‘विरामीलाई सस्तो दरमा गुणस्तरीय सेवा दिनेगरी क्यान्सर अस्पताल संचालन गर्दैछौं’

अहिले पनि क्यान्सर रोगको उपचारका लागि नेपालका पश्चिम क्षेत्रका नागरिकहरू काठमाडौं, चितवन अथवा भारत पुग्नुपर्ने बाध्यता छ । क्यान्सर रोगका बिरामीहरू टाढा जानुपर्ने बाध्यात्मक परिस्थितिका कारण दुःख पाउने गरेका छन् । यही कुरालाई मध्यनजर गर्दै भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल नेतृत्वको टिमले भैरहवामा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल खोल्न तिव्र तयारी गरिरहेका छन् । यहाँ पब्लिक कुराले निर्माणको तयारीमा रहेको क्यान्सर अस्पतालबारे संचालक पौडेलसँग कुराकानी गरेको छ। प्रस्तुत छ, पौडेलसँग गरिएको कुराकानीको सारसंक्षेप ।
भैरहवामा यहाँहरुले क्यान्सर अस्पताल खोल्ने तयारी गरिरहनुभएको छ, तयारी कहाँ पुग्यो ?
हो, हामीले भैरहवामा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल खोल्ने तिव्र तयारीमा छौं । अहिलेसम्म कागजी तयारीले पूर्णता पाइसकेको अवस्था छ । अब, केही समयपछि हामी कन्स्ट्रक्सन (निर्माण) को काम अगाडि बढाउने छौं । प्रक्रियागत काम भने हामीले २०७८ सालबाट नै सुरु गरेका थियौं । यो अवधिमा हामीले जग्गा व्यवस्थापन लगायत वातावरणीय रिपोर्ट बनाउने काम भयो । कागजी काम सकिएकाले अब, धमाधम भौतिक पूर्वाधारको काम सुरु गर्दैछौं ।
मिति नै भन्नु पर्दा क्यान्सर अस्पताल निर्माण कहिलेदेखि सुरु हुन्छ ?
मैले माथि नै भनिसकेँ, कागजी काम सकिएको । अब, २ देखि ३ महिनामा निर्माणको काम थाल्छौं । यही बुझौं २०८२ साल वैशाखबाट अस्पतालको तीव्र रुपमा निर्माणको काम सुरु हुनेछ । २०८३ भित्र अस्पताल संचालनमा आउने गरीका काम अगाडि बढाएका छौं ।
भैरहवामै क्यान्सर अस्पताल खोल्ने निर्णयमा किन पुग्नुभयो ?
दैनिकरुपमा यो रोगका विरामी बढीरहेका छन् । तर, नजकि अस्पताल नहुँदा टाढा धाउनुपर्ने बाध्यता छ । यसको अन्त्य गर्ने हाम्रो चाहना हो । अर्कातर्फ क्यान्सर रोगबाट मेरो आमाको पनि मृत्यु भएको थियो । साथै परिवारका अन्य केही सदस्यको पनि यही कारणबाट मृत्यु भएको थियो । भैरवा मेरो जन्मभूमि हो । आफ्नो जन्मभूमि भैरहवामा पनि केही गरौं र यस भैरवालाई पनि एउटा मेडिकल हबको रुपमा पहिचान गराऔं भन्ने उद्देश्य हो । साथै भैरवाको नजिकै रहेका भारतीय बिरामीहरू पनि यहाँ उपचारका लागि आउने धेरै सम्भावना छ । यस क्षेत्रमा क्यान्सरको उपचार गर्ने अस्पताल धनगढी देखि लिएर नारायणगढसम्म नरहेको हुँदा बिरामीहरुलाई पनि सेवा दिन सकिने, यातायात लगायत अन्तर्राष्ट्रिय एयरपोर्ट भैरहवामै रहेको र यस सेवा दिनका लागि भैरहवा क्षेत्र उपयुक्त मान्यौ । यसैले पनि भैरहवालाई छनोट गरेर अस्पताल खोल्ने निर्णयमा पुग्यौं ।
क्यान्सर अस्पताल कति लगानीमा निर्माण हुँदैछ ? लगानीकर्ता को–को हुनुहुन्छ ?
