२० वर्षदेखि घरदैलोमा खबर पुर्याइरहेका हरिजन


भैरहवा– बिहानको पाँच बज्दा सहर निन्द्रामै हुन्छ । तर, भैरहवाको मुटु बुद्धचोकतिर केही युवाहरू हतारोमा हुन्छन् । उनीहरु एकजुट भएर काम अगाडि बढाउने सुरसार गरिरहेका हुन्छन् । पत्रिका जम्मा भएपछि साइकलको घण्टी बजाउँदै कागजको गन्ध मिसिएको हावासँगै उनीहरू वितरण गर्न घरदैलोमा पुग्छन् । यसरी पत्रिका वितरण गर्ने भीडमा अग्रपङ्क्तिमा हुन्छन् ४० वर्षीय जयकेश हरिजन । सिद्धार्थनगर–१२, डाँडागाउँका हरिजन २० वर्षदेखि निरन्तर पत्रिका वितरण गरेर जीविकोपार्जन गरिरहेका छन् ।
भीम अस्पतालमा जन्मिएका जयकेशले भानु माध्यमिक विद्यालयबाट कक्षा १० पास गरेका थिए । ५५ प्रतिशत अंक ल्याएर १० कक्षा उत्तीर्ण गरेका हरिजनले त्यसपछि भने पारिवारिक जिम्मेवारीका कारण पढाइलाई निरन्तरता दिन सकेनन् । पढाइको गती बीचमैं अवरुद्ध हुन पुग्यो । परिवारको दायित्व र जीवन चलाउने संघर्षले उनलाई बाल्यकालमैं परिपक्व र जिम्मेवार बनायो । त्यसबेलादेखि उनले सहरका गल्लीहरूमा साईकलका पांग्रा घुमाउँदै, साइकलको घन्टी बजाउँदै पत्रिका बाँड्न थाले । ‘खेल्ने र साथीभाइसँग रमाइलो गर्ने उमेरमा मैले बिहानको चिसो हावा र खाली सडक रोजें’, उनी भन्छन् । पहिलो दिन मिलनचोकबाट सुरु भएको पत्रिका बाँड्ने उनको यो यात्रा आहिले बुद्धचोक, देबकोटा चोक, बैंक रोड, सरकारी कार्यालय र मिलनचोक हुँदै बसपार्कसँगै भैरहवा नगरभरि फैलिएको छ ।
जयकेशसँगै महेश धवलले १२ बर्षदेखि, सन्तवलीले २५, बसन्त यादवले २५, कृष्ण खनाल २० बर्षदेखि सहकर्मी साथीहरु छन् । उनीहरु पनि बिहानै पत्रिका बाँड्न हिउँदमा न्यानो र गर्मीमा शितल बिस्ताराको मिठो निन्द्रालाई त्यागेर बाहिर सडकमा निस्किन्छन् ।
उनीहरू सबैको भेटघाट वा जमघट हुने स्थल भने बुद्धचोकस्थित सबिता मिनी मार्केट अगाडि हो । आफूले बाँड्नु पर्ने पत्रिकाको मुठा सम्हालेर जम्मा गरेपछि सवैजना एक–एक कप चिया पिएर छुटिन्छन् । अनि सहरका गल्ली गल्लीमा साइकल गुडाउँदै हराउँछन् । बिहानको उज्यालोसँगै उनीहरूको साइकल शहरभर पत्रिका लिएर बाँड्न निस्किन्छन् ।
तर यो काम सधैं सहज र सजिलो हुँदैन । कहिले छाडा र भुस्याहा कुकुरले पछ्याउँदै लखेट्छ त कहिले जाडोमा कुहिरोले टाढा केही नदेखिएर दुर्घटना हुने जोखिम । कहिले झरीमा पत्रिका जोगाउँदै भिज्दै बाँड्नु पर्छ भने कहिले बिहानैदेखि गर्मीमा खलखली पशिना बगाउँदै ।

