September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

जसपाका लुम्बिनी प्रदेशसभा सदस्य पाण्डेयसँग स्पष्टीकरण माग

Advertisement

भैरहवा–पार्टीको केन्द्रीय निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरेका लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले स्पष्टीकरण मागेको छ ।

Advertisement

पाण्डेले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने क्रममा पार्टीको केन्द्रीय निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरेका थिए । जसपा नेपालले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री आचार्यको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएको थियो ।

तर, प्रदेशसभामा संसदीय दलका नेतासमेत रहेका पाण्डेयले उक्त निर्णयको अवज्ञा गर्दै सरकारको पक्षमा मतदान गरेपछि केन्द्रीय नेतृत्वले उनीसँग औपचारिक रूपमा स्पष्टीकरण मागेको हो ।

पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाले पठाएको पत्रमा पाण्डेयको मतदान पार्टीको नीति, निर्णय र निर्देशनविपरीत भएको उल्लेख गर्दै त्यसको कारण स्पष्ट पार्न भनिएको छ । पत्र प्राप्त भएको सात दिनभित्र केन्द्रीय कार्यालयमा स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।

जसपा नेपालले पाण्डेयसँग पार्टीको निर्देशनविपरीत सरकारको पक्षमा मतदान गर्नुको कारणसहित आफूबाट पार्टी अनुशासन उल्लङ्घन भएको हो वा होइन भन्नेबारे समेत जवाफ मागेको छ । साथै, पार्टीको निर्देशन पालना नगरेको अवस्थामा विधानको धारा १२६ बमोजिम अनुशासनात्मक कारबाही किन नगर्ने ? भन्ने विषयमा पनि धारणा प्रस्तुत गर्न भनिएको छ ।

पार्टीले तोकेको अवधिमा स्पष्टीकरण नदिएमा वा प्राप्त जवाफ चित्तबुझ्दो नभएमा विधान र प्रचलित निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

लुम्बिनी प्रदेशसभामा जसपा नेपालका पाँच प्रदेशसभा सदस्य छन् । पाण्डेयबाहेक हेमा बेल्बासे केसी, अम्बिका काफ्ले, आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर प्रदेशसभा सदस्य छन् । पाण्डेय संसदीय दलका नेता हुन् ।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मतका क्रममा जसपा नेपालको समर्थन निर्णायक बनेको थियो । सत्तारूढ एमाले र नेकपाको मात्रै मतले बहुमत नपुग्ने अवस्थामा जसपा नेपालका प्रदेशसभा सदस्यको समर्थनले सरकारलाई विश्वासको मत प्राप्त गर्न सहयोग पुगेको थियो ।

केन्द्र र प्रदेश संसदीय दलको निर्णयबीच देखिएको फरकले अब लुम्बिनीमा जसपा नेपालको भूमिका र सरकारसँगको सम्बन्धबारे अव के हुने ? भन्ने नयाँ प्रश्न उब्जाएको छ । जसपाको केन्द्रीय नेतृत्व सरकारबाट अलग हुने पक्षमा देखिए पनि प्रदेश संसदीय दलका नेतासहितका सदस्यले सरकारलाई साथ दिएपछि पार्टीभित्रको निर्णय कार्यान्वयनका वारेमा विवाद देखा परेको छ ।

जसपा नेपालभित्रको यो विवाद तत्काल प्रदेश सरकारको अंकगणितसँग मात्र सम्बन्धित नभई पार्टीको केन्द्रीय निर्णय प्रदेश संसदीय दलले कति हदसम्म पालना गर्नुपर्ने भन्ने राजनीतिक प्रश्नका रूपमा समेत तेर्सिएको छ ।