होटलको संख्या बढ्यो, हस्पिटालिटी खोइ ?


भैरहवा– रुपन्देहीको दक्षिण नाकादेखि उत्तर पाल्पासम्म केही घरको अन्तरमा स्तरीय होटल छन् । सहरदेखि गाउँसम्म थरिथरी परिकार पाक्ने रेष्टुरेन्ट छन् । यसरी खुलेका रेष्टुराँमा पनि विविधता छन् । कतै टिपिकल रैथाने खाना पाइन्छन् । कतै विदेशी खाना रोजाइँमा परिरहेका छन् । रुपन्देहीबाटै रेष्टुरेन्ट चेन व्यापारका रुपमा विस्तार भइरहेका छन् । होटलको संख्या बढेको बढ्यै छ ।
पछिल्लो समय साना होटलदेखि तारेसम्म निर्माणको होड छ । पहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण होटल व्यवसायमा लगानी थपिएको जिकिर धेरै सुनिन्थ्यो । अहिले विमास्थलबाट अन्तर्राष्ट्रिय उडान छैनन् । सिघ्र त्यस्ता उडानको सम्भावना पनि देखिँदैन । तैपनि लुम्बिनी, मायादेवी, सिद्धार्थनगर, ओमसतिया, तिलोत्तमा, बुटवल, सैनामैना र देवदह नगर क्षेत्रमा होटल र रेष्टुरेन्टको बाढी छ । अहिले बुटवल नजिकै चुरेमा पनि पर्यटन पूर्वाधार विकास भइरहेका छन् ।
अहिले खुल्ने होटल र पहिलेका होटलका संरचना समान छैन । पछिल्लो समय विश्वस्तरीय सेवा दिने उद्देश्यले होटल खुलिरहेका छन् । झन अन्तर्राष्ट्रिय होटल चेनको प्रवेशले हस्पिटालिटी क्षेत्रमा प्रतिष्पर्धाको वातावरण बनेको छ । विदेशी कम्पनीको प्रवेशले रुपन्देहीका होटल र रेष्टुरेन्ट क्षेत्रका हस्पिटालिटीमा सुधारको अपेक्षा गर्न सकिन्छ । तर, अहिले यहाँका होटलका संरचना आकर्षक छन् । होटल भित्र कोठा, चोठा, हल, रेष्टुराँको सिंगारपटार राम्रो छ ।
तर, होटलले प्रदान गरिरहेको हस्पिटालिटीलाई लिएर सेवाग्राहीको गुनासो पनि छ । यहाँका होटलमा आउने पाहुनाका अनुसार सबैं होटलले सौन्दर्यकरणमा जोड दिएका छन् । पाहुनाको चाहना अनुसार मनोरञ्जनका प्याकेज पनि उपलब्ध गराइरहेका छन् । तर, हस्पिटालिटी भनेको आकर्षक भवन र रंगरोगन मात्र होइन । होटलले प्रदान गर्ने आतिथ्यले नै पर्यटन उद्योगलाई दिगो बनाउने हो । साथैं समग्र रुपन्देहीको पर्यटनका बारेमा सकारात्मक खबर फिँजाउने हुन् ।
अहिले रुपन्देहीमा तारे होटल, क्यासिनो, स्पा, क्लवमा लगानी ओइरिरहेको छ । सबैको मुख्य ध्यान छिमेकी भारतीय पर्यटकमा केन्द्रित छ । अझ भारतीयले यहाँँ आएर बिहेवारी गर्न थालेपछि लगानीकर्ता हौसिएका छन् । यो हौसलालाई अझ मजबुत तुल्याउन सबै होटल, रेष्टुरेन्टले हस्पिटालिटीमा सुधार गर्न जरुरी छ ।
पाहुनाको होटलमा स्वागतदेखि उनीहरुलाई कोठामा पुर्याउँदा नेपाली पनको आतिथ्य झल्किने कुनै कुरा भेटिँदैन । यसमा ध्यान दिनुपर्ने पर्यटन क्षेत्रका अगुवा बताउँछन् । अनि पाहुनाले आराम पाए–नपाएको ख्याल गर्नुपर्ने अगुवाको तर्क छ ।
आफ्नो होटलमा आएका पाहुनलाई रेष्टुरेन्टमा बसाल्ने तरिकादेखि खान पस्किने बेग्लैं शैली हुनुपर्छ । अर्थात् फरक पनको महशुष गराउनु पर्छ । अहिले अधिकांश होटलका रेष्टुरेन्ट एउटै किसिमका छन् । कुर्सीमा बसेर टेबुलमा पस्किएको खानुपर्छ । यहीँ तरिकाले धेरै दिनसम्म पाहुना आकर्षित गर्न सकिँदैन । होटल परिसरमा माटोसित सरोकार राख्ने खालका रेष्टुरेन्ट जरुरी छ । पाहुनालाई प्रत्येक पल फरक ठाउँमा पुगेको अनुभूति हुनुपर्छ ।
ए होटलमा भएकै सुविधा बी होटलमा लिनुपर्ने भएपछि पर्यटन दोहोर्याएर आउँदैनन् । होटल कर्मचारीको पोशाकदेखि बोल्ने शैलीसम्म सुधार गर्न आवश्यक देखिन्छ । त्यसका लागि जनशक्ति उत्पादनमा लगानी गर्नुपर्ने सरोकारवाला बताउँछन् ।
रुपन्देही आउँदा होटलका अग्ला भवन उक्लिन पाइन्छ भन्ने सन्देश जानु मात्रै राम्रो होइन् । यस्तो गर्मी ठाउँमा पनि शीतल महशुष हुनेगरि वातावरण निर्माण गर्नुपर्छ । सूर्योदय र सूर्यास्तलाई सदूपयोग गर्न जरुरी छ । सामाजिक सञ्जालमा देखिने ठिप्पणी हेर्दा होटल र रेष्टुरेन्टका संरचना नमूना र आकर्षक भए पनि ‘हस्पिटालिटी’ चित्तबुझ्दो नभएको गुनासो गरिरहेको देखिन्छ । आज मार्केटमा आएका कर्मचारीले भोलि नै सेवा सुधार गर्न नसक्लान । त्यसका लागि देश–विदेशको अनुभव हाँसिल गरेका व्यक्ति भित्र्याउनुपर्ने पर्यटविद विक्रम पाँडेकाजी बताउँछन् ।
‘जव हामी आतिथ्यमा लगानी गर्न थाल्छौं, तब होटल रेष्टुरेन्टको स्वतः प्रचार प्रसार हुन्छ । आतिथ्यमा गरिने लगानीलाई हामी खर्च देख्न थाल्यौं भने हाम्रो होटलको व्यापार विस्तार हुँदैंन । बरु खुम्चिन्छ । अब यसतर्फ पनि सोच्ने कि ?’, उनले भने ।








प्रतिकृया दिनुहोस्