क्यान्सर अस्पताल खोल्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो । लगानीकै कुरा गर्दा यो अत्यन्त धेरै लगानी लाग्ने अस्पताल हो । तर, यस क्षेत्रमा हाम्रो विगतको लामो अनुभव रहेको र अनुत्पादक तरिकाले, अवैज्ञानिक तरिकाले लगानी गर्दा यसको लागत खर्च धेरै आउने जसले गर्दा भविष्यका दिनहरूमा क्यान्सर सेवा धेरै महँगो हुने हुँदा र यसमा हामी अत्यन्त संवेदनशील छौँ । जसले गर्दा भविष्यका दिनमा बिरामीलाई निकै सस्तो दरमा सेवा दिनुपर्छ भन्ने धारणा अनुसार काम गरिरहेका छौं । लागतकै कुरा गर्दा १ अर्ब ५० करोड भित्र नै पुरा गर्ने योजना बनाएका छौं । सुरुमा अस्पताल एक सय बेडको हुनेछ । संचालनको केही समयपछि स्तरबृद्धि गरी २ सय बेड क्षमतामा संचालन गर्ने गरी काम गरिरहेका छौं । यस अस्पतालमा अमेरिका लगायत विदेशका क्यान्सर अस्पतालमा काम गर्नुभएका केही विशेषज्ञहरूको लगानी रहनेछ । उहाँहरु आफ्नै देशमा फर्केर यसै अस्पतालमा काम गर्नुहुनेछ । साथै युरोप बेलायतमा पनि कार्य गरिरहनुभएका युवाहरूको आफ्नो देश फर्केर केही गरौँ भन्ने भावनाका साथ यस अस्पतालमा लगानी गर्दै हुनुहुन्छ । साथै नेपालमै रहनुभएका सफल व्यवसायीहरु पनि लगानीकर्ताकारुपमा रहनुभएको छ ।
यस क्षेत्रमा क्यान्सर अस्पतालको कस्तो सम्भावना देख्नुहुन्छ ?
यस अस्पतालको सम्भावना धेरै छ । पहिलो धनगढीदेखि नारायणगढसम्म सेवा छैन । नजिकै उत्तर प्रदेश राज्य रहेको र साथै नजिकै रहेको अन्तर्राष्ट्रिय एयरपोर्ट आदिले गर्दा धेरै सम्भावना रहेको हामीले देखेका छौं ।
अस्पताल निर्माणको तयारी गरिरहँदा सरकारी पक्ष र स्थानीयबाट साथ, सहयोग र प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
यस अस्पताल निर्माणको क्रममा विगत तीन वर्षभन्दा अगाडिबाट हामी लागिरहेका छौं । कागज प्रक्रिया लामो हुने हुँदा हामी धेरै कागज प्रक्रियामा काम गरिरहेका छौं, जसको लागि क्यान्सरका विशेषज्ञ डाक्टर सागर पोखरेल लगायतको टिमले सहयोग गरिराख्नु भएको छ । स्थानीयस्तर र सरकारबाट सहयोग पनि भएको छ । विशेषगरी अब स्थानीयस्तर र सरकारबाट सहयोग लिने अवस्था बढी आउनेछ अपेक्षा राख्दछौं । स्थानीयस्तर र सरकारबाट पूर्ण रुपले सहयोग पाइनेछ भन्ने नै हो ।
पछिल्लो समय भैरहवा क्षेत्र ठूला अस्पतालहरुको हब बनिरहेको छ, यो भीडमा यहाँहरुले क्यान्सर अस्पताललाई कसरी आमनागरिक माझ विश्वसनीय बनाउनुहुन्छ ?
अहिलेको अवस्था हेर्दा भैरहवा एउटा मेडिकल हबको रुपमा देखिएको छ । यहाँ मेडिकल कलेज, आँखा अस्पताल लगायत अन्य अस्पतालहरु पनि निर्माण हुँदैछन् । यो भैरवाबासीको लागि अत्यन्त खुसीको खबर हो । अझै यसमा पनि यस क्यान्सरको प्रोजेक्टले एउटा कोसे ढुङ्गा थपेको छ । यसले भैरवा क्षेत्रलाई नै विकास गर्नलाई महत्वपूर्ण भूमिका खेल्नेछ । विशेष गरी मेरो भाइ डाक्टर सागर पोखरेल लगायतको टिमहरूको इच्छा, तत्परता र सहयोगको कारणले गर्दा हामी यहाँसम्म पुगेका छौं । त्यस्तै युरोपमा रहेका मित्र हरि खत्री उहाँको पनि धेरै भूमिका छ । उहाँहरुलगायत अन्य जोडिनुभएका सम्पूर्ण साथीहरूको पनि महत्वपूर्ण भूमिका रहेको जानकारी गराउन चाहन्छु । अर्को कुरा यस अस्पताल सञ्चालनका लागि विशेष गरेर हामी विदेशका अस्पतालहरूसित पनि सहकार्य गरी कार्य गरिरहेका छौं । उपकरण तथा प्रविधिहरू अहिले नयाँ लेटेस्ट प्रयोग गरिनेछ र मेडिकल टिम पनि दक्ष रहनेछ । जसले गर्दा हामी स्थानीयस्तरमा पनि सुपथ मूल्य लिने गरी गुणस्तरीय सेवा प्रदान गर्नेछौं ।
प्रतिकृया दिनुहोस्