August 23, 2026, Sunday
२०८३ भाद्र ८ सोमबार

पूर्वमाओवादीलाई मात्र मन्त्रालय दिएपछि लुम्बिनीमा असन्तुष्टि

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशमा सरकार विस्तारका क्रममा नेकपाबाट पूर्वमाओवादी पक्षधरलाई मात्र मन्त्री दिएपछि विवाद बढेको छ । यसले सत्ता साझेदार दल एमाले र नेकपाभित्र असन्तुष्टि बढेको हो । नेकपाबाट तीन जनाको नाम मन्त्रीका सिफारिस गरिएको थियो । सिफारिस एक पक्षीय भएको जनाउँदैं तत्कालीन नागरिक उन्मुक्ति र नेकपा समाजवादीका प्रदेशसभा सदस्य असन्तुष्ट बनेका छन् ।

Advertisement

तीन सदस्य रहेको नागरिक उन्मुक्ति र एक सदस्य नेकपा समाजवादी नेकपामा समाहित भएको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार शपथग्रहण गराउने गरी थप मन्त्री र जिम्मेवारी हेरफेरको विवरण प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष पठाएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार नेकपाबाट दाङका इन्द्रजित थारु आर्थिक मामिला तथा योजना, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’ स्वास्थ्य र बर्दियाकी कृष्णाकुश्मा थारु कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्ने टुंगो लागेको छ । मन्त्री बन्न लागेका तीनै जना पूर्वमाओवादी हुन् ।

एमाले–नेकपा गठबन्धन बनेपछि पूर्वनागरिक उन्मुक्ति र समाजवादीलाई सरकारमा सहभागी गराउने गरी सहमति भए पनि आफूहरुलाई विश्वासको मत लिने प्रयोजनका लागि मात्र प्रयोग गरिएको भन्दै प्रतिपक्षको कुर्सी माग गरेका छन् । पूर्वनागरिक उन्मुक्तिकी प्रदेशसभा सदस्य नरमाया ढकालले आफूहरुलाई विश्वासको मतका लागि मात्र प्रयोग गरिएकाले ‘विद्रोह’को तयारी गरिरहेको बताइन् ।

‘गोप्य रुपमा गोप्य कोठामै बसेर मन्त्रीको नाम सिफारिस गरियो रे, हामीलाई अहिलेसम्म पनि जानकारी दिइएको छैन,’ उनले भनिन्, ‘बाहिर चलेको हल्लाअनुसार तीनजना नै पूर्वमाओवादीलाई सिफारिस गरिएकाले हामी विद्रोहको तयारीमा छौं ।’ उनले आफूहरुलाई विश्वासको मतका लागि संख्या पु¥याउन मात्र प्रयोग गरिएकाले सभामुखसँग प्रतिपक्षका लागि कुर्सी व्यवस्था गरिदिन माग गरेको बताइन् ।

मन्त्रालय बाँडफाँटको सहमतिअनुसार एमालेलाई मुख्यमन्त्री, भौतिक पूर्वाधार, सामाजिक विकास, वन वातावरण तथा पर्यटन मन्त्रालय, नेकपालाई आर्थिक मामिला तथा योजना, स्वास्थ्य र कृषि, भूमि व्यवथा तथा सहकारी मन्त्रालय, ५ सदस्य रहेको जसपा नेपाललाई सहरी विकास, खानेपानी, ऊर्जा, जलस्रोत तथा सिँचाइ र आन्तरिक मामिला, कानुन उद्योग तथा यातायात मन्त्रालय दिइएको छ ।

जसपा नेपालबाट रुपन्देहीका सन्तोषकुमार पाण्डे सहरी विकास, खानेपानी, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री र बाँकेका भण्डारीलाल अहिर आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री बन्ने भएका छन् । नेकपाबाट मन्त्रालय र मन्त्रीको टुंगो लागेसँगै एमालेका मन्त्रीको पनि जिम्मेवारी हेरफेर गरिएको छ । स्रोतका अनुसार एमालेबाट चेतनारायण आचार्य मुख्यमन्त्री, रत्नबहादुर खत्री भौतिक पूर्वाधार, रामजी घिमिरे सामाजिक विकास र तुलसीप्रसाद चौधरी वन वातावरण तथा पर्यटन मन्त्री बन्ने भएका छन् ।

एमालेबाटै अहिलेसम्म सहरी विकास मन्त्री रहेका गुल्मीका डिल्लीराज भुसाललाई बिनाविभागीय मन्त्री बनाएर राख्ने तयारी छ ।प्रदेश सरकारले नीति तथा कार्यक्रममै ८ मन्त्रालय मात्र राख्ने निर्णय गरे पनि सरकारले मन्त्रालय बाँडफाँडको टुंगो लगाउँदासम्म १० मन्त्रालय पुगेका छन् ।