August 21, 2026, Friday
२०८३ भाद्र ५ शुक्रबार

पंचकन्याले ४ करोड लगानीको उद्योग भत्काउँदै, सेजको कानुनी व्यवस्थामाथि प्रश्न

Advertisement

भैरहवा- रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग सञ्चालनका लागि करिब ४ करोड रुपैयाँ लगानी गरेर निर्माण गरिएको भौतिक संरचना अहिले भत्काउन थालिएको छ । सेज छाडेको एक वर्षपछि पंचकन्या एस.एस. एक्स्पोर्ट प्रालिले आफ्नै लगानीमा निर्माण गरेको उद्योगको संरचना भत्काउन थालेको हो । संरचना अन्य उद्योगीलाई बिक्री गरेर लगानी जोगाउन खोजे पनि सेजको कानुनी तथा प्रक्रियागत व्यवस्थाका कारण सम्भव नभएपछि उद्योग भत्काउनुपर्ने अवस्था आएको पंचकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले बताए ।

Advertisement

‘आज हामी बाध्य भएर उद्योगका संरचना भत्काउने अवस्थामा आएका छौं’, उनले भने, ‘विशेष आर्थिक क्षेत्र प्राधिकरण, सांसददेखि मन्त्री र प्रधानमन्त्री कार्यालयसम्म यो जानकारी गरायौं । तर, कतैबाट निकास आएन ।’

पंचकन्याले आफ्नै लगानीमा निर्माण गरेका संरचना बिक्री गरेर लगानीको केही हिस्सा जोगाउन पाउनुपर्ने माग गर्दै आएको छ । उद्योगको संरचना यथास्थितिमा बिक्री गर्दा लागत मूल्य ४ करोड रुपैयाँ रहेकोमा अनुमानित बिक्री मूल्य ३ करोड रुपैयाँ मात्रै हुने र करिब १ करोड रुपैयाँ घाटा लाग्ने साहु बताउँछन् । ‘तर संरचना भत्काएर बिक्री गर्दा अनुमानित बिक्री मूल्य २० लाख रुपैयाँमा सीमित हुने र कुल नोक्सानी ३ करोड ८० लाख रुपैयाँ पुग्छ’, उनले भने ।

सेज ऐनमा उद्योगका संरचना भत्काएर मात्रै प्लट अरुलाई दिने व्यवस्था छ । उद्योगी सरकारी निकाय धाए पनि यही सेज ऐनकै कारण उद्योगको संरचना विक्री गर्न पाएनन् । जसले गर्दा शुक्रबार केही संरचनामा डोजर चलाएर भत्काइएको छ । नोपल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जवलकुमार कसजूले ऐनका यस्ता प्रावधानले निजी क्षेत्र मर्कामा परेको भन्दै उपयुक्त विकल्पको माग गरे ।

‘पंचकन्या जस्तो राष्ट्रिय उद्योगले आज यो अवस्था खेपेको छ’, उनले भने, ‘हाम्रो माग गलत ऐनहरु सुधार गर्नुपर्छ । कम्तिमा भएको संरचना नभत्काउन परोस् र सम्पत्ती हस्तान्तरण हुने व्यवस्था गरियो भन्ने नै हो ।’ पंचकन्या समूहका कार्यकारी निर्देशक उज्जवलकुमार श्रेष्ठले सरकारले ऐन, कानून बनाउँदा निजी क्षेत्रलाई समावेश नगराएकै कारण आज यस्तो अवस्था आएको जनाए ।

‘निजी क्षेत्रलाई खाली सामान्य सोधपुछ हुन्छ तर कानून बनाउँदा सहभागिता हुँदैन’, उनले भने, ‘अब यस्ता विषयहरु नआउन भन्नका लागि पनि निजी क्षेत्रको सहभागिता जरुरी देखियो ।’ पंचकन्या समूहले २०७५ साल साउनमा भैरहवा विशेष आर्थिक क्षेत्रभित्र चारवटा प्लट भाडामा लिएको थियो । त्यसपछि २०७६ असोजमा उद्योग सेड, कम्पाउण्ड पर्खाल, सुरक्षा गार्ड भवन र शौचालय लगायतका भौतिक संरचना निर्माण गरियो ।