‘वर्षा परेपछि पत्रिका प्लास्टिकले बेरेर बाँड्छौं, ताकि कसैको समाचार पानीसँगै बग्न नजाओस्’, बिगतको एउटा स्मरणलाई मुस्कुराउँदै उनले सुनाए, ‘एकपटक त साइकलबाट झरेर ग्राहककोमा दिँदै गर्दा पछाडीबाट चोरले मिलनचोकमै साइकल चोरेर भाग्यो । तर, पनि मैले हरेश खाइनँ ।’ साइकल चोरी भएपछि दुईदिन पत्रिका वितरण नै प्रभावित बन्यो । कसरी साइकल जोहो गर्ने भन्ने चिन्तामा परे । त्यसपछि तेस्रो दिनमा उनले १ हजार ५ सय रुपैयाँ तिरेर पुरानो साइकल खरिद गरेर भए पनि आफ्नो पेशालाई निरन्तरता दिए ।
दश वर्षसम्म निरन्तर पशिना चुहाउँदै श्रम गरे पनि पारिवारिक आर्थिक अवस्था सोँचोजस्तो परिवर्तन नआएपछि उनले साउदी अरब जाने निर्णय लिए । ५० हजार रुपैयाँ ऋण लिएर उनले परदेशको बाटो समाते । ‘परिवारका लागि मैले सहर छाडें, तर मन भने यहीँ थियो’, बिगतलाई सम्झिँदै उनले भने, ‘साउदीको मरभूमिमा ६ वर्षको कठोर श्रमपछि फेरि फर्किएँ, पुनः आफ्नै माटोमा र पहिलाकै पेशामा ।’ बिदेश पुगेर पनि उनले सोचे अनुसार आम्दानी गर्न सकेनन् । बिदेशबाट फर्किंदा २ लाख २५ हजार साथमा लिए स्वदेश फर्किए ।
अहिले पनि जयकेश बिहानै उठ्छन्, स्थानीय पत्रिकाहरु बटुल्छन् र सहरका हरेक कुना कुनामा पत्रिका पुर्याउँछन् । बिहानको एकखेप बाँडेर सकिएपछि उनी भैरहवाको मिलनचोकस्थित हाम्रो पुस्तक पसल पुग्छन् । नयाँ पत्रिका, कान्तिपुर, गोरखापत्र, काठमाडौं पोस्ट, नागरिक लगायत राष्ट्रिय पत्रिकाहरु लिएर फेरि पत्रिका बाँड्न निस्कन्छन् । बिहान ११ बजे घर फर्किएर परिवारसँग सँगै खाना खान्छन् । अनि आफू कार्यरत भैरहवास्थित लुम्बिनी प्रेस क्लबको कार्यालयमा कार्यालय सचिवको जिम्मेवारी बहन गर्न त्यसतर्फ निस्किन्छन् ।

उनको श्रीमती, एक छोरा र एक छोरी छन् । छोराछोरी दुबै विद्यालयमा पढ्छन् । छोरी कक्षा ११ मा ब्यवस्थापनमा अध्ययनरत छिन भने छोरा कक्षा ४ मा । उनको श्रमले नै परिवारको दैनिक गुजारा चलेको छ । घर खर्च धानिएको छ । ‘पत्रिका बाँड्दै गर्दा सहरका हरेक मानिससँग भेटघाट र सम्बन्ध राख्ने अवसर मिल्छ । यसबाट मलाई सन्तुष्टि मिल्छ’, जयकेशले भने । बिहानको हावा, साइकलको घण्टी र छापिएको पत्रिकाको बास्ना– यी नै जयकेशका जीवनका स्थायी साथी हुन् । दुई दशकदेखि उनले बाँड्दै आएका पत्रिकासँगै बाँडिएको छ उनको पसिना, संघर्ष र आत्म सम्मान ।








लेखकको सम्वन्धमा