आन्तरिक विवादले डेढ महिना ढिलो गरी कोटहीमाईले ल्यायो बजेट


भैरहवा – निर्धारित समयमै रुपन्देहीका अन्य पालिकाले गाउँसभा पूरा गरे पनि कोटहीमाई गाउँपालिका आन्तरिक झमेलामा रुमल्लियो । संघले बारम्बार ताकेता गरे पनि जनप्रतिनिधिबीच मत नमिल्दा गाउँसभा समयमा हुन सकेन । एक महिनापछि बल्लतल्ल शनिबार १९ औँ गाउँसभा भएको छ ।
संवैधानिक व्यवस्था अनुसार गत असार १० गते भित्र पालिकाले गाउँसभा गरिसक्नु पथ्र्यो । असार अन्तिमसम्म सभा आयोजना गर्न दबाब भए पनि हुन सकेन । शनिबार गाउँसभामा गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले आर्थिक वर्ष २०८३–०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । पालिकाका बासिन्दाको अपेक्षालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको अध्यक्ष त्रिपाठीले दाबी गरे ।
‘स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार, समृद्ध कोटीहीमाइको मूल आधार’ भन्ने नारासहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार, सूचना प्रविधि र सुशासनलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाउन विषादीको सुरक्षित प्रयोगसम्बन्धी जनचेतना फैलाउने र प्राङ्गारिक मलको प्रयोगमा जोड दिने उल्लेख छ ।
पशुपालनतर्फ खोरेत, भ्यागुते तथा लम्पी स्किनजस्ता रोग नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरिने जनाइएको छ । स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारका लागि सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्ने नीति कार्यक्रममा उल्लेख छ । साथै, कोटीहीमाइ क्षेत्रका पुरातात्त्विक स्थल, स्थानीय कला तथा संस्कृतिको संरक्षण गरिने भएको छ ।
शिक्षक तथा प्रधानाध्यापकलाई शैक्षिक विकासमा कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग सम्बन्धी तालिम दिने नीति पनि अघि सारिएको छ । विद्यालयमा जङ्क फुडलाई पूर्ण रूपमा प्रतिबन्ध गरी स्थानीय उत्पादनमा आधारित साप्ताहिक मेनु लागू गर्ने योजना गाउँपालिकाले सार्वजनिक गरेको छ । स्वास्थ्य बीमालाई प्रभावकारी बनाउँदै तोकिएका समूहलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने नीति गाउँपालिकाले लिएको छ । गर्भवती तथा सुत्केरी आमाका लागि पोषण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
गाउँपालिकाका नागरिकलाई उपलब्ध गराउँदै आएको निःशुल्क रगत कार्यक्रमलाई निरन्तरता दिने तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सरको उपचारका लागि विशेष आर्थिक सहयोग उपलब्ध गराउने नीति कार्यक्रममा उल्लेख छ । सूचना प्रविधिको प्रयोगमार्फत गाउँपालिकाका सेवा तथा अभिलेखलाई थप व्यवस्थित बनाउने योजना पनि नीति कार्यक्रममा समेटिएको छ । घरहरूको तथ्याङ्क यकिन गर्न डिजिटल हाउजिङ नम्बर प्रणाली तथा एकीकृत जीआईएस पोर्टल सञ्चालनमा ल्याइने भएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४ का लागि कुल ५६ करोड ६४ लाख ९३ हजार रुपैयाँको आय–व्यय अनुमान प्रस्तुत गरेको छ । पालिकाको उपाध्यक्ष शुसिला कुमारी यादवले बजेट प्रस्तुत गर्दै कुल आयमध्ये आन्तरिक राजस्वबाट २ करोड ४२ लाख ६९ हजार, संघीय तथा प्रदेश सरकारबाट समानीकरण अनुदान १२ करोड ९६ लाख १७ हजार, राजस्व बाँडफाँडबाट ११ करोड ७५ लाख ५७ हजार र सशर्त चालु तथा पुँजीगत अनुदानबाट १९ करोड १६ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताइन् । समपूरक अनुदान २ करोड २७ लाख, विशेष अनुदान १ करोड ५० लाख, सामाजिक सुरक्षा सशर्त अनुदान १४ करोड ४८ लाख ४८ हजार तथा आन्तरिक अल्या ६ करोड ५७ लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।








प्रतिकृया दिनुहोस्