ग्यारेजले कुरुप बन्दै लुम्बिनी रोड, गोनहिया अटोभिलेज सुनसान


भैरहवा–सबै किसिमका सवारीसाधनको मर्मत तथा आवश्यक सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले सिद्धार्थनगर नगरपालिकाले वडा नम्बर ९ गोनहियामा स्थापना गरेको अटोभिलेज योजना अलपत्रमा परेको छ । नगरपालिकाले करोडौं रुपैयाँ लगानी गरेर पूर्वाधार तयार गरे पनि नगरमा छरिएर रहेका अटो व्यवसायीलाई अटोभिलेजमा स्थानान्तरण गर्न नसक्दा योजना नै अलपत्र परेको हो ।
नगरपालिकाले २०७२ सालमा गोनहियामा अटोभिलेज स्थापना गरेको थियो । जग्गा व्यवस्थापनसहित आधारभूत पूर्वाधार निर्माणमा ठूलो लगानी भए पनि अहिले त्यहाँ मुस्किलले सात–आठवटामात्र ग्यारेज मात्र सञ्चालनमा छन् । पर्याप्त व्यवसायी नहुँदा ती ग्यारेजले समेत अपेक्षित व्यापार पाउन सकेका छैनन् ।
अटोभिलेज सुनसान बन्दै जाँदा यता भैरहवा–लुम्बिनी सडकखण्डको लुम्बिनी रोड भने अव्यवस्थित अटो ग्यारेजका कारण कुरुप बन्दै गएको छ । होटल सनस्टारदेखि पश्चिम यादव चोकसम्म सडकको दायाँबायाँ सवारीसाधन मर्मत, बडी निर्माण तथा सामान्य सर्भिसिङका काम हुने गरेका छन् । पुराना तथा बिग्रिएका सवारीसाधन सडक छेउमै थन्क्याउने, पार्टपुर्जा खोल्ने र मर्मत गर्ने क्रमले सडक तथा सर्भिस लेनसमेत अस्तव्यस्त बनेको छ ।
लुम्बिनीको प्रवेशद्वार मानिने सिद्धार्थनगर हुँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा बुद्धजन्मस्थल लुम्बिनी आवतजावत गर्ने मुख्य सडकमा देखिएको यस्तो अव्यवस्थाले सडकको सौन्दर्यमा मात्र असर गरेको छैन, फोहर, प्रदूषण र दुर्गन्धसमेत बढाएको स्थानीयको गुनासो छ । सिद्धार्थनगर–९ का स्थानीयवासी तथा नागरिक अगुवा राजुनारायण श्रेष्ठका अनुसार लुम्बिनी रोड नै ग्यारेजमय बनेपछि सडकको अवस्था असहज भएको छ । ‘बुद्धजन्मस्थल प्रवेशमार्ग लुम्बिनी रोड ग्यारेजमय बनेकाले फोहर र प्रदूषित बनेको छ,’ उनले भने, ‘लुम्बिनी र विमानस्थल आउने–जाने स्वदेशी तथा विदेशी पर्यटकले समेत यसका कारण सास्ती खेप्नु परेको छ ।’
यस क्षेत्रमा पछिल्लो समय पर्यटकीय होटलसमेत थपिँदै गएका छन् । तर, होटल तथा अन्य पूर्वाधारसँगै सडक किनारमा अस्तव्यस्त रूपमा पार्किङ गरिएका सवारीसाधन, मर्मतका लागि खोलिएका गाडी तथा छरिएका पार्टपुर्जाले क्षेत्रको सौन्दर्यमा नकारात्मक प्रभाव पारेको छ । सर्भिस लेनमै मर्मतका लागि राखिएका सवारीसाधनका कारण यात्रु तथा अन्य सवारीसाधनलाई आवतजावतमा समेत समस्या हुने गरेको छ ।
