पश्चिमाञ्चल इङ्लिस स्कुलमा ‘कर्पोरेट इलुसन’ कार्यक्रम


भैरहवा—विद्यार्थीको सिकाइलाई कक्षाकोठाको औपचारिक शिक्षामा मात्र सीमित नराखी समयको मागअनुसार दक्ष र आत्मविश्वासी नागरिक तयार गर्ने उद्देश्यले भैरहवास्थित पश्चिमाञ्चल इङ्लिस स्कुलले ‘कर्पोरेट इलुसन’ कार्यक्रम सम्पन्न गरेको छ ।
समाजलाई मार्गनिर्देशित गर्ने सफल व्यवसायी, राजनीतिक नेतृत्व, सामाजिक अभियन्ता, कलाकार, खेलाडी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वको बोल्ने लगायतका आत्मबिश्वासी शैली तथा कला र प्रस्तुतिको अनुकरण गरी विद्यार्थीले प्रस्तुति दिने विधिलाई ‘कर्पोरेट इलुसन’ भनिन्छ ।
कार्यक्रमको सुरुवात पनि अन्य औपचारिक कार्यक्रमभन्दा फरक शैलीमा गरिएको थियो । कार्यक्रममा न प्रमुख अतिथि थिए, न त अतिथिलाई आसनग्रहण गराइएको थियो । प्रतियोगिता भएकाले चार सदस्यीय निर्णायक मण्डल भने अगाडि उपस्थित थिए।
बालमैत्री शैलीमा आयोजना गरिएको कार्यक्रममा कक्षा ४ देखि ९ सम्मका २२ जना विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा विभिन्न व्यक्तित्वको बोल्ने शैलीको अनुकरण गर्दै प्रस्तुति दिएका थिए । कार्यक्रममा विद्यार्थीका अभिभावकको समेत सहभागिता थियो ।
विद्यालयका प्रिन्सिपल राजु शर्मा ढकालले समाजका विभिन्न वर्ग, समुदाय तथा विश्वका विभिन्न क्षेत्रमा नेतृत्व लिएका व्यक्तित्वका भाषण र बोल्ने शैलीको अनुकरणमार्फत विद्यार्थीलाई उत्प्रेरित गर्ने तथा समाजमा सकारात्मक सोचको विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । यस्ता गतिविधिले विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उनको भनाइ थियो ।
विद्यालयका उपनिर्देशक रेजल ढकालले ठूला समारोहमा बोल्नुपर्दा डराउने, हिनताबोध हुनेलगायतका विद्यार्थीको मानसिक अवस्थालाई यस्ता कार्यक्रमले सुधार गर्दै विद्यार्थीको आत्मबल बढाउने बताए । ‘यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मबल बढाउनुका साथै आगामी दिनमा हरेक चुनौतीको सामना गर्दै अगाडि बढ्न सक्ने क्षमता विकास गर्छ’ उनले भने । उनले अंग्रेजी भाषालाई प्राथमिकता दिँदै जाँदा विद्यार्थीले आफ्नै मातृभाषा बिर्सने हो कि ? भन्ने चुनौतीसमेत देखिन थालेको बताए । त्यसैले विद्यार्थीलाई नेपाली र अंग्रेजी दुवै भाषामा अभिव्यक्ति दिन सक्ने वातावरण आवश्यक रहेको उनको भनाइ थियो ।
अभिभावक राकेश गुरुङले विद्यालयले किताबी ज्ञानलाई मात्र प्राथमिकतामा नराखी यस्ता कार्यक्रम आयोजना गर्नुले विद्यार्थीलाई शैक्षिक तथा मनोवैज्ञानिक रूपमा अगाडि बढ्न सहयोग पुग्ने बताए । अर्की अभिभावक निर्मला ढकालले ‘कर्पोरेट इलुसन’ कार्यक्रमले विद्यार्थीलाई शैक्षिक क्षेत्रमा फरकपनको अनुभूति गराएको बताइन् ।
कार्यक्रममा कक्षा ८ की अदिति थापा समग्रमा उत्कृष्ट वक्ताका रूपमा विजयी भइन्। सिनियर ग्रुपअन्तर्गत अंग्रेजीतर्फ अध्याय पाण्डे प्रथम र सौर्य फैनितार द्वितीय भए । नेपालीतर्फ जुनियर ग्रुपमा प्रस्कीला अली प्रथम र विश्वास गौड द्वितीय भए । जुनियर ग्रुपअन्तर्गत अंग्रेजीतर्फ दक्षिता श्रेष्ठ प्रथम, अर्थवा लामिछाने द्वितीय र समरागी पौडेल तृतीय भएका छन् ।








प्रतिकृया दिनुहोस्