा खोज्न दिनदिनै नजिकका नदी खोला चाहार्नुपर्छ ।
प्रजनन्का लागि दुईवटा वयस्क भाले र ९ पोथी छन् । बच्चा कोरलेको ३÷४ दिनमा माउ र बच्चा अलग गरिन्छ । हाल साना ठूला गरेर २ सय ७७ वटा गोही प्रजनन् केन्द्रमा छन् । घडियाल जोगिनु नदी खोलाको स्वच्छ सूचक भएकाले वातावरणीयले दृष्टिले महत्वपूर्ण मानिन्छ ।








प्रतिकृया दिनुहोस्