August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

‘नगरबासीको गालीलाई आशीर्वादका रूपमा लिएको छु’

Advertisement

भैरहवा– हरेक कार्यक्रमलाई उनी विशेष संज्ञा दिन्छन् । महत्वपूर्ण ठान्छन् । त्यसैले आफ्नो भाषणको सुरुवातमा उनी कार्यक्रमको प्रशंसा गर्छन् । त्यसपछि विषय वस्तुमा प्रवेश गर्छन् । सरल स्वभावका सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको प्रस्तुति पनि सरल हुने गर्छ । उनी हरेक कुराको वर्णन प्रेम पूर्वक गर्छन् ।

Advertisement

नगर प्रमुख खाँको अर्को विशेषता भनेको उनी निराशाबादी कुरा गर्दैनन् । सधैं फूलैफूलले सजिएको नगरको परिकल्पना गर्छन् । अझ भैरहवामा रहेको बेलहिया नाका सजाउने उनको सपना छ । निर्वाचनको प्रचार–प्रसारका क्रममा हरियाली पूर्ण नगर बनाउने वाचा गरेका थिए । त्यसैले फूलको सहर बनाउने उनको धोको अझैं बाँकी छ । तर, उनले व्याख्या गरेजस्तो भैरहवा फूलको सहर हुन बाँकी छ ।

पछिल्लोपटक बुटवलमा आयोजित एक कार्यक्रममा पनि उनले अन्तर्राष्ट्रिय स्थल नाका सजाउने र फूलैफूलको सहर बनाउने सपना दोहोर्याएर व्यक्त गरे । यसपटक उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष यस्तो प्रस्ताव राखेका हुन् । सुन्दर नाका र फूलको सहर बनाउन मुख्यमन्त्रीसित उनले १० करोड रुपैयाँ मागे । उक्त रकम मध्ये आधा नाका सजाउन र बाँकी फूलैफूलको सहर बनाउन खर्च गरिने बताए ।

नाका सजाउन र पर्यटकलाई राहत दिन यसअघि गरेको प्रयास सफल नभएको बताए । बेलहियामा रहेको पर्यटन सूचना केन्द्रलाई सुविधा सम्पन्न बनाउन आफूले कोशिस गरेको सुनाए । उक्त भवनमा पानी, शौंचालय, स्नानगृह बनाएर पर्यटकलाई सुविधा पुर्याउने सोंच सफल नभएको बताए । यस्ता भौतिक पूर्वाधारका काम अधुरा रहेका बेला नगरभित्र फोहोरदेखि वर्षातको पानी जम्मा हुँदा समेत आफूले गाली खानु परेको दुखेसो पोखे ।

‘अहिलेसम्मका जनप्रतिनिधिले गरेका कामको जस–अपजस मैले पाइरहेको छु,’ उनले भने, ‘सबैका कामको गाली खाने पालो मेरै परेछ ।’ उनी शान्त स्वभावका व्यक्ति हुन् । त्यसैले यसरी मिल्ने गालीलाई पनि आफूले आशीर्वादका रुपमा ग्रहण गर्ने बताए । नगरबासीका पीडा महशुष गरे पनि प्रकृतिको चक्र सम्हाल्न नसकिने बताए । पर्यटनको चर्चा गर्ने कार्यक्रममा उनले हाँसी–हाँसी आफूले गाली सहनु परिरहेको सुनाए ।

चुनाव प्रचारताका नगर प्रमुख खाँले नगरको समृद्धि गरिछाड्ने बताएका थिए । तर, बिजयी भएपछि आफू लरबराएको उनले पत्तै पाएनन् । संविधानसभा सदस्य खाँले चुनावी राजनीति त जिते । तर, नगरपालिकाभित्रको राजनीति बुझ्न सकेनन् । या बुझेर पनि सम्हान्न सकेनन् । या आफ्नालाई मात्र पत्याए । प्रमुख काँग्रेसबाट, उपप्रमुख एमालेबाट अनि नगर प्रवक्ता राप्रपाबाट । नगरपालिकाभित्र जहिल्यैं तीन दलीय समीकरण रह्यो । यहीँ समीकरण मिलाउने चक्करमा चार वर्ष बिते । अधिकांश समय ‘गीभ एण्ड टेक’ गर्नुपर्यो ।

फलस्वरुप अहिले गाली खानु परिरहेको छ । भैरहवामा जनप्रतिनिधिलाई गाली खान नयाँ विषयवस्तु पनि चाहिँदैन । एक साता अघि तीन दिनसम्म भैरहवामा अविरल वर्षा भयो । जसका कारण भैरहवाको बैंक रोड, गल्लामण्डी, बुद्धचोक र नगरका भित्री गल्ली जलमग्न भएका थिए । ३–४ महिनादेखि नगरको फोहोर संकलन प्रभावित छ । वर्षात अघि नालासम्म सफा गरिएन । यी विषयमा अहिले सामाजिक सन्जालमा भिडियो भाइरल भइरहेका छन् । जसले गर्दा जनप्रतिनिधि आलोचित बनिरहेका छन् ।

यहीँ विषयलाई लिएर प्रमुख खाँले केही काम गरेन भनेर गाली सहनु परेको बताए । ‘वर्षात भयो यसमा पनि गाली खाएको छु, घर पुरानो हो खाल्डो छ, सडक माथि छ लास्टमा मैले गाली खाएको छु,’ उनले भने । खाँले यति व्यक्त गरेपछि उक्त कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनायारण आचार्य र व्यवसायीबीच हाँसो फैलियो । यसअघिका प्रमुख उप्रमुखलाई सम्झिँदै खाँले भने, ‘उहाँहरुलाई बिर्र्सी हाल्नु भयो, कोही गाली गर्दैन, अहिले मेरो नम्बर आएको छ ।’ जनताले गर्ने गालीलाई आशीर्वादको रुपमा लिँदै बाँकी दिनहरुमा भैरहवा नगरलाई राम्रो बनाउने कोशिस जारी राख्ने उनले बताए ।