September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

भैरहवाको बसडिलवामा बुद्ध हेरिटेज होटल संचालनमा

Advertisement

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवामा दुई करोड रुपैयाँको लगानीमा बुद्ध हेरिटेज होटल सञ्चालनमा आएको छ । पर्यटन तथा होटल व्यवसायको सम्भावना बढ्दै गएको भैरहवा क्षेत्रमा निजी क्षेत्रबाट नयाँ लगानी थपिएसँगै होटलको संख्या पनि बढ्न थालेको हो ।

Advertisement

भारतको सिमा नाकादेखि करिब पाँच किलोमिटर दूरीमा रहेको होटलमा लक्जरी सुविधा छ । होटलका अध्यक्ष जेपी सुवेदीका अनुसार भारतमा करिब २० वर्ष र नेपालमा पाँच वर्ष होटल क्षेत्रमा काम गरेको अनुभवलाई आफ्नै व्यवसायमा रूपान्तरण गर्दै होटल सञ्चालनमा ल्याइएको हो ।

होटलमा लिफ्टसहितको सुविधा रहेको छ भने आकर्षक रेस्टुरेन्ट छ । होटलमा २० वटा स्टार होटल सहरका कोठा छन् । होटलमा विभिन्न परिकारका खानाका साथै ग्राहकको आवश्यकता र रुचिअनुसार सेवा उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष सुवेदीले बताए ।

‘स्तरीय कोठाहरु छन्, लिफ्ट, वाईफाई सहितको पार्किङको व्यवस्था छ । होटल शान्त ठाउँमा रहेकाले धेरैको रोजाइ पर्छ भन्ने विश्वास छ’, उनले भने । चारतारे होटलमा हुने आन्तरिक व्यवस्थापनको सम्पूर्ण सेवासुविधा रहेको उनले बताए । ‘जसरी चारतारे होटलमा सुविधा छ त्यस्तै लक्जरी रुम सहितको राम्रो व्यवस्था यो होटलमा पनि छ’, उनले भने ।

हाललाई प्रतिकोठा एकरातको तीन हजारदेखि ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । अध्यक्ष सुवेदीले भारत, भियतनाम, मलेसिया लगायत देशका पर्यटकले होटल बुकिङ सुरु गरिसकेको जनाए । होटलका कोठाहरु डिलक्स, सुपर डिलक्स र टुइन डिलक्स छन् । आगामी दिनमा एक सय भन्दा बढी अटाउने गरी ठुलो बैंक्वेट हल बनाउने तयारी गरिएको उनले बताए ।

होटलमा पर्याप्त पार्किङको सुविधा, बैठक तथा कार्यक्रम सञ्चालनका लागि मिटिङ हललगायतका पूर्वाधारसमेत निर्माण गरिएको छ । भैरहवा क्षेत्र होटल तथा पर्यटन व्यवसायका लागि महत्वपूर्ण गन्तव्य बन्दै गएको अवस्थामा नयाँ होटल सञ्चालनमा आउनुले पर्यटक तथा आन्तरिक पाहुनालाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी लुम्बिनीलाई केन्द्रमा राखेर भैरहवा र आसपासका क्षेत्रमा पर्यटन गतिविधि बढिरहेका कारण होटल क्षेत्रमा लगानीको सम्भावना पनि बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।

अध्यक्ष सुवेदीले भारत तथा तेस्रो मुलुकका पर्यटक लक्षित गरी होटल संचालनमा ल्याइएको जनाए । उनका अनुसार होटल संचालनकै दिनै सबै कोठाहरु बुकिङ भइसकेका छन् । भारतसँगको सीमा नाका नजिकै रहेको भैरहवा लुम्बिनी भ्रमणमा आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकका लागि महत्वपूर्ण प्रवेशद्वारका रूपमा पर्छ ।

यही पर्यटन सम्भावनालाई लक्षित गर्दै होटल व्यवसायमा लगानी गरेको सुवेदीले जनाए । पर्यटन पूर्वाधार विस्तारसँगै भैरहवामा होटल तथा आतिथ्य सेवाको प्रतिस्पर्धा बढिरहेको अवस्थामा बुद्ध हेरिटेज होटलले गुणस्तरीय सेवा र आतिथ्यमार्फत् आफ्नो छुट्टै पहिचान बनाउने लक्ष्य लिएको छ ।