करिब ४ करोड रुपैयाँ लगानीमा संरचना निर्माण गरेर २०७७ चैतदेखि व्यावसायिक उत्पादन सुरु गरिएको थियो । उद्योगले भारततर्फ निर्यातसमेत सुरु गरेको थियो । दैनिक ४० टन उत्पादन क्षमता रहेको उद्योगको दैनिक कारोबार १२ लाख रुपैयाँसम्म पुगेको र वार्षिक कारोबार १५ करोड रुपैयाँसम्म गर्ने लक्ष्य थियो ।

उद्योगका अनुसार सेज व्यवस्थापनबाट विभिन्न विषयमा अपेक्षित सहजीकरण नपाएपछि २०७९ फागुनमा दुईवटा प्लटको भाडा सम्झौता अन्त्य गरिएको थियो । बाँकी दुई प्लटबाट व्यवसाय संचालन गरिए पनि २०८० असोजमा भारतले स्टीलजन्य सामान आयतत रोक्यो । भारत निकासी रोकिएको समयमै सेजभित्रका उद्योगलाई निर्यात नगरेका आन्तरिक बजारमा बिक्रीमा प्रतिबन्ध लगाइयो । यसपछि उद्योग संकटमा परेको थियो ।

त्यसपछि करिब ७५ प्रतिशत कर्मचारी कटौती गर्नुपरेको थियो । निर्यात प्रवद्र्धनका लागि प्रयास जारी राखिए पनि भारत सरकारले स्टिलजन्य वस्तुको आयातमा नयाँ नियम लागू गरेपछि निर्यातसमेत बन्द हुन पुग्यो । यहीबीच सेज प्राधिकरणले आन्तरिक बजारमा विक्रीमा रोक लगायो । त्यसपछि अन्ततः २०८२ भदौमा उद्योग सेजबाट बाहिरियो । सेज छाडेपछि पंचकन्याले आफूले निर्माण गरेका भौतिक संरचना नयाँ इच्छुक उद्योगीलाई बिक्री गर्ने प्रस्ताव अघि सारेको थियो । सोही अनुसार केही उद्योगी खरिद गर्न पनि आएका थिए ।

यसपछि सेज व्यवस्थापनलाई लगानीकर्ताको विवरणसहित निवेदनसमेत दिइएको थियो । तर प्रस्तावमाथि कुनै कारबाही अघि नबढेपछि संरचना व्यवस्थापनका लागि थप एक वर्ष समय दिन माग गरिएको थियो । त्यसमा पनि जवाफ नआएपछि उद्योगले आफ्नै संरचना आफैं भत्काउन थालेको महाप्रबन्धक साहु बताउँछन् ।

सेजको उद्देश्य निर्यात प्रवद्र्धन गर्दै औद्योगिक लगानी आकर्षित गर्नु हो । तर उद्योगीले लगानी गरेर निर्माण गरेका संरचना प्रयोगविहीन हुने र अन्ततः भत्काएर न्यून मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आए यसले सेजको प्रभावकारितामाथि प्रश्न उठाउने देखिन्छ । पंचकन्याले सेज ऐनमा रहेको व्यवस्थालाई व्यावहारिक बनाउँदै पुराना उद्योगका भौतिक संरचना नयाँ लगानीकर्तालाई हस्तान्तरण वा बिक्री गर्न सकिने स्पष्ट व्यवस्था गर्न माग गरेको छ । सेज व्यवस्थापनले भने ऐनलाई देखाएर पन्छिने गरेको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य र तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र काकीले सेज नियमकै कारण पंचकन्याले करोडौं नोक्सानी व्यहोर्न बाध्य हुनु दुःखद् भएको बताउँछन् । उनीहरुले तत्काल सरकारले सहजीकरण गरी उद्योग विक्री गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । विशेष आर्थिक क्षेत्र (सेज) भैरहवाका कार्यालय प्रमुख सवुद डुम्रेले आफूहरुले सहजीकरण गरे पनि कानूनी प्रक्रियाले समस्या भएको जनाए । उनले आउँदा दिन सहजीकरण हुने आफूले अपेक्षा गरेको बताए ।