अव्यवस्थित ग्यारेज, पार्किङ र सडक किनारमै हुने सवारीसाधन मर्मतका कारण समस्या बढ्दै गए पनि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न नसकेको स्थानीयको गुनासो छ । सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले लुम्बिनी रोडमा सञ्चालित ग्यारेज हटाउन पटक–पटक पत्राचार गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनका अनुसार गोनहिया अटोभिलेजमा आवश्यक पूर्वाधार पर्याप्त रूपमा विकास नहुँदा पनि व्यवसायीलाई त्यहाँ आकर्षित गर्न समस्या भएको हो । ‘नगरपालिकाले लगानी गरेर प्रदेश सरकारको सहयोगसमेत लिएर व्यवस्थापन गरेको अटोभिलेजमा ग्यारेज सुरक्षित रूपमा सञ्चालन हुने वातावरण बनाउनुपर्छ,’ राणाले भने ।
लुम्बिनी रोडमा अव्यवस्थित रूपमा सञ्चालित अटो ग्यारेजको क्षेत्र सिद्धार्थनगरसँगै मायादेवी गाउँपालिकाको क्षेत्रमा समेत पर्छ । मायादेवी गाउँपालिका–८ का वडाध्यक्ष चोकबहादुर थापाले कवाड तथा ग्यारेजका कारण क्षेत्रको सुन्दरता र महत्व घट्दै गएको बताए । ‘गाउँपालिकामा ग्यारेजको पोलिसी छैन,’ उनले भने, ‘जसले गर्दा यस विषयमा प्रभावकारी काम गर्न सकिएको छैन ।’
भैरहवा–लुम्बिनी सडकखण्डको महत्वपूर्ण क्षेत्रमा सडक तथा सर्भिस लेनमै सवारीसाधन थन्क्याउने, मर्मत गर्ने तथा पार्टपुर्जा, कवाडलगायत सामग्री राख्ने गरिएको छ । यसले सडकको सौन्दर्य बिगार्नुका साथै आवागमनमा समेत अवरोध सिर्जना गरेको छ । लुम्बिनी प्रवेश गर्ने मुख्य मार्गमै देखिएको यस्तो अव्यवस्थाले नेपाल आउने विदेशी पर्यटकमा समेत नकारात्मक सन्देश जाने पर्यटन व्यवसायीको भनाइ छ । पर्यटकीय क्षेत्रतर्फ जाने मुख्य सडक नै अस्तव्यस्त देखिँदा लुम्बिनीको पर्यटन छविमा असर पर्ने उनीहरूको चिन्ता छ । त्यसमाथि बस तथा अन्य ठूला सवारीसाधनसमेत ग्यारेज क्षेत्रमा रोकिँदा सडकमा जाम हुने र दुर्घटनाको जोखिम बढ्ने गरेको छ ।
नगरपालिकाले अटोभिलेज निर्माणमा लगानी गरे पनि आफ्नै योजना र नियम कार्यान्वयन गर्न नसक्दा गोनहिया अटोभिलेज प्रभावकारी बन्न नसकेको ग्यारेज सञ्चालक राजेश धवल बताउँछन् । ‘नगरपालिकाले अन्यत्र अटो ग्यारेज सञ्चालन गर्न नपाइने भनेर सम्बन्धित व्यवसायीलाई पत्राचार गरेर कडाइ गर्ने हो भने सबै अटो व्यवसायी एउटै स्थानमा आउने थिए,’ धवलले भने, ‘नगरपालिकाले गोनहिया अटोभिलेजमा आवश्यक अन्य पूर्वाधार तयार गर्नेतर्फ बेवास्ता गर्दा धेरै अटो व्यवसायी लुम्बिनी रोड र लुम्बिनी गेटतर्फ सरेका छन् ।’
नगरपालिकाको अटोभिलेज योजना कार्यान्वयनमा कमजोरी हुँदा एकातिर करोडौं लगानीको संरचना उपयोगविहीन बनेको छ भने अर्कोतिर लुम्बिनी जाने मुख्य सडक अव्यवस्थित ग्यारेजका कारण दिनप्रतिदिन कुरुप बन्दै गएको छ ।








लेखकको सम्वन्धमा