August 23, 2026, Sunday
२०८३ भाद्र ८ सोमबार

पाल्पामा प्रदेश सरकारका सडक योजना अलपत्र

Advertisement

पाल्पा– लुम्बिनी प्रदेश सडक पूर्वाधार विकास कार्यालयद्वारा वर्षौदेखि पाल्पामा सञ्चालित सडक योजना अलपत्र छन् । सडक अधुरा हुँदा यात्रु तथा सवारीधनीले सास्ती बेहोर्नुपरेको छ । २०७३ असोज ४ गते ठेक्का सम्झौता भएको चिलाङ्दी–चापपानी–राम्दी सडकअन्तर्गतको मालारानी–गरनडाँडा खण्ड अहिलेसम्म पूरा हुन सकेको छैन । ६.६० किलोमिटरको यो खण्डको ठेक्का वाईपी–जयरक्तकाली जेभी, पुल्चोक, ललितपुरले लिएको हो ।

Advertisement

ठेक्काको काम नसकिँदै कालोपत्र उप्किएको छ भने सडकमा खाल्डाखुल्डी छन् । लामो समयदेखि मर्मतसम्भार नहुँदा बर्खामा हिलो र हिउँदमा धुलाम्मे भएर यात्रा गर्नुपर्ने अवस्था छ । साविक जिल्ला विकास समितिले ८ किलोमिटर कच्ची सडकलाई ओटासिल गर्न आठ करोड ४० लाख ५८ हजार रुपैयाँमा ठेक्का दिएको थियो । अहिलेसम्म निर्माण व्यवसायीले ६ करोड ८५ लाख २३ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारीका अनुसार ८१.५२ प्रतिशत वित्तीय र ८३ प्रतिशत भौतिक प्रगति भएको छ । स्थानीय कमल गैरेले निर्माण व्यवसायीलाई समयमै काम पूरा गर्न लगाउन नसक्दा सडकको अवस्था एक दशकदेखि नाजुक बनेको बताए ।

सडक पूर्वाधार कार्यालयको अलमलले सर्वसाधारणले सास्ती खेप्नुपरेको उनको भनाइ छ । कार्यालय प्रमुख भण्डारीले भने निर्माण व्यवसायीले काम नगर्दा पहिले बनेको सडकसमेत बिग्रिएको बताए । यही खण्डको गरनडाँडादेखि राम्दी (सिद्धार्थ राजमार्ग) सम्मको ४.८ किलोमिटर सडकको काम पनि म्याद सकिएको चार वर्ष बित्दासमेत अलपत्र छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सडक पूर्वाधार विकास कार्यालयले २०७८ वैशाख १७ गते ठेक्का लगाएको यो सडक २०७९ साउन १६ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

तर, अहिलेसम्म ५० प्रतिशत भौतिक र ४९.७६ प्रतिशत वित्तीय प्रगति भएको छ । म्याद थप भएर २०८२ चैत २० सम्म सक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको छ । पाँच करोड ८३ लाख ५६ हजार रुपैयाँमा भएको ठेक्का पीआर–पन्थ जेभी, सातदोबाटो, ललितपुरले लिएको हो । लुम्बिनी प्रदेशको गौरवको योजनाअन्तर्गत आर्यभन्ज्याङ–रामपुर सडकको हुमीनदेखि ताहुँसम्म स्तरोन्नतिको काम पनि ठेक्काको म्याद सकिएको एक वर्ष बित्दा अधुरै छ ।

अहिलेसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ । पर्याप्त बजेट विनियोजन नहुँदा काममा ढिलाइ भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । यो सडकलाई लुम्बिनी प्रदेश सरकारले रामपुर–कपुरकोट आयोजनाअन्तर्गत राखेको छ । निर्माण व्यवसायीले १२ करोड ३० लाख रुपैयाँ भुक्तानी लिइसकेको छ ।

सडक पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी तेजप्रसाद अधिकारीका अनुसार साढे चार किलोमिटर सडक निर्माणका लागि २४ करोड २६ लाख रुपैयाँमा दिव्यज्योति कन्स्ट्रक्सनसँग सम्झौता भएको हो । २०८२ असार १९ गतेभित्र काम सक्ने गरी सम्झौता भए पनि ४८ प्रतिशत काम बाँकी छ । कालोपत्र, पर्खाल, कल्भर्ट, बेस लगायतका काम अझै बाँकी छन् । यस वर्ष ६ करोड ५० लाख बजेट छ ।

पूर्वखोला गाउँपालिका पहुँचमार्गअन्तर्गत हुमीन–पूर्वखोला सडकको १६ किलोमिटर कालोपत्र गर्ने काम म्याद सकिएको तीन वर्ष बित्दासमेत पूरा भएको छैन । २०८० कात्तिकसम्म सक्नुपर्ने यो सडकमा नाली निर्माण, सबबेस बिछ्याउने, टेवा पर्खाल, ग्याभियन लगायतका काम बाँकी छन् । केही भागमा तीन वर्षअघि नै कालोपत्र भए पनि अधिकांश स्थानमा सबबेस, सडक चौडा गर्ने, रिटेनिङ वाल र नाली निर्माणको काम बाँकी रहेको कार्यालयले जनाएको छ ।

यो सडक निर्माणका लागि २०७८ वैशाखमा १७ करोड १५ लाख ३० हजार रुपैयाँमा सीएमपीआर पन्थ जेभीसँग ठेक्का सम्झौता भएको हो । लुम्बिनी प्रदेश सरकारको सहयोगमा ५.५ मिटर चौडाइको सडक कालोपत्र गर्ने गरी ठेक्का लागेको हो । चालु आर्थिक वर्षमा ३ करोड ५० लाख रुपैयाँ बजेट छ । कार्यालय प्रमुख भण्डारीका अनुसार निर्माण व्यवसायीलाई अन्तिमपटक म्याद थपको प्रक्रिया अघि बढेको छ । ‘निर्माण व्यवसायीलाई पटकपटक ताकेता गरिएको छ,’ उनले भने, ‘लामो समयदेखि अलपत्र रहेका सडकको हकमा अझ बढी ताकेता गरिएको छ ।’